काठमाडौँ, फागनु १३ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर रहेको बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सबै नागरिकलाई कसरी स्वास्थ्य सेवा उपलब्ध गराउने भनेर सरकारले काम अघि बढाइरहेको बताउनुभयो । उहाँले स्वास्थ्य बिमाअन्तर्गत कसैले उपचार नै नगरी उपचार गरेँ भनेर हस्ताक्षर गर्छ भने उसलाई दण्डित गरिनुपर्ने बताउनुभयो । उहाँले कसैले उपचार नगरी उपचार गराएँ भनेर भुक्तानी लिन्छ भने उसको सम्बन्ध खारेज गर्ने जानकारी दिनुभयो ।
मन्त्री पौडेलले भन्नुभयो, ‘‘उपचारात्मक क्षेत्रमा कसरी नागरिकलाई बढी सुविधा दिन सकिन्छ, त्यसमा सरकार गम्भीर छ । सरकारको नेतृत्व गर्ने सम्माननीय प्रधानमन्त्रीज्यु गम्भीर हुनुहुन्छ । हामी कसरी नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सकिन्छ, त्यसमा चिन्तन, बहस गरिरहेका छौँ । पैरवी गरिरहेका छौँ । यसले सकारात्मक नतिजा ल्याउँछ । कसैले उपचार नै नगरी उपचार गरेँ भनेर हस्ताक्षर गर्छ भने उसलाई दण्डित गरिनुपर्छ । कसैले उपचार नगरी उपचार गराएँ भनेर क्लेम गर्छ र भुक्तानी लिन्छ भने त्यसको सम्बन्ध खारेज गरिनुपर्छ ।’’
मन्त्री पौडेलले राज्यले नागरिकाई स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने दायित्व दुर्गम भेगमा पनि कसरी पूरा गर्ने भन्नेकुरामा सरकारले बढी जोड दिइरहेको बताउनुभयो । उहाँले दक्ष जनशक्तिलाई स्वदेशमै कसरी राख्ने भन्ने चुनौती रहेको बताउनुभयो ।