काठमाडौँ, फागुन १३ गते । सङ्कटा र मच्छिन्द्र फुटबल क्लब केपी ओली कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा मङ्गलबार भएको खेलमा सङ्कटाले विभागीय टोली नेपाल एपिएफ क्लबलाई टाइब्रेकरमा ५–३ गोलले हरायो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल सोझै टाइब्रेकरमा पुगेर सकिएको हो ।
टाइब्रेकरमा सङ्कटाका राम थापा, सुनील खड्का, सन्तोष खत्री, साम कार्लोस र दीप कार्कीले गोल गर्नुभयो । एपिएफका सुमन श्रेष्ठ, दिपेश धिमाल र मणिकुमार लामाले गोल गर्नुभयो । सुजन पुलामीको प्रहार सङ्कटाका गोलरक्षकले विफल पारेका थिए ।
यस्तै दोस्रो खेलमा मच्छिन्द्रले ट्रान्सपोर्ट युनाइटेड एफसीलाई १–० गोलले हराउँदै अन्तिम चारमा स्थान बनायो । मछिन्द्रको जितमा स्टेफेन जलि ८०औँ मिनेटमा गर्नुभएको गोल निर्णायक बन्यो ।
फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा विधागत विजेतालाई जनही ५० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।