• १५ फागुन २०८१, बिहिबार

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पूरा

blog

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारीवारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन । तस्बिरः धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, फागुन १४ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा फागुन १६ गतेदेखि १८ गते सम्म हुने तीन दिवसीय जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पूरा भएको छ ।

महोत्सवको आयोजक संस्था संवाद फाउण्डेसनले बुधबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । संवाद फाउण्डेसनका अध्यक्ष कुमार भास्करले नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवर्धन तथा सम्भावना र अवसरको खोजीसँगै स्थानीय चलचित्र सँस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले हुन लागेको महोत्सवको मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले एक कार्यक्रमविच उदघाटन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । 

जनकपुरधामको मैथिली विकास कोषको भवनमा आयोजना हुने उक्त महोत्सवमा ११४ भन्दा बढी देशका चलचित्रकर्मीको तीन हजार पाँचसयभन्दा बढी आवेदन प्राप्त भएको बताइएको छ । जसमध्ये महोत्सवका लागि दश विधाबाट चयन भएका कुल ७८ वटा फिल्म प्रदर्शन गरिने कार्यक्रम रहेको संवाद फाउण्डेसनका अध्यक्ष कुमार भास्करले बताउनुभयो । 

उहाँले प्रत्येक विधामा सर्वोत्कृष्ट हुनेलाई पुरस्कृत गरिने जानकारी दिदै नेपालसहित भारत, फ्रान्स, चिन, युके, इरानसहितको देशका फिल्महरु प्रदर्शन गरिने कार्यक्रम रहेको बताउनुभयो ।

उहाँले मैथिली विकास कोषको तीन वटा हलमा स्क्रेनिङ्गको व्यवस्था गरिएको बताउनुभयो । तीन दिवसीय महोत्सवमा ६२ लाख रुपियाँको लागत रहेको भन्दै विभिन्न संघ संस्थाबाट सहयोग प्राप्त भइरहेको बताउनुभयो । पत्रकार सम्मेलनमा निर्णय मण्डलको रुपमा रहनु भएका फ्रान्सका कोलेटले नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण, युवा फिल्मकर्मीलाई उत्प्रेरित गर्ने तथा साँस्कृतिक विविधताको प्रवर्धन गर्ने महोत्सवको लक्ष्य रहेको भन्दै महोत्सवले नेपाली युवालाई प्रेरणा र अवसर दिन तथा फिल्म निर्माता एवं कलाकारबिच अनुभव आदानप्रदानको अवसर सिर्जना गर्ने बताउनुभयो । 

उहाँले स्थानीय र विश्व सिनेमा बिचको सेतु बनाउन महोत्सवले नेपाली चलचित्रलाई विश्वभरका दर्शकसम्म पुगाउँदै अन्य देशका चलचित्र र कथासँग गहिरो सम्बन्ध जोडने भन्दै यसले नेपाल र अन्तर्राष्ट्रिय समुदायबिचको सांस्कृतिक सहकार्य र सामीप्यता बढाउन मद्दत गर्ने बताउनुभयो ।