राजु लामिछाने
रुकुमपश्चिम, फागुन १३ गते । रुकुमपश्चिम र डोल्पाका सुरक्षा निकायका प्रमुखले लागुऔषध नियन्त्रणका लागि जिल्लाका सीमा नाकामा कडाई गर्ने निर्णय गरेका छन् । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका ६, र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५, स्थित त्रिवेणीमा अन्तर जिल्ला समन्वय बैठक आयोजना गरेर अवैध लागुऔषध विरुद्ध कडाइका साथ लाग्ने निर्णय गरिएको हो ।
रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी कुलबहादुर जी.सी.ले दुई जिल्लाका सुरक्षा निकायका प्रमुखहरु बिचको बैठक लागुऔषध नियन्त्रणकै विषयमा केन्द्रित भएको बताउनुभयो । बैठकले लागु औषधको उत्पादन, अवैध करोबार र ओसारपसारलाई नियन्त्रण गर्नुका साथै दुवै जिल्लाका सीमा नाकामा सुरक्षा जाँचलाई थप कडाई गर्ने निर्णय गरेको छ ।
बैठकमा डोल्पा जिल्लाका तर्फबाट प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत लगायत जिल्लाका सुरक्षा निकायमा प्रमुखहरूको पनि सहभागिता रहेको थियो । रुकुमपश्चिमका प्रजिअ जी.सी.का अनुसार लागु औषध नियन्त्रणका लागि दुवै जिल्लाका सुरक्षा निकायले सूचना आदान प्रदान गरी समन्वयात्मक रूपमा परिचालन हुने सहमति समेत गरिएको छ । यसो भएका लागुऔषधको कारोबार रोक्न तथा कारोबारमा संलग्नलाई कानुनी दायरामा ल्याउन सकिने सुरक्षा अधिकारीहरूको निष्कर्ष रहेको छ ।
बैठकले त्रिवेणी क्षेत्रमा सुरक्षा व्यवस्थापन, वर्षायाम तथा सुख्खामा हुने पहिरो लगायतका समग्र विपद्को सिघ्र व्यवस्थापनका लागि अस्थायी प्रहरी पोस्ट राख्न पहल गर्ने निर्णय समेत गरेको छ । दुवै जिल्लाका सुरक्षा अधिकारी आएको बेला स्थानीयवासीहरूले समेत प्रहरी पोस्ट स्थापनाको माग गरेका थिए ।
स्थानीयको माग र आवश्यकताको आधारमा आवश्यक व्यवस्थापकीय प्रबन्ध हेरेर पोस्ट स्थापनाको लागि सम्बन्धित निकायमा लेखि पठाइने प्रजिअ जी.सी.ले उल्लेख गर्नुभयो ।
जिल्ला सीमानामा पुगेको सुरक्षा निकायको टोलीले त्यसक्षेत्रमा सञ्चालित विभिन्न यातायातका साधनहरूको छड्के चेकजाँच समेत गरेको छ । लागुऔषध ओसारपसारको सम्भावना, ट्राफिक नियमको पालना, सवारीसाधन सञ्चालनका लागि आवश्यक कागजातहरूको उपयोग लगायतका विषयलाई मध्यनजर गरेर छड्के जाँच गरिएको हो । यस क्षेत्रलाई लागुऔषध ओसारपसारको मुख्य नाकाको रूपमा लिइन्छ ।
प्रहरीले हरेक वर्ष यस क्षेत्रका विभिन्न स्थानमा गरिरहेको अवैध अफिम तथा गाँजा खेती ठुलो मात्रामा फडानी समेत गर्ने गरेको छ । रुकुमपश्चिम र डोल्पाका साथै जाजरकोट जिल्लाको समेत सीमास्थल रहेकोले यस क्षेत्रबाट लागुऔषध लगायतका अवैध कारोबारहरू बढी हुनसक्ने आँकलन सुरक्षा निकायको रहेको छ ।
यस क्षेत्रमा जिल्ला प्रशासन तथा प्रहरी कार्यालयले समेत लागुऔषध विरुद्ध विद्यालयस्तरमा सचेतनाका विभिन्न गतिविधिहरू सञ्चालन गर्ने गरेका छन् ।