• १३ फागुन २०८१, मङ्गलबार

आठ वटा झोलुङ्गे पुल निर्माण हुँदै

blog

पुल निर्माण उपभोक्ता समिति र मिस्त्रीलाई पुल बनाउने तालिम दिइँदै ।

दैलेख समाचारदाता 

दैलेख, फागुन १३ गते । दैलेखका चार वटा पालिकामा आठ वटा झोलुङ्गे पुल निर्माण हुने भएका छन् । कर्णाली प्रदेश सरकारको लगानी तथा पूर्वाधार विकास कार्यालय दैलेख र ग्रामीण विकास सेवा केन्द्रको सहजीकरणमा ती पुल निर्माण हुने भएका हुन् । पूर्वाधार विकास कार्यालयका अनुसार दैलेखको आठबिस नगरपालिका–१, चिनेखोलामा लयाँटा–झुज, वडा नं. ९ को छेपाडी र भकभके भन्ने ठाउँमा एक एक वटा झोलुङ्गे निर्माण हुनेभएका छन् । त्यस्तै महाबु गाउँपालिका–३, बाँसीको तिपेडी, भैरवी गाउँपालिका–४ र चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ जोड्ने गडाजिउला, नारायण नगरपालिका–१० भवानीमा त्रिवेणी दोभान, डुङ्गेश्वर गाउँपालिका–३ हनेटा र ठाँटीकाँधको लहरे सुइँयाँमा गरी आठ वटा पुल निर्माण हुने कार्यालयले जनाएको छ । 

पूर्वाधार विकास कार्यालय दैलेखका प्रमुख इन्जिनियर पदम देवकोटाले विभिन्न स्थानमा आठ वटा झोलुङ्गे पुल निर्माणका लागि उपभोक्ता समिति निर्माण गरी उनीहरूको क्षमता विकास तालिमसमेत सञ्चालन गरिएको बताउनुभयो । उहाँले झोलुङ्गे पुल बनाउने तरिका र प्रयोग हुने सामानको प्रयोगात्मक अभ्यास गराउन आठ वटै उपभोक्ता समितिका पदाधिकारी र मिस्त्रीलाई आवश्यक तालिम दिएको जनाउनुभयो । आगामी असार १५ गतेसम्म पुलको काम सम्पन्न गरिने जनाइएको छ । 

ग्रामीण विकास सेवा केन्द्रका कार्यक्रम संयोजक नवीनकुमार शर्माले उपभोक्ता समितिका पदाधिकारी, मिस्त्रीलाई झोलुङ्गे पुलका लागि प्रयोग हुने फुटवाक, ह्यान्डमेल स्याडल फलामे लट्ठा, फलामे लट्ठा अड्याउन माटो भएकोतिर डेटमेन र ढुङ्गाको चट्टान भेटिएकोतिर ड्रम सेट, लट्ठा बाँधेर अड्याउने, लट्ठा बाँधेर डेटमेन र ड्रम जमिनको सतहमा राखी माथिपट्टि ढुङ्गाको पर्खाल कसरी लगाउने भन्ने विषयमा सिकाइएको बताउनुभयो । दैलेख जिल्लामा हालसम्म झन्डै दुई सयभन्दा बढीको सङ्ख्यामा झोलुङ्गे पुल निर्माण गरिएका छन् । अझै धेरै स्थानमा झोलुङ्गे पुल बनाउन स्थानीय समुदायबाट माग भई आएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।