• १६ फागुन २०८१, शुक्रबार

बन्दीपुर पर्यटन प्रवर्धनमा गोरखापत्र संस्थानले सहयोग गर्ने

blog

कार्यक्रममा गोरखापत्र सस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

बन्दीपुर, फागुन १६ गते । तनहुँको पर्यटकीय नगरी बन्दीपुरको पर्यटन प्रवर्धनमा गोरखापत्र संस्थानले सहयोग गर्ने जनाएको छ । गोरखापत्र संस्थान र पद्म पुस्तकालयले बन्दीपुरमा आयोजना गरेको तीन दिने राष्ट्रिय सिर्जना सम्मेलनको समापन कार्यक्रममा गोरखापत्र सस्थानका पदाधिकारीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र संस्थानको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सुवेदीले प्रकाशनमा बन्दीपुरको सौन्दर्यता, ऐतिहासिका तथा धर्मिक विषयलाई समाचार र साहित्य प्राथमिकताका साथ प्रकाशन हुने बताउनुभयो । उहाँले साहित्यकार तथा लेखकलाई बन्दीपुरको बारेमा लेखेर गोरखापत्र सस्थानमा पठाउन आग्रह गर्नुभयो ।

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले रचना प्रकाशन गरेर मात्र हुँदैन र स्रष्टा र ठाउँलाई जोड्नु पर्छ भनेर बन्दीपुरमा कार्यक्रम गरिएको बताउनुभयो । समाजको चेतनास्तर उकास्न कस्ता रचना सिर्जना गर्नुपर्छ भनेर ज्ञान लिनका लागि सम्मेलनले टेवा पुग्ने उहाँको भनाइ छ ।


गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराईले बन्दीपुरको बारेमा गोरखापत्रमा धेरै समाचारहरु प्रकाशित भइरहेका र बन्दीपुर भ्रमण वर्ष २०२५ लाई सफल बनाउन थप समाचारहरु प्रकाशित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा दि राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भीमसेन थपलियाले दि राइजिङ नेपालले बन्दीपुरको प्रचार प्रसारमा स्वदेश मात्र नभई बिदेशमा समेत प्रचार प्रचार गर्न बन्दीपुरसँग सम्बन्धित समाचार प्रकाशित गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मधुपर्कका सम्पादक त्रिभुवनचन्द्र वाग्लेले बन्दीपुरलाई साहित्यको माध्यमबाट देश विदेशमा परिचित गराउन बन्दीपुर विशेषाङ्क प्रकाशित गर्ने बताउनुभयो । सम्मेलनमा  अधिकांश साहित्यकारले बन्दीपुरको सौन्दर्यबारेमा आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा वरिष्ट गजलकार डा. ज्ञानुवाकर पौडेल, पद्मावती सिंह, डिल्लिराम मिश्र, विमल भौकाजी, सागर उदास, शङ्करराज नहर्की, चन्द्रमणी अधिकारी, विद्या ढकाल, चन्द्रप्रसाद न्यौपाने, तिलक लुइटेल, जेठा बैरागी, नारायण पोखरेलले बन्दीपुरको सौन्र्दयतासम्बन्धि रचना वाचन गर्नुभयो । 

यस्तै, डबल महतारा, भिमबहादुर फडेरा, भरत ढकाल, मुकुन्द पौडेल, बाबुराम पाण्डे, चन्द्रमणी अधिकारी, गिता सुवेदी नेपाल, टिका भट्टराई सुवेदी, भानुप्रकाश जोशी, यज्ञलाल सुवेदी, भिष्मकुमार श्रेष्ठ, गोवर्धन भट्टराई, राज रजक, विमुन्स पौडेल, रवि किरण, बिन्दु अधिकारी ढकाललगायत दर्जनौं साहित्यकारले बन्दीपुर बारेमा आफ्ना सिर्जना वाचन गर्नुभयो । 

बन्दीपुर भ्रमण वर्ष २०२५ लाई सफल बनाउन समग्र बन्दीपुरको सुन्दरतालाई साहित्यकारको लेखनीमार्फत स्वदेश तथा विदेशमा प्रचार प्रसार गर्ने उद्देश्यले आयोजित उक्त सम्मेलनको वरिष्ट साहित्यकार द्वारिकलाल श्रेष्ठले समापन गर्नुभएको थियो । 

सो अवसरमा श्रेष्ठले सम्मेलनले बन्दीपुरको विकास र प्रचारका लागि मात्र नभएर सिङ्गो नेपाली साहित्यको विकासमा नयाँ उचाइ थपिएको बताउनुभयो । सम्मेलनको अवसरमा बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले यस सम्मेलनले बन्दीपुरको पर्यटन व्यवसाय थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

भाषा, साहित्य, सस्कृतिको संरक्षण गर्न चाँडै बन्दीपुरमा बन्दीपुर प्रज्ञा प्रतिष्ठान गठन गरिने बताउनुभयो । अध्यक्ष थापाले बन्दीपुरको पर्यटन, प्रकृतिले दिएको भौगोलिक विविधता र संस्कृतिलाई जोगाउँदै विविधायुक्त बन्दीपुर बनाउने अभियान गाउँपालिकाले काम थालेको बताउनुभयो  । 

कार्यक्रममा बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङले सबैलाई स्वागत गर्दै बन्दीपुरको सौन्दर्यतालाई बचाई राख्नु सबै बन्दीपुरेहरुको दायित्व रहेको बताउनुभयो । बन्दीपुर सामाजिक विकास समितिका अध्यक्ष चिजकुमार श्रेष्ठ, लेखक नमस्तेलाल भूमिलगायतले बन्दीपुरको प्रचारप्रसार गरी पर्यटकीयस्थलको विकास गरेको उल्लेख गर्दै आफ्नो ठाउँको विकास आफैँले गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको स्मरण गर्नुभयो  ।   

सम्मेलनका संयोजक तथा बन्दीपुरस्थित पदम पुस्तकालयका अध्यक्ष सुदर्शन प्रधानले देशैभरिका साहित्यकारले बन्दीपुरको सौन्दर्यको बारेमा लेखुन् र यहाँको सुन्दरता देश विदेशमा पुगोस् भन्ने उद्देश्य राखेर सम्मेलनको आयोजना गरिएको बताउनुभयो । 

पुस्तकालयका संरक्षक डा. नमस्तेलाल भूमि श्रेष्ठले तत्कालीन राजा महेन्द्र बन्दीपुरको सौन्दर्यबाट मोहित भएर गीत लेखेको स्मरण गर्दै भूमिले साहित्यले ठाउँ चिनाउन ठुलो महत्व राख्ने बताउनुभयो । 

सम्मेलनमा सहभागी साहित्यकारलाई बन्दीपुुर केबुलकारले निःशुल्क आवत जावतको व्यवस्था मिलाएको थियो । सम्मेलन फागुन १२ देखि १४ सम्म तीन दिन सञ्चालन भएको थियो ।