सुधा देव
भारदह(सप्तरी), फागुन १४ गते । शिवरात्रिको अवसरमा सप्तरीको शम्भुनाथ नगरपालिकास्थित रहेको शम्भुनाथ मन्दिरमा १ लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् ।
बिहानैदेखि मन्दिरमा आएका भक्तजनले धतुरोको फूल, फल, बेलपत्र, बेल, रूद्राक्ष, मिठाइ, दुध तथा भाण्टाको भारलगायत पूजाका सामग्री चढाएर श्रद्धा भक्तिले पूजा अर्चना तथा दर्शन गरेको मन्दिरका पुजारी सूर्यकान्त झाले जानकारी दिनुभएको छ ।
यस मन्दिरमा दर्शन गर्न सप्तरी जिल्लाको विभिन्न स्थानसहित उदयपुर, सुनसरी, मोरङलगायतका जिल्ला तथा छिमेकी मुलुक भारतबाट समेत भक्तजन दर्शनका लागि आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, "यो शिवलिङ्ग आफैं उत्पन्न भएको र एकदमै सानो शिवलिङ्ग दिनप्रतिदिन बढेर अहिले पाँच फिटको भइसकेको छ ।" यहाँ भाकल गर्नेको मनोकामना पूरा हुने जन विश्वास रहेकोले यस मन्दिरप्रति सर्वसाधारणको विश्वास बढेको उहाँले जानकारी दिनुभयो ।
सप्तरीको हनुमाननगर कङ्कालिनी गाउँपालिका १४ बाट मन्दिर आउनुभएको विनोद कुमार मण्डलले श्रीमतीको हर्टको समस्या थियो । यही मन्दिर आएर भाकल गरेका थियौं । विस्तारै आफैं सन्चो भएकोले हाइवे रोडदेखि नै दण्डवत गरेर पूजा गरी भाकल पूरा गरेको बताउनुभयो ।
मन्दिरमै दर्शन गर्दै गर्नुभएकी खडक नगरपालिका १० की उषा सरदारले शम्भुनाथ बाबासँग अहिलेसम्म जे मागेकी छु, पूरा भएको छ । निरन्तर दर्शन गर्न आए पनि वैशाख महिना, तीज र शिवरात्रि अनिवार्य आउने गरेको बताउनुभयो । मन्दिरमा दर्शन गर्न आउनुभएका रूपनी गाउँपालिकाको अध्यक्ष दिनेशकुमार यादवले सप्तरीको विभिन्न स्थानमा शिवालय भए पनि शम्भुनाथ बाबासँग मागेको मनोकामना पूरा हुने भएकोले यस मन्दिरप्रति सर्वसाधारणको विश्वास बढेर उल्लेख्य सङ्ख्यामा भक्तजनहरू आउने गरेको बताउनुभयो ।
भाकल पूरा भएपछि भक्तजनहरूले विशेषगरी भाण्टाको भार चढाउने गरेको सर्वसाधारणको भनाइ छ । शिवरात्रीकै दिन यस मन्दिरमा दुई दर्जनभन्दा बढीले आ–आफ्नो बालबालिकाको मुण्डनसमेत गरेका छन् । शम्भुनाथसहित सप्तरीका अन्य शिवालयहरूमा पनि दिनभरि भक्तजनको घुइँचो रह्यो ।
यसैगरी राजविराज नगरपालिकामा वडा नं ७ मा रहेको हरिन्देश्वर महादेवको मन्दिरमा २५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेको मन्दिरका पुजारी महेश्वर भारतीले जानकारी दिनुभएको छ । सप्तरीको महदेवा गाउँपालिकामा रहेको महदेवा मन्दिर, सप्तरीको सप्तरीकोशी नगरपालिकामा रहेको बलुवा महदेवालगायतको मन्दिरमा भक्तजनको घुइँचो थियो ।