• १३ फागुन २०८१, मङ्गलबार

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य परीक्षण

blog

सिँजामा स्वास्थ्य जाँच गर्दै नराकोट स्वास्थ्य चौकी । तस्बिर : नेत्र शाही

नेत्र शाही 

जुम्ला, फागुन १३ गते । जुम्लाको सिँजा गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य परिक्षण गरिरहेको छ । गाउँमै स्वास्थ्य परीक्षण हुने भएकाले ज्येष्ठ नागरिक सो दिन पर्खिरहेका हुन्छन् ।  

गाउँपालिका स्वास्थ्य शाखाको आयोजना र स्वास्थ्य चौकीको समन्वयमा प्रत्येक महिनाको एक पटक स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था गरिएको हो । सिँजा गाउँपालिका स्वास्थ्य संयोजक ललित रोकायाका अनुसार घरमै गएर सेवा दिने गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिका स्वास्थ्य शाखाले स्वास्थ्य संस्थाहरूसँगको सहकार्यमा डेड वर्षदेखि हरेक महिनाको एक दिन गाउँमा स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी दिनुभयो । उहाँले ज्येष्ठ नागरिक निःशुल्क घरदैलो परामर्श तथा उपचार कार्यक्रम अन्तरगत ज्येष्ठ नागरिकलाई रहेक स्वास्थ्य संस्थाले महिनाको एक पटक स्वास्थ्य जाँच गर्दै आउनुभएको छ । 

उहाँहरूलाई घरमै सुगर, प्रेसर, तौल नाप्ने, सरसफाइ शिक्षा तथा गर्भवती सुत्केरीलाई समेत जाँच गर्ने सकारात्मक शिक्षा, सरसफाइका विषयमा सचेतना समेत गरिँदै आउने गरिएको छ ।  

तालिका अनुसार प्रत्यक स्वास्थ्य संस्थाले मासिक एक दिन एक गाउँमा जानुपर्दछ । गाउँमा भेला गराएर बिहान दिउसोको समय मिलाएर सेवा दिने, दिर्घरोगीलाई अस्पताल पठाउने, थप उपचार गर्न माथिल्लो निकायमा पठाउने काम भइरहेको छ । 

गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार ‘उपचार नपाएर थलिएका नागरिकलाई स्वास्थ्य सेवा दिनु हाम्रो उद्देश्य भएकाले दैलोमा स्वास्थ्य सेवा दिन थालेका छौं । गाउँपालिकाले सञ्चालन गरेको यो सेवाले ज्येष्ठ नागरिकलाई घरमै उपचार पाउने सुविधा दिएको छ । हाल गाउँपालिकाका १ देखि ६ वडासम्म ३२ गाउँमा घरदैलो स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ।

जुम्लाको सिँजा गाउँपालिका–६ काडागाउँकी ८१ वर्षीया कुसा बुढा आफ्नै आँगनमा उपचार पाएपछि निकै भएको बताउनुहुन्छ । दम रोग र श्वासप्रश्वास समस्याले थलिएकी उनलाई स्वास्थ्यकर्मीले घरमै पुगेर निःशुल्क उपचार गरेपछि राहत भइरहेको छ । उहाँका अनुसार स्वास्थ्य चौकी पुग्न डेढ–दुई घण्टा उकालो–ओरालो चढ्नुपर्ने बाध्यता कम भएको ज्येष्ठनागरिकहरू बताउछन् । गाउँपालिकाको समन्वयमा सुरु गरिएको घरदैलो स्वास्थ्य सेवाले ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, अपाङ्गता र विपन्न वर्गलाई समेत विशेष लाभ पुगेको छ । 

सिँजाको धाँपा स्वास्थ्य चौकी, नराकोट स्वास्थ्य चौकी, देवीडाँडा आधारभूत स्वास्थ्य केन्द्र, विष्टवाडा आधारभूत स्वास्थ्य केन्द्र, दाँत आधारभूत स्वास्थ्य केन्द्र लगायत गाउँपालिका भरिका स्वास्थ्य संस्थाले मासिक एक पटक गाउँमा गएर सेवा दिइरहेका छन् ।  

स्वास्थ्य शाखाका अनुसार विशेष गरी ६० वर्षमाथिका नागरिकका लागि यो कार्यक्रम प्रभावकारी बनेको छ । ‘घरमै पुगेर निःशुल्क जाँच तथा औषधी वितरण गर्न थालिएपछि ज्येष्ठ नागरिकलाई ठुलो राहत पुगेको छ । हालसम्म सयौँ ज्येष्ठ नागरिकले यो सेवाबाट लाभ लिइसकेका छन् । स्वास्थ्यकर्मीहरूले घरमै पुगेर स्वास्थ्य परीक्षण, औषधी वितरण तथा आवश्यक परामर्श दिँदै आएका छन् ।