• १६ फागुन २०८१, शुक्रबार

लुम्बिनी प्रादेशिक अस्पताल

बाह्र सय शय्यामा स्तरोन्नति गरिँदै

blog

बुटवल समाचारदाता

बुटवल, फागुन १६ गते । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सुरु भएको ११५ वर्ष पूरा भएको छ । यस अवसरमा अस्पतालले विभिन्न थप सेवा प्रदान गर्ने योजना बनाएको छ । अस्पतालले ११५ वर्ष प्रवेशका अवसरमा बिहीबार विशेष समारोह आयोजना गरेर विभिन्न विशेषज्ञ सेवा सुरु गरेको छ । १९६७ सालमा छ शय्याबाट सुरु भएको अस्पतालमा अहिले एक हजार दुई सय शय्या पुर्‍याइएको छ । अस्पताल अझै निर्माणका क्रममा रहेको छ भने सेवा विस्तार भइरहेको छ । 

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार आइसियुको सङ्ख्या बढाएर ४० पुर्‍याइएको छ । ४९ शय्याको सुविधासम्पन्न क्याबिन र ५० शय्याको मेडिकल वार्ड विस्तार भएको छ ।

अस्पतालमा लुम्बिनी प्रदेशसहित गण्डकी प्रदेशका पहाडी जिल्लाबाट समेत उपचारका लागि दैनिक एक हजार दुई सय बिरामी आउने गरेका छन् । बिरामीको सुविधाका लागि बस्ने, सुत्ने, कुर्नेदेखि परीक्षण गराउने स्थल र उपकरण सुधारिएका छन् । अस्पतालमा ८५० कर्मचारी कार्यरत रहेका अस्पतालले जनाएको छ ।

अस्पताल परिसरभित्र स्वच्छ खानेपानीको व्यवस्था गरी शौचालय बनाइएको छ । प्रदेश सरकारले विशेषज्ञ अस्पतालका रूपमा विकास गर्न भन्दै प्रदेश गौरवको आयोजना अन्तर्गत अस्पतालको गुरुयोजना अनुसारको भवन निर्माण सुरु भएको छ । भवनको अहिलेसम्म १५ प्रतिशत काम भएको छ ।

छ अर्ब रुपियाँ लागतको गुरुयोजनामा १० तले अत्याधुनिक भवन निर्माण गरिँदै छ । स्थान र सुविधाका हिसाबले १० तले हेलिप्याड सुविधासहितको अस्पताल भवन बनाउने प्रक्रिया अगाडि बढेको छ । लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औँ वार्षिकोत्सवको प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारूले बिहीबार उद्घाटन गर्नुभयो । त्यस अवसरमा बोल्दै उहाँले यो अस्पताल स्तरोन्नति भएपछि मुलुककै नमुना बन्ने दाबी गर्नुभयो । प्रदेश सरकारले यसलाई गौरवको योजनामा समावेश गरेर काम अगाडि बढाएको जानकारी दिँदै उहाँले पाँचबर्से आयोजना सम्पन्न भएपछि यहाँ सुविधासम्पन्न सेवा विस्तार हुने र दक्ष जनशक्तिसहित अत्याधुनिक उपकरण जडान गरिने बताउनुभयो । अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठले अस्पतालको व्यवस्थापनमा उल्लेख्य सुधार भएको दाबी गर्दै शल्यक्रियामा लामो समय पालो कुर्नुपर्ने अवस्था अन्त्य गर्ने गरी अगाडि बढेको जानकारी दिनुभयो ।