ढोरपाटन (बागलुङ), फागुन १३ गते । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरले जिल्लाको बागलुङ र जैमिनी नगरपालिका जोडेको छ ।
त्रिदेशीय सडकका रूपमा रहेको करिडोरले बागलुङलाई सिधैँ चीन र भारतसँग जोडेको हो । झण्डै १४ वर्ष अघि सुरु भएको करिडोर आयोजना निर्माणले अहिले तीव्रता पाएको छ । करिडोर विस्तारपछि पछिल्लो समय सडक छेउछाउमा बस्ती बस्न थालेका छन् ।
ग्रामीण क्षेत्रबाट झरेर करिडोरको आसपासमा व्यापार व्यवसाय गर्ने पनि बढ्दै गएका छन् । नवलपुरको गँैडाकोटबाट कोराला नाकासम्म चार सय ९५ किलोमिटर रहेको करिडोर बागलुङ खण्डमा मात्रै ३४ किमी पर्दछ ।
करिडोरले बागलुङको जैमिनी नगरपालिका क्षेत्रका बासिन्दाको दैनिकीमा परिवर्तन ल्याएको स्थानीय बताउँछन् । बेलबगर, जैमिनी धाम, छरिलौवा, न्वाराढिक, धुस, सुस्सा फाँटलगायत क्षेत्रमा बस्ती बस्न थालेका छन् भने करिडोर स्तरोन्नतिसँगै कालोपत्र हुँदै गएपछि सवारीसाधन सञ्चालन हुने थालेका छन् ।
ग्रामीण क्षेत्रका नागरिकलाई बुटवल, भैरवाहलगायत मुलुकका ठूला सहरसम्म पुग्न सहज भएको छ । करिडारमा यातायाता सञ्चालन हुन थालेपछि गाउँमा उत्पादन भएको वस्तुलाई बजारीकरण गर्न सहज भएको स्थानीय किसान श्रीसले बताउनुभयो । करिडोरको ट्र्याक वर्षौं अगाडि खुलेपछि अहिले स्तरोन्नति भएको भन्दै यसले गाउँलाई सिधा सहरसँग जोडेको उहाँको भनाइ छ ।
श्रीसले भन्नुभयो, “कालीगण्डकी करिडोरले हाम्रो गाउँलाई सुगम बनायो, दिनानुदिन गाडी ओहोरदोहोर गर्छन्, यात्रुले यहाँ उत्पादन भएका सामान किनेर लैजान्छन्, पहिले बुटवल, भैरहवा पुग्न एक दिन लाग्थ्यो भने अहिले चार÷पाँच घण्टामा पुग्न सकिन्छ, बुढापाकाहरू अहिलेको यो विकास देखेर दङ्ग छन्, करिडोरले यो क्षेत्रका नागरिकको जीवनशैली बदल्न थालेको छ ।”
जैमिनी नगरपालिका–५ का कृष्णबहादुर थापाले करिडोर सञ्चालनमा आएपछि भारतीय पर्यटक बढ्न थालेका बताउनुभयो । भारतबाट मुक्तिनाथ जाने धेरैजसो पर्यटक जैमिनी धामको दर्शन गरेर जाने गरेको भन्दै यसले आर्थिक चलायमान हुने उहाँको भनाइ छ ।
स्थानीय सरकारले पर्यटकीय तथा धार्मिकस्थलको प्रचारप्रसार गर्नसके बाह्य पर्यटकलाई तान्न सकिने थापाले धारणा राख्नुभयो । अहिले दैनिक बुटवलबाट जैमिनीसम्म सिधा यातायात सञ्चालन हुँदा सामान ढुवानी र यात्रा गर्न सहज भएको उहाँले उल्लेख गर्नुभयो ।
जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले दक्षिण बागलुङ समृद्धिसँग जोड्न कालीगण्डकी करिडोरले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । अब बागलुङका हरेक नागरिक व्यापार र व्यवसायसँग जोडिए करिडोरबाट प्रशस्त लाभ लिनुका साथै आर्थिक समृद्धि हासिल गर्न सक्ने उहाँको भनाइ छ ।
किसानले उत्पादन गरेको तरकारी, फलफूल र अन्य वस्तु सहजै विभिन्न सहरमा पु¥याउन सकिने हुँदा उचित मूल्यसमेत पाइने शर्माले बताउनुभयो । “करिडोर बागलुङवासीका लागि वरदान सावित हुँदै गएको छ, हिजो सुनसान रहेको ठाउँमा अहिले धमाधम बजार बस्न थालेका छन् । एक दिन यात्रा गर्नुपर्ने ठाउँमा अहिले दुई÷चार घण्टामा पुग्न सकिन्छ”, उहाँले भन्नुभयो, “यो रुट धार्मिक पर्यटनसँग जोडिएको हुँदा यहाँ थुप्रै सम्भावना छन्, नगरपालिकाले पनि करिडोरबाट लाभ लिनेगरी योजना बनाइ रहेको छ ।”
करिडोरले जैमिनी नगरपालिकामा १९ दशमलव पाँच किलोमिटर र बागलुङ नगरपालिकामा १४ दशमलव पाँच किमी क्षेत्र जोडेको छ । नवलपुरको गैँडाकोटबाट कोराला नाकासम्म चार सय ९५ किमी रहेको करिडोर बागलुङको मालढुङ्गा दुई सय ४० किमी लामो छ ।
मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वतसहितका जिल्लाबाट बुटवल, भैरवाह र भारतसम्म पुग्ने यात्रासमेत यसले छोट्याइदिएको छ । करिब १४ वर्ष अगाडि निर्माण सुरु भएको करिडोर आयोजना हालसम्म बागलुङ खण्डमा ७५ प्रतिशत काम सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ । रासस