अनिल पराजुली
हेटौँडा, फागुन १५ गते । मकवानपुर र सिन्धुलीका किसानका लागि बागमती नदी किनार हिउँदमा वरदानसाबित भएको छ । यहाँका स्थानीयवासीले बगर किनार र नदीभित्रै मकै खेती गरेका छन् ।
बागमतीको बगरमा गरिएको मकै खेतीले किनार हराभरा देखिएको छ । वर्षायाममा किनार नै ढाक्ने गरी नदी बगे पनि अहिले मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिका र छिमेकी जिल्ला सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका स्थानीयले आफ्नो क्षेत्रमा पर्ने बगरमा मकै खेती गरेका हुन् ।
ठुला ठुला ढुङ्गा भएको बगरमा छरेको मकैको उत्पादनले यहाँका बासिन्दाले परिवारको पेट पाल्दै आएको बागमती गाउँपालिका प्रवक्ता एवं वडा नं. ३ का अध्यक्ष कमानसिंह पाख्रिनले जानकारी दिनुभयो । उहाँका अनुसार बागमतीको भोर्लेनी, बगेरी, ज्यामिरे, झुरझुरे, पाँच पाण्डु, भैँसे, करौँजे, माग्धु हुँदै राईगाउँका बासिन्दाले बागमती खोलाको बगरमा हिउँदमा मकै उत्पादन गर्दै आएका छन् ।
२०५७ सालदेखि बगरमा स्थानीयले मकै खेती गर्दै आएका हुन् । बागमतीको ढलसहितको पानीले युरिया मलभन्दा पनि राम्रो उत्पादन दिएको वडाध्यक्ष पाख्रिनले बताउनुभयो ।
“ढुङ्गामाथि नै मकै फलेको छ,” उहाँले भन्नुभयो, “वर्षामा बागमती नदीले बगर ढाकेर बस्ती र जमिन कटान गर्छ । हिउँदमा सयौँ कृषकले उन्नत जातको मकैको बिउ छरेर उत्पादन लिनुहुन्छ ।”
वारि मकवानपुरको बागमती र पारि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका पर्ने यो क्षेत्रका किसानले मकैसँगै चैते धानको खेती पनि गर्दै आएका छन् । यहाँ हिउँदको समयमा नदी किनारा र नदी भित्रै ढलसहितको पानी बग्ने ठाउँमा खेती हुँदै आएको हो । गाउँलेको बैठक बसेर आआफ्नो क्षेत्रमा पर्ने नदीकिनारको ठाउँ भाग लगाएर खेती गर्ने गर्नुभएको छ ।
३० किलोमिटर बढी क्षेत्रमा गरिर्दै आएको मकै खेतीमा सात सयभन्दा बढी परिवार आश्रित छन् । बगरमा उत्पादन भएको मकैले फापरबारी, राईगाउँ, मन्थली र बेतिनीका बासिन्दाले राम्रो आम्दानी लिएको स्थानीय विवेक सिङ्तानले जानकारी दिनुभयो । मकै उत्पादनले यहाँका स्थानीयको जीवनस्तर परिवर्तन ल्याउन मद्दत पुगेको उहाँले बताउनुभयो ।
वर्षामा आउने बाढीले त्रास हुने गरे पनि हिउँदमा काठमाडौँबाट बग्दै आउने ढलसहितको पानीले बगर खेती फस्टाएको सिन्धुलीका विशालराज राईले बताउनुभयो । वर्षामा अभिशाप हुने नदी हिउँदमा वरदान हुँदै आएको उहाँले भन्नुभयो ।
काठमाडौँबाट बग्दै आउने बागमती नदी दूषित हुँदा माछा मारेर जीविकोपार्जन गर्ने समुदायको पेसा भने सङ्कटमा परेको स्थानीय दन्तलाल माझीले बताउनुभयो ।
बागमतीमा ढल नमिसिँदा यहाँको पानी पिउने, नुहाउने र यहाँ माछा मारेर खाने गरेका माझी समुदायको प्रदूषित पानीका कारण पेसा जोगाउन समस्या भएको छ । दूषित ढलसहितको पानीका कारण यहाँको जलीय जनावर प्रभावित भएको छ । बगरमा खेती गर्नेका लागि भने यो वरदान भएको छ ।