माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), फागुन १४ गते । पोखरा महानगरपालिका वडा २२ मा रहेको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीकोटमा शिवरात्रीको अवसरमा भक्तजनको भीड लागेको छ ।
आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको पुम्दीकोटमा ५१ फिट अग्लो शिव मूर्ति बनाइएको छ । शिवको मूर्ति अवलोकन गर्न दिनहुँ पर्यटक त्यहाँ पुग्ने गरेका छन् । बुधबार शिवरात्री परेका कारण शिव लिङ्गमा दूध र जल चढाउनुको साथै शिवको मूर्तिकोे दर्शन गर्न भक्तजन पुगेका हुन् । शिव मूर्तिको दर्शनका लागि नेपाली र भारतीयको साथै विदेशी पर्यटक पनि त्यहाँ पुगेका थिए ।
बालबालिकादेखि युवा, वृद्धवृद्धाहरु विशाल शिवको मूर्ति दर्शनको साथै शिव लिङ्गमा दूध चढाउन लामवद्ध भएर बसेका थिए । पोखराको मुख्यबजार क्षेत्रबाट करिब १३ किमी दूरीमा रहेको पुम्दीकोटबाट पोखरा उपत्यकासहित अन्नपूर्ण हिमहृङखलनका साथै मनोरम दृश्य नियाल्न सकिन्छ ।
रमणीय स्थानमा रहेको पुम्दीकोटमा पर्यटकलाई लामो समय टिकाउन र भुलाउन अन्य पर्यटकीय पूर्वाधार निर्माणको काम भइरहेको छ । शिवको मात्र नभएर शिवको मूर्तिबाट ठिक पश्चिमतर्फ पार्वतीको मूर्तिसमेत निर्माण गरिएको छ । त्यसले पनि थप आकर्षण थपेको छ ।
पर्यटकीय पूर्वाधार निर्माणका लागि आर्थिक सहयोग जुटाउन गत फागुन ७ गतेदेखि श्रीमद्भागवत महायज्ञ पनि चलिरहेको छ । महायज्ञ फागुन १५ गतेसम्म चल्नेछ । पुम्दीकोटमा कैलाशधाम निर्माण गर्ने उद्देश्य राखिएको पुम्दीकोट विकास समितिले जानकारी दिएको छ ।
शिवरात्री बाहेक अन्य समयमा पनि विशाल शिव मूर्तिको अवलोकन गर्न सयौंँ पर्यटक त्यहाँ पुग्ने गरेका छन् । प्राकृतिक रुपमा सुन्दर पर्यटकीय राजधानी पोखरामा मानव निर्मित पर्यटकीय पूर्वाधार आन्तरिक तथा वाह्यक पर्यटकको रोजाइमा परेका छन् ।