• १५ फागुन २०८१, बिहिबार

कथा मुनामदनको, व्यथा घर घरको

blog

फडिन्द्र अधिकारी

लेखनाथ, फागुन १५ गते । ‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ उखान विदेशको धन र आफ्नो विपन्नता तुलना गर्दा अझै प्रयोग हुन्छ । समय क्रममा अहिले नेपाली युरोप, अमेरिका, अफ्रिकादेखि खाडी मुलुकसम्म नेपाली काम र अवसर खोज्दै छन् । 

पछिल्लो जनगणनाले वैदेशिक रोजगारीमा करिब २२ लाख नेपाली रहेको देखाउँछ । दिनमै दुई हजार हाराहारी नेपाली बिदेसिन्छन् । यसरी बिदेसिने नेपालीको पारिवारिक विखण्डन, विदेशमा भोग्नुपर्ने दुर्दशा र खण्डहर बन्दै गएका गाउँबस्तीले भविष्यको सुन्दर सपनालाई चुनौतीपूर्ण बनाइदिन्छ । यही भावभूमिमा नौ दशकअघि लेखिएको ‘मुनामदन’ नेपाली साहित्यको अमर कृति बन्यो ।

यही ‘मुनामदन’ लाई नाट्य रूपान्तरण गरी पोखरामा मञ्चन गरिँदै छ । परिवर्तनले निर्देशन गरेको मुनामदनलाई सजीव बनाउन यसमा नयाँपन दिइएको छ । मान्छेका पीडा सारङ्गीमा गाउँदै हिँड्ने गन्धर्वको गीतबाट नाटक सुरु हुन्छ । सारङ्गीले भन्ने यो कथा एकातिर नेपालीको यथार्थ नफेरिएकाले पुरानो लाग्दैन भने अर्कातिर कथामा नयाँपनसमेत दिइएको छ । फागुन ९ देखि मञ्चन सुरु भएको मुनामदन २४ गतेसम्म दर्शकले हेर्न पाउने छन् । आर्थिक विपन्नता र प्रेम–बिछोडको कारुणिक कथा मुनामदनको स्रोत नेपाल भाषाको गीतिकाव्य ‘जि वय ला लछि मदुनि’ हो । यही यथार्थ मनन गरी नाटकमा नेवारी लबज, परिवेश र पहिरन देखाइएको छ । 

आमाको पाटी बनाउने, कुलो खनाउने र जहानलाई तिलहरी किनिदिने सपनाले मदनलाई ल्हासा पु¥याएको छ । ल्हासा पुग्दा त्यहाँ तिब्बती संस्कृति, गीत र फर्किंदा बिरामी मदनलाई साथीहरूले छाडेको दृश्यले त आँसु नझार्ने त सायदै होलान् । बिचबाटोमा अलपत्र परेको मदनलाई उठाएर घरमा लगी परिवार जस्तै सेवा गरी सञ्चो बनाउने ‘भोटे’ को दिल अचेल नेपाली समाजमा देखिन छाडेको छ । 

मदनको भूमिकामा परिवर्तनले अब्बल भूमिका निर्वाह गर्नुभएको छ । कृष्टि गुरुङले त्यो बेलाकी मुनाको चरित्र मात्र होइन, अहिले खसम विदेश पठाएर अनेक प्रताडना झेल्ने युवतीलाई समेत प्रतिनिधित्व गर्नुभएको छ । ‘भोटे’ को भूमिकामा देखिनुभएका दिलबहादुर थापा र मदनकी आमामा देखिनुभएकी प्रमिला तुलाचन कथामा जम्नुभएको छ । साथी जिउँदै हुँदा अस्तु ल्याएको भनी दिएर अर्कैसँग पोइल पठाउने षड्यन्त्र उति प्रभावकारी बनेको छैन । नैनी भाउजू (रञ्जु दाहाल) र जुमानबाबु (रमेश तिमिल्सिना) को भूमिकामा थप परिष्कार गर्न सकिने ठाउँ देखिएका छन् । मदन धन कमाएर फर्किंदा मुना र आमा दुवैको मृत्यु भइसकेको हुन्छ । अन्तिममा मदन पनि बिरामी बनेका छन् । यो विडम्बना फेर्न नाटकले सर्वसाधारणदेखि नीतिनिर्मातासम्मलाई झकझकाएको छ ।  

किशोर सुवेदीको गायनमा मुनामदनको गीतले मिठास थपेको छ । एक घण्टा ४५ मिनेटको नाटकमा थपिएको गीत पनि उत्तिकै मार्मिक छ :

माया हो कि हो ठूलो धन,

त्यही कुराले, बनायो दोमन