काठमाडौँ, फागुन १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले भ्रष्टाचारविरुद्धको अभियान नरोकिने बताउनुभएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्नुहुँदै उहाँले एक जनालाई छेकेर भ्रष्टाचारविरुद्धको अभियान नछेकिने बताउनुभएको हो ।
उहाँले पार्टीले संसदमा बहुमत पुर्याएको दिन अकुत कमाएर सम्पत्तिको माद्कतामा मस्त रमाएर बेहोस भएकाहरूलाई ब्युझाउने बताउनुभयो । उहाँले राणा कालमा अकुत कमाउनेको सम्पत्ति जसरी राज्य ढुकुटीमा आयो त्यसरी नै ३५ वर्षमा अनेकौं काण्ड मच्चाएर नागरिकको पसिना चुसेकाहरूको अकुत सम्पत्ति राज्य ढुकुटीमा ल्याउने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘हामीले उठाएको भ्रष्टाचारविरुद्धको यो अभियान कसै एक जनालाई छेकेर छेकिने वाला छैन । यस पटक सङ्ख्या पुगेन । सङ्ख्या पुगेको दिन अकुत कमाएर सम्पत्तिको माद्कतामा मस्त रमाएर बेहोस् भएकाहरूलाई बउिझाउँने छौं । राणा कालमा अकुत कमाउनेको सम्पत्ति जसरी राज्य ढुकुटीमा आयो । राजाको सम्पत्ति जसरी राज्य ढुकुटीमा आयो यो ३५ वर्षमा अनेकौं काण्ड मच्चाएर नागरिकको रगत पसिना चुसेकाहरूको त्यो अकुत सम्पत्ति राज्य ढुकुटीमा ल्याउँछौं । ०८४ मा सङ्ख्या पुर्याउँछौं ।’’
उहाँले वर्तमान सरकार भ्रष्टाचारीको संरक्षणमा लागेको आरोप समेत लगाउनुभयो ।