• १६ फागुन २०८१, शुक्रबार

पाल्पामा पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

blog

इमान सिं राना

रामपुर(पाल्प), फागुन १६ गते । पाल्पाको रामपुर नगरपालिकामा पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड सुरु भएको छ । दरैठाँटी माध्यमिक विद्यालयको खेल मैदान रामपुर–६ विजयपुरमा सुरु भएको प्रतियोगिताको रामपुर नगरपालिका उप–प्रमुख बालकुमारी थापाले उट्घाटन गर्नुभएको हो ।

शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा नगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत गरी २० विद्यालयका खेलाडीले सहभागिता जनाएका छन् । उपप्रमुख थापाले प्रतियोगिताले विद्यालय स्तरमा रहेका नयाँ खेल प्रतिभाको पहिचानसँगै खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै नगरपालिकाले खेलकुदमा पनि लगानी गर्दै आएको बताउनुभयो । 

दरैठाँटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटा प्रतियोगिताको स्वरूपलाई परिवर्तन गरिएको जानकारी दिनुभयो । जिल्ला स्तरीय प्रतियोगिताका लागि छनाेट भएका विद्यार्थीलाई मेडल र प्रमाणपत्र द्वारा पुरस्कृत गरिने छ । 

विगतमा विजेता विद्यालयलाई नगद, रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिँदै आएकोमा यस वर्ष प्रतियोगिताका विजेता विद्यार्थीलाई मात्र पुरस्कृत गरिने शिक्षा शाखा प्रमुख विकल काफ्‌लेले बताउनुभयो । जिल्ला स्तरीय प्रतियोगिताका लागि छनाेट भएका विद्यार्थीलाई मेडल र प्रमाणपत्र द्वारा पुरस्कृत गरिने छ ।

नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले खेलकुदको विकासका लागि खेलकुदका गतिविधि वार्षिक रूपमा मात्र नभै नियमित रूपमा सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभयो । एथ्लेटिक्स, भलिबल, कबड्डी र मार्सल आर्ट विद्याका छात्र र छात्रा गरी २७ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता शनिबारसम्म हुने छ ।