मीना कंडेल
कावासोती, फागुन १५ गते । नवलपुर जिल्लामा दस वर्षे सशस्त्र द्वन्द्वमा परेर सहिद भएका परिवारलाई सम्मान गरिएको छ । २०५२ साल फागुन १५ गते पहिलो सहिद भएकाको सम्झनामा बिहीबार ८६ जना सहिदका परिवारलाई सम्मान गरिएको हो ।
द्वन्द्वपीडित महिला सञ्जाल नवलपुरले जिल्लामा १०३ सहिद परिवार रहेको तथ्याङ्क निकालेको भए पनि सम्पर्कमा आउनुभएका ८६ जनाको परिवारलाई सम्मान गरिएको सञ्जालले जनाएको छ । सञ्जालको तथ्याङ्क अनुसार जिल्लामा ३०४ परिवार द्वन्द्वपीडित छन् । त्यस्तै द्वन्द्वका क्रममा मृत्यु भएका १०२ जना र २९ जना बेपत्ता छन् ।
द्वन्द्वबाट पीडित तथा प्रभावित महिला, बालिका तथा सहिद परिवारको सरोकारका विषयमा अर्थपूर्ण सहभागिता एवं आत्म सम्मानपूर्वक जीवनयापन गर्न सक्ने वातावरण सुनिश्चित गर्न अझै पनि नसकेको द्वन्द्वपीडित महिला सञ्जाल नवलपुरका अध्यक्ष पार्वती सिग्देलले बताउनुभयो ।
जिल्ला शिक्षा विकास समन्वय एकाइ नवलपुरका प्रमुख दीपेन्द्र श्रेष्ठले जिल्लामा सहिद, बेपत्ता, अपाङ्गता, विस्थापित, कुटपीट, शारीरिक तथा मानसिक यातना, बलात्कार, यौनहिंसा लगायत विभिन्न किसिमका यातना भोगेका सूचीकृत परिवारका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था गरिएको बताउनुभयो ।
कक्षा १ देखि ५ सम्म १२ हजार, ६ देखि ८ सम्म १४ हजार, ९ देखि १० सम्म १६ हजार र ११ देखि १२ सम्म १८ हजार छात्रवृत्ति प्रदान गरिने उहाँले बताउनुभयो । यस वर्ष १२ जना बालबालिका सहिद परिवारबाट थप भएको सूचना समन्वय एकाइमा आएको बताउँदै उहाहरूलाई आगामी आर्थिक वर्षबाट छात्रवृत्तिको व्यवस्था गरिने बताउनुभयो ।
जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले द्वन्द्व प्रभावितहरूको अधिकार स्थापित गर्न स्थानीय पालिकाहरू जिम्मेवार भूमिका रहेको बताउनुभयो । देश निमार्णका लागि बलिदानी दिने सहिदको सम्झनामा एक दिन मात्र सम्झने भन्दा पनि उनिहरूको परिवारको हक हितका लागि बनेका कानुनले सार्थकता पाउनु पर्नेमा जोड दिनुभयो । दस वर्षे
सशस्त्र द्वन्द्वमा परेका सहिद, बेपत्ता, अपाङ्गता, विस्थापित, कुटपीट, सबैको बराबर अधिकार रहेकाले यसतर्फ सरकारले ध्यान दिनु आवश्यक रहेको उहाँले बताउनु भयो ।