सन्तोष दहित
दाङ, फागुन १४ गते। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले घोराही उपमहानगरपालिका–१३ मा रहेको विपश्यना ध्यान केन्द्रको अवलोकन गर्नुभएको छ।
अवलोकनका क्रममा उहाँले विपश्यना ध्यानले मानसिक तथा शारीरिक स्वास्थ्य प्रवर्धनमा अतुलनीय योगदान पुर्याएको बताउनुभयो। साथै, ध्यान र साधनाले मानिसलाई स्वस्थ जीवनशैली अपनाउन मद्दत गर्ने उहाँको धारणा थियो।
केन्द्रमा प्रत्येक महिनामा एउटा १० दिवसीय शिविर, पुराना साधक/साधिकाका लागि एक दिवसीय शिविर, र बालबालिकाका लागि छुट्टै एक दिवसीय शिविर सञ्चालन हुँदै आएको छ।
आगामी वर्षमा थप शिविर सञ्चालन गर्ने योजना रहेको अध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो।
हालसम्म केन्द्रले ३३ वटा १० दिवसीय शिविर, एकदिवसीय शिविर, बाल शिविर, विभिन्न संघसंस्था र विद्यालयमा लघु आनापान ध्यान कार्यक्रम सञ्चालन गरी एक हजारभन्दा बढी व्यक्तिलाई लाभान्वित गरिसकेको छ। आगामी वर्षमा थप शिविर सञ्चालन गरी धेरैभन्दा धेरै मानिसलाई सहभागी गराउने केन्द्रको लक्ष्य रहेको छ।
विश्वभर विपश्यना ध्यान शिविर निःशुल्क सञ्चालन गरिन्छन्। सहभागी साधकबाट कुनै शुल्क लिइँदैन।
दाङ विपश्यना केन्द्र धम्मपरागको स्थापना र सञ्चालनमा लुम्बिनी प्रदेश सरकारको योगदान रहेको छ। ध्यान केन्द्रको थप विकासका लागि आवश्यक बजेट प्रदेश सरकारबाट विनियोजन गराउन आग्रह गरिएको छ।
केन्द्रको मुख्यमन्त्रीसहित ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा, प्रदेश सभा सदस्य लोका विश्वकर्मा, घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी लगायतले अवलोकन गर्नु भएको थियो। यो केन्द्र सामाजिक अगुवा नारायणप्रसाद शर्माको पहलमा स्थापना भएको हो।