• १४ फागुन २०८१, बुधबार

उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन ध्यानाकर्षण

blog

काठमाडौं विश्वविद्यालय

काठमाडौँ, फागुन १४ गते । काठमाडौं विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन विश्वविद्यालयका पदाधिकारीहरूले उपकुलपति खोज तथा सिफारिस समितिको ध्यानाकर्षण गराएका छन् ।

विश्वविद्यालयका १३ जना पदाधिकारीले संयुक्त रूपमा पत्र पठाउँदै विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन ध्यानाकर्षण गराएका हुन् ।

उपकुलपति सिफारिसमा ढिलाइ हुँदा समितिको कार्यक्षमता एवम् निष्पक्षता माथिसमेत प्रश्न उठ्न थालेकाले यो प्रक्रिया यथाशीघ्र टुङ्ग्याउनुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ । उपकुलपति छनोटका लागि बनाइएका कार्यविधि तथा मापदण्डका आधारमा तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस हुने विश्वास पनि व्यक्त गरिएको छ ।

“उपकुलपति छनोट प्रक्रियामा सहभागी भई प्रस्तुति र अन्तर्वार्ता दिने उम्मेदवारहरूले पाएको अङ्कलाई तोडमोड गरिएको, प्रक्रिया सुरु भइसकेपछि नाम सिफारिसका लागि वस्तुपरक नदेखिने किसिम नयाँ शर्त अघि सारिँदा समितिमा अन्य सदस्यलाई अप्ठ्यारो परेको भन्ने विषयहरू सञ्चारमाध्याममा आइरहेका छन् । यसलाई गलत साबित गरी समिति आफैँले स्वीकृत गरेको प्रक्रिया र मापदण्डमा आधारित भई तीन जनाको नाम यथाशीघ्र सिफारिस हुनेमा हामी सबै आशावादी छौँ,” संयुक्त ध्यानाकर्षणपत्रमा भनिएको छ ।

उक्त ध्यानाकर्षणपत्रमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन प्रा.डा. बालचन्द्र लुइँटेल, एशोसिएट डिनद्वय प्रा. डा. प्रकाशचन्द्र भट्टराई र प्रा. डा. हेमराज काफ्ले, स्कुल अफ आर्टस्का कायममुकायम डिन एक्कुमाया पुन, एसाेसिएट डिन डा. उद्धव प्याकुरेल, स्कुल अफ म्यानेजमेन्टका डिन प्रा. डा. विजय केसी, एसाेसिएट डिन डा. खगेन्द्र आचार्यलगायतको हस्ताक्षर छ । 

त्यस्तै, स्कुल अफ मेडिकल साइन्सेज डिन प्रा.डा. मनोज हुमागाईँ, स्कुल अफ साइन्सका कायममुकायम डिन प्रा. डा. उज्ज्वलमान जोशी, स्कुल अफ लका डिन प्रा.डा. ऋशिकेश वाग्ले, एसाेसिएट डिन डा. शिवकुमार गिरी र स्कुल अफ इन्जिनियरिङका एसाेसिएट डिनद्वय डा. श्यामसुन्दर खड्का र प्रा. डा. बालकृष्ण बलको हस्ताक्षर छ । रासस