चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन १६ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित नेकपा (माओवादी केन्द्र) को पालिका अधिवेशन सुरु भएको छ । गाउँपालिका कमिटीको नयाँ नेतृत्व चयन गर्नेगरी माओवादी केन्द्र सिदिङ्वा गाउँपालिकाको तेस्रो अधिवेशन शुक्रबार सुरु भएको हो ।
सिदिङ्वा गाउँपालिकाको प्रशासकीय केन्द्र साब्लाखु भञ्ज्याङमा पालिका अधिवेशन सुरु भएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्व अर्थमन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) ले अधिवेशनको उद्घाटन गर्नुभएको छ ।
अधिवेशनमा उद्पघाटन मन्तव्य राख्नुहुँदै पूर्वमन्त्री आङ्बोले गाउँपालिकालाई हाक्नसक्ने सक्षम नेतृत्व सकेसम्म सर्वसम्मत चयन गर्न सुझाव दिनुभयो । माओवादीलाई पहिलो बनाउनेगरी हाल पार्टीको अभियान चलिरहेको बताउँदै पार्टीको उक्त अभियानलाई सफल बनाउन सहयोग पुग्नेगरी पालिका अधिवेशनमार्फत कमिटी चयन हुनेमा पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।
अधिवेशन उद्घाटनमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग), वैकल्पिक केन्द्रीय सदस्य तथा मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम, जिल्ला सहइन्चार्ज लक्ष्मी अन्छङ्बो, जिल्ला संयोजक विष्णुकुमार हाङ्बाङको उपस्थिति रहेको छ । यस्तै माओवादी केन्द्रका प्रदेश समितिका सदस्यहरु, जिल्ला समितिका सदस्य, वाइसीएल, अखिल क्रान्तिकारीका जिल्ला नेतृत्वलगायतको अधिवेशनमा सहभागिता रहेको छ ।
यता उद्घाटनमा माओवादी नेतृत्वसहित सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राई लगायतले शुभकामना मन्तव्य राख्नुभएको माओवादी केन्द्र सिदिङ्वा गाउँपालिका कमिटीका अध्यक्ष अमर लिम्बूले जानकारी दिनुभयो । अधिवेशनको उद्घाटन सकिएपछि बन्दसत्र सुरु हुने र सकेसम्म शुक्रबार नै नयाँ पालिका कमिटी चयन गर्दै अधिवेशन सम्पन्न गर्ने योजना रहेको लिम्बूले जानकारी दिनुभयो ।