काठमाडौँ, फागुन १३ गते । नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका क्रममा एकै महिनामा रु. ५२ करोड ४७ लाख बढी राजस्व सङ्कलन गरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले गत माघमा देशभरबाट रु. ५२ करोड ४७ लाख छ हजार आठ सय ७९ रूपैयाँ राजस्व सङ्कलन गरेको जानकारी दिनुभयो ।
सबैभन्दा बढी अदालती फैसला कार्यान्वयनमा राजस्व सङ्कलन गरिएको छ । फरार अपराधी पक्राउलगायतबाट मात्रै रु. २३ करोड ९२ लाख ९१ हजार बढी राजस्व सङ्कलन गरिएको छ । यो कुल राजस्व सङ्कलनको ४५ प्रतिशतभन्दा बढी हो ।
त्यसपछि भन्सार छलिका मालसामान बरामदबाट रु. १६ करोड २७ लाख राजस्व सङ्कलन गरिएको छ । त्यसैगरी ट्राफिक कारबाहीबाट रु. नौ करोड ५९ लाख, अवैध सुन चाँदी बरामदबाट रु. एक करोड, हुण्डी कारोबार गर्नेबाट ३७ लाख राजस्व सङ्कलन गरिएको प्रवक्ता आचार्यले बताउनुभयो ।
उहाँका अनुसार स्रोत नखुलेको रकम रु. ८१ लाख, अवैध नदीजन्य पदार्थ उत्खनन नियन्त्रणका क्रममा रु २२ लाख ५३ हजार, अवैध काठ बरामदबाट रु. आठ लाख ९१ हजार र अवैध पशुपन्छी नियन्त्रणबाट रु. १५ लाख ७१ हजार राजस्व सङ्कलन भएको छ । रासस