शिवकुमार रिजाल
हेटौँडा, फागुन १४ गते । मकवानपुरको मनहरी गाउँपालिका ७ नं वडा कार्यालयले नागरिकलाई सरकारको अनुभूति दिलाउन घरदैलोमै पुगेर घटना दर्ता गरिदिने व्यवस्था मिलाएको छ ।
वडाभित्र नयाँ शिशु जन्मेमा जन्मदर्ता प्रमाणपत्र दिने र कोही व्यक्तिको मृत्यु भएमा मृत्युदर्ता प्रमाणपत्र दिने वैधानिक व्यवस्थालाई घरदैलोमै पुर्याएर स्थानीय सरकारको अनुभूति दिलाइएको मनहरी गाउँपालिका ७ नं वडाध्यक्ष ठाकुरराम तितुङले बताउनुभयो ।
वडा कार्यालयले वडाभित्र कुनै पनि घरपरिवारमा शिशुको जन्म भएको वा मानिसको मृत्यु भएको थाहा पाउना साथ घरघरमै पुगेर जन्मदर्ता र मृत्युदर्ता प्रमाण दिन थालेको हो । कानुनले कुनै पनि व्यक्तिगत घटना भएमा ३५ दिनभित्र उक्त घटना वडा कार्यालयमा आएर दर्ता गराउनुपर्ने व्यवस्था गरेको छ । ३५ दिनभित्र घटना दर्ता नभएमा जरिवानाको प्रावधान समेत रहेकोमा जन्म र मृत्युको हकमा वडा कार्यालय आफैँले जरिवाना नपर्ने गरी सम्बन्धित व्यक्तिको घरमै गएर घटनादर्ता गर्ने गर्न थालेको ७ नं वडाध्यक्ष तितुङले जानकारी दिनुभयो ।
‘‘जन्म र मृत्यु अर्थात् सुख र दुःखको क्षणमा हामी जनताको घरमै पुगेर सेवा दिन चाहन्छौं, उनीहरुसँग सुखदुःख बाँड्न चाहन्छौं’’, वडाध्यक्ष तितुङले भन्नुभयो । उहाँका अनुसार वडाभित्र रहेका १० वटा टोल विकास संस्था र वडाका जनप्रतिनिधिमार्फत त्यस्ता व्यक्तिगत घटनाका बारेमा वडा कार्यालयलाई जानकारी हुने वित्तिकै परिवारका सदस्यहरुसँग समन्वय गरी घटना सूचक खडा गर्ने र घटना दर्ताको प्रमाणपत्र बोकेर सम्बन्धित परिवारमै पुग्ने गरिएको छ ।
त्यसरी सम्बन्धित व्यक्तिको घर पुग्दा शिशु जन्मेको हकमा सुत्केरी स्याहारका लागि पौष्टिक सामग्रीहरु तथा मृत्यु भएर शोक बारिरहेको घरमा फलफुल र श्रद्धाञ्जलीपत्र बोकेर जाने गरिएको वडा सचिव श्यामहरि दाहालले बताउनुभयो । मनहरी गाउँपालिकाले विपन्न समुदायको घरमा मरण परेमा वडा कार्यालयको सिफारिसमा २५ हजार रुपियाँका दरले किरिया खर्च पनि दिने गरेको छ ।
यसरी समयमै घटनादर्ता गराउँदा आशोच बार्दाबार्दै सरकारी रकम समेत पु¥याउने प्रयत्न गरिएको वडासचि दाहालले बताउनुभयो । पछिल्ला दुई महिना यता घटनादर्ता प्रमाणपत्र तथा कोशेली बोकेर १५ भन्दा बढी परिवारमा वडा कार्यालय पुगिसकेको उहाँले बताउनुभयो । यो कार्यले सम्बन्धित परिवारजनले पनि स्थानीय सरकारको अनुभूत गरेको प्रतिक्रिया दिएको वडा सदस्य नवराज सुवेदी बताउनुहुन्छ ।