शैलेन्द्र रोकाया
बझाङ, फागुन १६ गते । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने तलकोट गाउँपालिका– ३ को दुर्गम बस्ती क्रिकिट्या गाउँका नागरिक स्वास्थ्य सेवाबाट मात्रै नभएर शिक्षाबाट समेत बन्चित हुनुपरेको छ । १८ परिवार बसोबास गर्ने यहाँका नागरिकका बालबालिका शिक्षाको पहुँचबाट टाढा रहेका छन् ।
पालिकाको बिकट बस्तीका रुपमा रहेको क्रिकिट्या गाउँमा शिशु कक्षादेखि ३ कक्षासम्म अध्यायन गर्नका लागि गाउँमा नै विद्यालय रहेको भए पनि ३ कक्षा पास भएपछी भने बालबालिकालाई अध्यायन गर्न मुस्किल हुने गरेको स्थानीयले दुखेसो छ ।
गाउँमा रहेको शैनकालिका आधारभूत विद्यालयमा अहिले ३० जना बालबालिका अध्यनरत छन् । तर बालबालिकालाई बस्नका लागि उचित ठाउँ नहुँदा स्थानीयको घर भाडामा लिएर लामो समयदेखि पढन पाठन हुँदै आएको स्थानीयको भनाइ छ ।
शैनकालिका आधारभूत विद्यालयमा अध्ययन गर्ने अधिकांश बालिबालिका कक्षा ३ सम्म मात्रै अध्ययन गर्ने गरेका र पछि बिचमै पढाई छोड्नु पर्ने बाध्यता रहेको छ । गाउँ नजिकै अर्को विद्यालय नभएका कारण कक्षा ३ सम्म मात्रै अध्ययन गरेर छोड्नु परेको स्थानीय दिनेश बोहराले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘यस गाउँबाट अर्को विद्यालयसम्म पुग्नका लागि ३ घण्टा पैदल यात्रा गर्नुपर्छ । फेरी बाटो जङ्गलको भएका कारण बालबालिकाहरुलाई एक्लै पठाउन जस्तो पनि हुदैन । जङ्गलको बाटोमा बाघ भालु तथा अन्य जङ्गली जनावरको समेत डर हुने भएका कारण गाउँकै विद्यालयमा आफ्ना छोराछोरीलाई ३ कक्षासम्म मात्रै अध्यायन गराउने गरेका छौं । माथिल्लो कक्षा धेरै जस्तो बालबालिकाले अध्यायन गर्न पाएका छैनन् ।’’
उहाँका अनुसार गाउँका केही स्थानीय बासिन्दाहरु वडा नम्बर ३ को अमर निमाविमा पठाउने गरेका छन् । उनीहरु घर नआएर उतै आफन्तकोमै बसेर पढाउने गरेको समेत बोहराको भनाइ छ । तर आयस्रोत नभएका परिवारहरुले भने गाउँकै विद्यालयमा ३ कक्षासम्म पढाउने र त्यसपछि बालबालिकाहरुलाई विद्यालय नपठाउने गरेको समेत बुझिएको छ ।
स्थानीय सुर्ति बोहराले आफ्ना तीन जना छोराछोरीलाई कक्षा ३ सम्म गाउँकै विद्यालयमा पढाएको र त्यसपछिको रुपातोलामा फुपुको घरमा डेरा गराएर पढाइरहेको जानकारी दिनुभयो । अन्य अभिभावकले पनि आफ्ना छोराछोरी गाउँकै विद्यालयमा पढाउने र पछि टाढाको विद्यालय नभएका कारण विद्यालय जानबाट बन्चित गराउने गरेको उहाँको भनाइ छ ।
यो गाउँमा कक्षा ३ सम्म अध्ययन गरे विद्यालय छोडेका १३–१४ जना भन्दा बढी बालबालिका रहेको स्थानीय बोहराले बताउनुभयो ।
नाम मात्रैको विद्यालय
गाउँमै रहेको शैनकालिका आधारभूत विद्यालय नाम मात्रैको रहेको यहाँका स्थानीयको भनाइ छ । ३० जना अध्ययनरत यस विद्यालयमा सामान्य साईनबोर्ड समेत छैन । गाउँकै व्यक्तिको घर भाडामा लिएर विद्यालय सञ्चालनमा रहेको छ । यस विद्यालयमा दुई जना शिक्षक रहेका छन् ।
विद्यार्थीका लागि ताक्लकोट सडकखण्ड निर्माण गर्ने क्रममा स्काइभेटर लगाएर सामान्य खेल मैदान निर्माण गरिएको भएपनि बालबालिकालाई खेल्न उचित मैदान समेत नभएको अविभावको भनाइ छ ।
ढुङ्गा नै ढुङ्गा रहेको यस विद्यालमा अध्ययनरत बालबालिकाहरुका लागि दुई कोठे टिनको टहरा पालिकाको पहलमा निर्माण गरिएको छ ।
त्यस्तै, शिक्षकको तलब समेत गाउँलेहरुले चन्दा सङ्कलन गरेर दिनुपरेको छ । मासिक दश हजार दिने गरी शिक्षकले बालबालिकालाई अध्यापन गराउने र उक्त शिक्षकको तलब विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका अविभावले चन्दा सङ्कलन गरी दिनुपरेको दुखेसो स्थानीय सुर्ति बोहराले बताउनुभयो ।
यता तलकोट गाउँपालिकाका शिक्षा अधिकृत हरिन्द्र उपाध्यायले गाउँमा स–साना बालबालिकाहरुका लागि पालिकाले बाल कक्षाको अनुमति गत वगर्ष मात्रै दिएको बताउनुभयो । उहाँले गत वर्ष डेढ लाख बजेट विनियोजन गरी टिनकको टहरा निर्माण गरेर अध्यापन गराउन पालिकाले निर्णय गरेको समेत जानकारी दिनुभयो ।