शिवकुमार रिजाल काशी
हेटौँडा, फागुन १४ गते । सीमान्तकृत चेपाङ जातिको भाषा, परम्परा र संस्कृति नासिँदै गएको भन्दै चेपाङ अगुवाहरुले चिन्ता ब्यक्त गरेका छन् ।
नेपाल चेपाङ संघ मकवानपुरको मनहरी गाउँपालिकामा बु्धवार आयोजित सातौँ जिल्ला अधिवेसनमा शुभकामना ब्यक्त गर्ने चेपाङ अगुवाहरुले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष तथा संविधानसभा सदस्य गोविन्दराम चेपाङले जातीय पहिचानका परम्परागत सीप, स्रोत र सामग्रीहरु हराउँदै गएको भन्दै चिन्ता ब्यक्त गर्नुभयो ।
उहाँले चेपाङ संग्रहालय निर्माण भएको बिषयलाई खुसी मान्न नहुने भन्दै भन्नुभयो–‘जुन चिज लोप हुँदै जान्छ, त्यो देखाउनका लागि संग्रहालय बनाइएको हो । चेपाङ समुदायको परम्परागत ज्ञान, सीप, स्रोत तथा जीवन धान्नका लागि प्रयोगमा ल्याइएका परम्परागत सामग्रीहरु जतनले राख्नुपर्छ ।’
बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास पूर्व राज्यमन्त्री सन्तबहादुर चेपाङले चेपाङ जातीय पहिचानको आन्दोलनमा राजनीति मिसिन थालेपछि कमजोर भएकाले सबैजना सचेत भएर पुनः जातीय पहिचानको आन्दोलनलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।
आदिवासी जनजाति महासंघ मकवानपुरका कोषाध्यक्ष एबम् नेपाल चेपाङ संघ मकवानपुरका पूर्व अध्यक्ष खेमबहादुर चेपाङले जातीय संस्था नै बलियो नभएका कारण समग्र चेपाङ समुदाय अपहेलित भइरहनुपरेको बताउनुभयो ।
नेपाल चेपाङ संघका बागमती प्रदेश अध्यक्ष खुसीलाल चेपाङले चेपाङ समुदायको अधिकारका निम्ति कतिपय अबस्थामा कानुनबाट बर्जित कामहरु समेत गर्नुपरेको सुनाउँदै नारा जुलुस गरेर मात्र पनि अधिकार प्राप्ति नहुने बताउनुभयो ।
कार्यक्रममा मकवानपुरको राक्सिराङ, कैलाश र मनहरी गाउँपालिकाका वडाध्यक्षहरु आशिष चेपाङ, युसाई चेपाङ, हरिबहादुर चेपाङ, ठाकुरराम तितुङ, राक्सिराङ गाउँ कार्यपालिका सदस्य सिंगलाल चेपाङ, नेपाल चेपाङ संघ केन्द्रीय सदस्य बिनिता चेपाङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम संघका जिल्ला अध्यक्ष पूर्णबहादुर चेपाङको अध्यक्षतामा भएको हो ।