राजकुमार भट्टराई
खोटाङ, फागुन १६ गते । जिल्ला अस्पताल दिक्तेलमा बेवारिसे वृद्धको शव अलपत्र परेको छ । त्रि–धार्मिक स्थल हलेसीमा बेवारिसे अवस्थामा बस्दै आएका अन्दाजी ६०/६५ वर्षका वृद्धको मृत्यु भएपछि शव अलपत्र परेको हो ।
सोलुखुम्बु जिल्ला घर र आफुलाई पेम्बा शेर्पा बताउने वृद्ध करिब २ वर्ष यता हलेसी मन्दिर नजिकै बस्दै आएका थिए । उक्त वृद्धको बिहिबार मृत्यु भएपछि पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको छ । आफन्त खुल्न नसकेपछि अस्पतालको शव गृहमा वृद्धको शव अलपत्र परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) प्रतिक बिस्टले बताउनुभयो ।
हलेसीमा मन्दिर नजिक मागी खादै बसेका वृद्ध बिहिबार दिउँसो साढे ३ बजेको समयमा सुतेकै ठाउँमा मृत फेला परेका थिए । उनी पहिलेबाट दमको बिरामीसमेत रहेको बुझिएको छ ।
मृत अवस्थामा भेटिएका वृद्धको शव कानूनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागी जिल्ला अस्पताल दिक्तेल ल्याइएको डिएसपी बिस्टले बताउनुभयो । वृद्धका आफन्तलाई सम्पर्कमा आउनका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले अनुरोध गरेको छ ।
७ दिनसम्म आफन्त खुल्न नसकेमा कानुन अनुसार बेवारिसे शवको अत्येनिष्टको लागि नगरपालिकालाई पत्र लेखिने डिएसपी बिस्टको भनाइ छ ।