• १६ फागुन २०८१, शुक्रबार

विद्यालयमा खानेपानी ट्याङ्की निर्माण

blog

विद्यालयमा निर्माण गरिएको खानेपानीको ट्याङ्की उद्घाटन गरिँदै । तस्बिरः नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलवस्तु), फागुन १६ गते । कपिलबस्तु नगरपालिका –३ जमोहरास्थित राधाचन्द्र आधारभूत विद्यालयमा खानेपानीको ट्याङ्की निर्माण गरिएको छ । उक्त ट्याङ्की रोयल थाई मोनाष्ट्री लुम्बिनी, स्वर्णभूमि फाउण्डेशन नेपाल तथा वाटथाई निग्रोधाराम र नेपाल अर्बुद रोग निवारण संस्थाकोे सहयोगमा निर्माण गरिएको हो ।

मोनाष्ट्रीका प्रमुख भिक्षु सुपोत र कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुनाराम पौडेलले रिबन काटी ट्याङ्कीको धारा खोलेर खानेपानी सञ्चालन गरी ट्याङ्कीको उद्घाटन गरेका थिए । सोलगत्तै विद्यार्थीले धाराको पानी पिउन सुरु गरेका छन् ।

सो अवसरमा मोनाष्ट्रीका प्रमुख भिक्षु सुपोतले बिद्यालयमा थप सहयोग गर्न आफु तत्पर रहेको बताउनुभयो । शिक्षामा गरेको लगानी कुनै पनि हालतमा खेर नजाने बताउँदै उहाँले भन्नुभयो, “अब स–साना बालबालिकाका लागि पिउने पानीको सहजता भयो ।” हामी निकै खुशी भएका छौं ।


नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पौडेलले नगरपालिकाले सहजै गर्न नसकेको काम रोयल थाई मोनाष्ट्रीले विद्यालयमा खानेपानी व्यवस्थापन गरेको प्रति आभार प्रकट गरेका छन् । उहाँले भन्नुभयो, ‘सीमित स्रोत र साधनका वावजुद चाहँदा चाहँदै पनि यस्ता किसिमका सेवा सुविधाहरु अझै बाँकी रहेको छ ।’

विद्यालयका प्रधानाध्यापक गीता खनालले विद्यालयमा खानेपानीको समस्या चुनौतीको रुपमा रहँदै आएको र यो समस्या आज पूरा भएको बताउनुभयो । आउने दिनमा पनि उहाँहरुले विद्यालयलाई सहयोग गर्ने आपेक्षा राखेको प्रअ खनालको भनाइ छ ।

नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष राजेश ज्ञवालीले सामाजिक क्षेत्रमा लगानीको आवश्यकता रहेको बताउनुभयो । स्थानीय सरकारले समेत सामाजिक कार्यमा चासोका साथ हेर्नुपर्ने बताउँदै राधाचन्द्र आधारभूत विद्यालयलाई निरन्तर सहयोगको वातावरण मिलाउने उहाँको भनाइ छ ।


अति विपन्न तथा ग्रामीण क्षेत्रका बालबालिका अध्ययन गर्ने यस विद्यालयमा खानेपानीको सहज व्यवस्थापनले विद्यालयलाई ठुलो सहयोग पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उज्ज्वल शर्माले बताउनुभयो । कार्यक्रममा थाई दूतावासका प्रतिनिधि, स्थानीय, समाजसेवी, विद्यालय व्यवस्थापन समितिका सदस्यलगायतको सहभागिता थियो ।