• १५ फागुन २०८१, बिहिबार

चौबिस करोडभन्दा बढीको सुन्तला

blog

गुल्मी समाचारदाता

गुल्मी, फागुन १५ गते । गुल्मीमा यस वर्ष २४ करोड रुपियाँभन्दा बढीको सुन्तला उत्पादन भएको छ । जिल्लामा यस वर्ष २४ करोड ५० लाख रुपियाँ बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको हो । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि भएको हो । गत वर्ष २३ करोड रुपियाँ बराबरको सुन्तला उत्पादन भएको थियो । गत वर्ष १२ करोड रुपियाँ बराबरको सुन्तला बाहिरी जिल्लामा निर्यात भएकोमा यस वर्ष १३ करोड रुपियाँ बराबरको सुन्तला निर्यात भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिनुभयो । 

सुन्तलाको उत्पादन बढ्नुमा नयाँ बोटले फल दिन सुरु गर्नु, समय समयमा सुन्तलालाई उचित मलजल गरिनु, समस्या देखिएमा तुरुन्तै प्राविधिक सल्लाह लिएर त्यसको उपचारमा लाग्नु जस्ता मुख्य कारण रहेको प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना गुल्मीका प्रमुख गङ्गा पोख्रेलले बताउनुभयो । 

यस जिल्लामा ९५ प्रतिशतभन्दा बढी सुन्तलाको बगैँचा बिजु बोटका रहेका छन् । बिजु बोटका सुन्तलाले लामो समयसम्म फल दिन्छन् । यहाँका कृषकले परम्परागत रूपमा सुन्तला खेती गर्ने भएका कारण कतिपय अवस्थामा सुन्तलाका फेद र जरा कुहिने समस्या देखिने गरेको कृषकले बताएका छन् । जिल्लाका १२ पालिका अन्तर्गतका ३७ वडामा सुन्तला जात फलफूल जोन कार्यक्रम लागु भएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत मदाने गाउँपालिकाको पुर्कोट दह र धुर्कोट गाउँपालिकाको पिपलधारा, सत्यवती गाउँपालिकाको लिम्घालगायतका ठाउँमा सुन्तला खेतीका लागि चक्लाबन्दीसमेत गरिएको छ । 

सुन्तला जात फलफूलको दिगो विकासका लागि कृषि ज्ञान केन्द्रले पनि सुन्तलाका विभिन्न जात पहिचान गरी तिनको व्यावसायीकरण गर्न सुरु गरेको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत सुन्तलाको उत्पादकत्व वृद्धिका लागि बगैँचा व्यवस्थापनमा लागिएको छ । 

सुन्तलाको बगैँचा सुधारका साथै मलखादको व्यवस्थापन, सिँचाइ र बोट काँटछाँटलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ । 

गुल्मीमा सुन्तलाका लागि धुर्कोट गाउँपालिकाको नयाँगाउँ, पिपलधारा, छत्रकोटको लुम्छा, शृङ्गा, रेसुङ्गा नगरपालिकाको भाडगाउँ, रुरु क्षेत्रको मुसीडाँडा, चौतारा, मुसीकोट नगरपालिकाको अर्लाङकोट, गुल्मी दरबारको गौँडाकोट, कालीगण्डकीको अर्बेनी, जयखानी, चन्द्रकोटको रेमी, सत्यवती र मदानेको भनभने मुख्य पकेट क्षेत्र मानिन्छन् ।