चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन १३ गते । ताप्लेजुङको पूर्वी क्षेत्रको याङ्पाङ–मामाङ्खे सडक खण्डमा कालोपत्रे गर्न सुरु गरिएको छ । सदरमुकाम फुङ्लिङ हुँदै कञ्चनजङ्घा आधार शिविर जोड्ने सडकको याङ्पाङ–मामाङ्खे खण्डमा धमाधम कालोपत्रे गर्न सुरु भएको हो ।
सिरिजङ्घा गाउँपालिका–५ पेदाङको याङ्पाङ र वडा ६ मामाङ्खे खण्डमा सडक कालोपत्रे गर्न थालिएको हो । निर्माण कम्पनी रौताहा÷सेवालुङ जेभीका प्रवन्ध निर्देशक जसबहादुर लिम्बूका अनुसार हिजोआज कालोपत्रेको काम भइरहेको छ । रौताहा÷सेवालुङ जेभीले उक्त सडकको ७.५ किलोमिटर खण्ड कालोपत्रे गर्ने जिम्मा लिएर अहिले धमाधम काम गरिरहेको लिम्बूले जानकारी दिनुभयो ।
कालोपत्रेको काम चाँडै सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिएको प्रबन्ध निर्देशक लिम्बूले बताउनुभयो । यसअघि कालोपत्रे गर्नलाई अन्तिम तयारी गरिएको बेला वर्षासँगै आएको बाढी पहिरोले क्षति गरेपछि कालोपत्रे गर्नमा केही ढिलाई भएको पनि लिम्बूको भनाइ छ । उहाँका अनुसार ग्याविन तथा मेसिनरी वाल, होमपाइप, नालीलगायतका संरचना निर्माण गरी सकेर कालोपत्रे गर्न लाग्दा बाढीपहिराले क्षति गरेको थियो । उहाँले बर्खा अगावै सक्नेगरी हाल कालोपत्रेको काम भइरहेको छ ।
यता जिल्लामै सबैभन्दा ढिलो सडक सञ्जाल जोडिएको मामाङ्खेमा सडक कालोपत्रे हुन थालेपछि स्थानीय हर्षित भएका छन् । भौगोलिक बिकटता रहेको क्षेत्र भएका कारण जिल्लाका कुल ६१ वडामध्ये मामाङ्खेमा सबैभन्दा ढिलो सडक सञ्जाल पुगेको हो । सडक सञ्जाल ढिलो गरी पुगे पनि चाँडै कालोपत्रे हुन थालेकाले खुसी लागेको स्थानीय कैलास माबोले बताउनुभयो ।
सिरिजङ्घा गाउँपालिका उपाध्यक्ष डा. चित्रकुमार माबो लिम्बूले पनि दुर्गम भेगमा सडक माग (ट्रयाक) निर्माण भएको छोटो समयमै कालोपत्रे हुन थालेकोमा खुसी व्यक्त गर्नुभयो । दुर्गम भेगका सर्वसाधारणले चाँडै कालोपत्रे सडकको पहुँच पाउनेगरी योजना छनोट तथा बजेट व्यवस्थामा भूमिका निर्वाह गर्नेलाई उपाध्यक्ष माबोले धन्यवादसमेत दिनुभएको छ ।
हालसम्म जिल्लाका अधिकांश क्षेत्रमा सडक निर्माण गरिए पनि कालोपत्रे हुन सकेका छैनन् । जिल्लाका सडकहरु कालोपत्रे नहुँदा बर्खामा हिलाम्मे र हिउँद याममा धुलाम्मे हुने हुँदा यातायात सञ्चालनमा असहजता रहने गरेको यातायात व्यावसायी बताउँछन् । कच्ची सडकमा यातायात सेवा प्रवाह गर्नु र यात्रुले यात्रामा जोखिम मोल्नुपर्ने अवस्था रहेको छ ।