भोलि २६२ औँ सेना दिवस । नेपालको एकीकरण अभियानसँग सेनाको इतिहास पनि सँगसँगै जोडिएर आउँछ । नेपाल राष्ट्र एकीकरणको महान् अभियानमा नेपाली जनताको अभूतपूर्व योगदान छ । सिपाही त पेसाले सेना हो, योभन्दा बढी ऊ जनताको एक महत्वपूर्ण हिस्सा हो । हरघरधुरीबाट निस्केका युवा तथा वयस्कबाट निर्मित सीमित सैनिक शक्तिको अपूर्व सामथ्र्यलाई दूरदर्शी पृथ्वीनारायण शाहले आफ्नो विवेकपूर्ण युद्ध रणनीतिमा आबद्ध गरेर नै एकीकरण सम्भव भएको थियो । तत्कालीन गोर्खाली सेना पृथ्वीनारायणको युद्धनीतिका तपःसामथ्र्यबाट प्रभावित थिए । सोही कारण उनले सुरु गरेको राष्ट्रनिर्माण अभियानले पछिसम्म पनि निरन्तरता पायो ।
इस्ट इन्डिया कम्पनी (बेलायत) र नेपालबिचको सुगौली सन्धि ( सन् १८१६), नेपाल– भोट युद्धपछि नेपाल र चीनबिचको थापाथली सन्धि (सन् १८५६) सम्म आइपुग्दा नेपालका सैनिक बल आफ्नो सरहदको रक्षार्थ युद्धरत थिए भने यसबाहेकका पछिल्ला अन्य धेरै लडाइँमा विदेशी मित्रशक्तिको (बेलायती साम्राज्य) सहायतार्थ र आफ्नो राष्ट्रिय विदेश नीतिलाई प्रवर्धन गर्नमा केन्द्रित थिए । तत्कालीन अवस्थामा नेपाललाई विश्वशक्ति राष्ट्रसँगको निकटता चाहिएको बुझ्न सकिन्थ्यो र उनीहरूलाई नेपालसँग । पर्सियाका विश्वविख्यात सैनिक रणनीतिज्ञ कार्ल भों क्लाउत्जवित्जको ‘युद्ध राजनीतिको विस्तार’ हो भन्ने मान्यतालाई यसले पुष्टि गर्छ । यो संयोग मात्र होइन, आजपर्यन्त नेपाली सेनाका जवान विश्वका कुनाकाप्चा पुगेका छन् । विश्व शान्तिदूतका रूपमा खटिएको अवस्था छ किनकि इमानदार, वीर, पराक्रमी, पौरखी नेपालीको पहिचान र खाँचो जताततै छ । आफ्ना प्यारा परिवारजनबाट निकै टाढा रहेको युद्ध मैदानमा भोक, प्यास, थकान र ज्यानको वास्ता नगरी अनन्त समर्पण गर्ने ती बहादुर सिपाहीलाई ‘नेपाली सेना दिवस २०८१’ को अवसरमा स्मरण गर्नु अति सान्दर्भिक हुने छ ।
विश्व भूराजनीति चलायमान छ । शक्ति राष्ट्रहरूको राष्ट्रिय स्वार्थमा आआफ्ना वैदेशिक नीति र सैनिकवाद हाबी हुँदै गएका छन् भने कमजोर राष्ट्र मानव सुरक्षालगायतका विविध समस्याबिच सङ्घर्षरत छन् । ठुला तथा साना मानिएका देशले पनि आआफ्नो सैनिक शक्तिको प्रयोग सम्बन्धमा फरक फरक दृष्टिकोण राखेको पाइन्छ । केही देश रक्षात्मक छन् भने कुनै आक्रामक । सबैले आफ्ना सैनिक बललाई राष्ट्रिय सुरक्षाको पहरेदारका रूपमा प्रयोग गर्छन् । हाम्रो राष्ट्रिय सुरक्षा मामिलामा सैन्यशक्तिलाई बढी रक्षात्मक र राष्ट्र निर्माणमा औचित्यपूर्ण संलग्नता गराइएकामा हामी सन्तुष्ट छौँ । हाम्रो अवसर भनेको बुद्धका शान्तिप्रिय सन्देशलाई कसरी विश्वव्यापीकरण गर्ने र हाम्रो सौम्य शक्तिमार्फत विश्वशान्ति अक्षुण्ण राख्न कसरी अनुकरणीय बन्ने भन्ने नै हो । अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाका नयाँ चुनौती थपिइरहेका विद्यमान परिप्रेक्ष्यमा नेपालले पनि ऐतिहासिककालीन युद्धहरूबाट महत्वपूर्ण पाठ सिकेर आफ्नो सैन्यशक्तिलाई अन्तर्राष्ट्रिय शान्ति संरक्षात्मक, क्षेत्रीय सुरक्षा तथा स्थिरता र राष्ट्रिय सुरक्षाका खातिर सशक्त पार्न सक्नु पर्छ ।
अन्तर्राष्ट्रिय सुरक्षा
दुवै विश्वयुद्धमा मित्रराष्ट्रको समर्थनमा नेपालले सैनिक डफ्फा परिचालन गरेर महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । दोस्रो विश्वयुद्धबाट मानवजाति नै तहसनहस हुने खतरा बढ्दै जाँदा नाजी जर्मनी, इटाली र जापानविरुद्धको अल्लाइड सेना (सहयोगी मोर्चा) लाई नेपालको सहयोग वास्तवमा हाम्रो वैदेशिक नीतिको विशिष्ट उदाहरण बन्यो । नेपाली युवा ब्रिटिस भारतीय सेनाका प्रसिद्ध गोर्खा रेजिमेन्टमा सम्मिलित भई पश्चिमी मोर्चा, उत्तर अफ्रिका र मध्यपूर्वमा लडेका मात्र होइनन् नेपाली सेनाको रेजिमेन्ट पनि विदेशमा खटिएका थिए । रणनीतिक रूपमा नेपाल पनि त्यसबेलाको एउटा महत्वपूर्ण सैन्यशक्ति थियो । ऊ विश्वशक्ति राष्ट्रसँग सहकार्य गर्न सक्दथ्यो र खोज्दथ्यो पनि । नेपाली सेनाले वाजरिस्तान (जुन हाल पाकिस्तानमा पर्छ) र तत्कालीन भारतको उत्तरपश्चिमी सीमा भूभाग (नर्थ वेस्ट फ्रन्टियर) का सैनिक अभियानमा सहभागिता जनाएर भारत उपमहाद्वीपमा बेलायती नियन्त्रण कायम राख्न सहयोग पुर्याएको थियो । आज संसारका कुना कुनामा जोसुकै विदेशीसँगको भेटमा पनि गोर्खा फौजको (अर्थात् नेपाली सेना) बहादुरीको सकारात्मक प्रसङ्ग उठ्ने गर्दछ, जुन हामी नेपालीका लागि गर्वको विषय हो । नेपालले दशकौँदेखि नै विश्वशान्तिका खातिर संयुक्त राष्ट्रसङ्घको शान्ति प्रयासलाई निरन्तर सहयोग पुर्याउँदै आएको छ । हाम्रा शान्ति सैनिकले विश्वका विभिन्न समस्याग्रस्त क्षेत्रमा अग्रमोर्चामा रही आफ्नो प्रभावकारिता प्रमाणित गरेका छन् । उनीहरूको योगदानलाई लेबनान, सिरिया, कोसोभो, दक्षिण सुडान, सेन्ट्रल अफ्रिकन रिपब्लिक, हैटी, माली, कङ्गोलगायतका अन्य थुप्रै युद्धग्रस्त क्षेत्रमा उच्च सम्मानले हेरिन्छ ।
क्षेत्रीय सुरक्षा
सेनाले सौम्य शक्ति र आवश्यकता अनुसारको कठोर शक्तिको प्रदर्शन पनि गर्छ । शान्ति कायम गर्न युद्ध विज्ञान आवश्यक हुन्छ जसमा न्यूनतम सैन्य क्षमता, सैनिक सङ्गठनको उपयुक्त सञ्चालन कला, प्रविधि विकास र राष्ट्रमा पर्ने यसका प्रभावको वैज्ञानिक अध्ययन समावेश हुन्छन् । यसका लागि नेपाली सेना आफ्नो प्राथमिक र अन्य गैरपरम्परागत भूमिकामा स्पष्ट छ । राष्ट्रिय सुरक्षा योजना र राष्ट्रिय प्रतिरक्षा योजनाको स्पष्टताले विशिष्ट सामथ्र्यको आधुनिक सैनिक संरचना निर्माण गर्न र प्रभावकारिता हासिल गर्न मद्दत मिल्छ, जसबाट सेनाले स्वदेशमा मात्र नभई क्षेत्रीय तवरमा पनि ठुलो योगदान पुर्याउन सक्छ । क्षेत्रीय सुरक्षाका विभिन्न पक्ष, वातावरण संरक्षण, प्रतिआतङ्कवाद, प्राकृतिक प्रकोप तथा अन्तरसीमा अर्थात् अन्तर्राष्ट्रिय अपराध नियन्त्रणमा सेनाको ठुलो भूमिका हुन्छ । कुनै एक शक्तिशाली मित्रराष्ट्रका आवासीय राजदूतले तत्कालीन प्रधान सेनापतिसँगको भेटमा व्यक्त गरेको कुरा पङ्क्तिकारलाई सम्झना छ, ‘भारत र चीनबिच रहेर नेपालले क्षेत्रीय शान्तिलाई सुनिश्चित गरेको छ ।’ यस क्षेत्रमा चीनका साथै दक्षिण एसियाका सबै छिमेकीसँग बराबर मित्रता कायम राख्ने शान्तिप्रिय नेपालको अवस्थिति सधैँ महत्वपूर्ण रहन्छ ।
राष्ट्रिय सुरक्षा
विश्वका धेरै देशमा खाद्य सुरक्षा, वातावरण सुरक्षा, प्राकृतिक विपत्ति, धार्मिक युद्ध, जातीय हिंसा, सङ्गठित अपराध, मानव अधिकार, सुशासन, भ्रष्टाचार, स्वास्थ्य, शिक्षा, रोजगारी जस्ता मानव सुरक्षाका मानक सूची निराशाजनक छन् । यसबाट पीडित जनतामा उत्पन्न हुने नैराश्यले आन्दोलन, प्रतिहिंसा (रक्तपातसमेत) उत्पन्न गर्ने सम्भावना रहन्छ । समस्या निराकरण हुनुको सट्टा प्रतिशोध, अशान्ति र द्वन्द्वका कारणबाट निर्दोष जनताले असामान्य जीवन गुजार्नुपर्ने बाध्यतासमेत आई पर्छ । हाम्रो राष्ट्रिय सुरक्षामा पनि यीमध्येका केही चुनौती दिनानुदिन थपिने क्रममा छन् । यस्ता समस्यालाई अग्रसव्रिmयतापूर्वक प्रारम्भिक तहमै सम्बोधन गर्न सके मात्र यसबाट हुने जोखिम न्यूनीकरण गर्न सकिन्छ । राष्ट्रिय सुरक्षाको एक महìवपूर्ण अङ्गका रूपमा रहेको सैनिक सङ्गठनले यस्ता परिस्थितिको सम्बोधन गर्न ठुलो भूमिका खेल्न सक्छ । बलियो सैनिक सङ्गठनको उपस्थितिमा राष्ट्रिय सुरक्षा परिषद् असरदार हुन्छ । यसका अनुसन्धनात्मक र रचनात्मक कार्यले देशलाई समयमै समस्या रोकथामको बाटो पहिल्याउन मद्दत गर्छ । सबल सैनिक सङ्गठनले जनतालाई विपत्को घडीमा अपेक्षित मद्दत गर्न सक्छ । अमेरिकी प्रसिद्ध लेखक सामुएल पी. हन्टिङ्टन भन्छन्, “बलियो सैन्य सङ्गठनले राजनीतिक नेतृत्वलाई राष्ट्र निर्माणमा सहयोग पुर्याउँछ ।” अर्का विद्वान् मिसेल ओह्यान्लन पनि ‘बलियो सैन्य संस्थाले राष्ट्रलाई एकताबद्ध गर्न र राजनीतिक नेतृत्वलाई राष्ट्रिय चुनौती समाधान गर्न मद्दत गर्छ’ भन्ने मान्यता राख्छन् ।
इतिहास हेरौँ, पृथ्वीनारायण शाहको राष्ट्र एकीकरण अभियानमा नागरिक–सैनिक सम्बन्ध (ट्रिनिटी) अन्तर्निहित थियो, जुन विश्वका कुनै पनि रणनीतिक चिन्तकभन्दा कमको थिएन । आफ्नो राष्ट्रिय स्वार्थका लागि त्यसबेलाका सेना, राजा (सरकार) र जनताको लक्ष्यमा एकात्मकता पाइन्थ्यो । आज पनि हामीले इतिहास र भविष्यको परिकल्पनाको विश्लेषणमा यसै अनुरूपको त्रिशक्ति सुरक्षा रणनीति अपनाउन सक्नु पर्छ ।
सैनिक आधुनिकीकरणको खाँचो
नेपाली सेनाले सधैँ सरकारको आदेश निर्देशनमा व्यावसायिक उत्कृष्टता प्रदर्शन गरेको छ । विश्वका आधुनिक सेनाको विकास हेर्दा नेपाली सेनामा अपेक्षित गतिशीलता, आवश्यकीय महìवपूर्ण सैन्य सामग्री तथा हातहतियारको अभाव देखिन्छ, जसका कारण सेना विभिन्न सीमितताको कठिनाइ भोग्न बाध्य हुन्छ । सैन्य तयारी र सामथ्र्य एकै रातमा सम्भव नहुने यथार्थ सरकारले बुझ्नु पर्छ । युद्धकालीन अवस्थामा चाहिने जत्तिकै सशक्त सैनिक तालिम, व्यावसायिकपना, शिक्षा, नेतृत्व विकास र भरपर्दो आपूर्ति व्यवस्थापन गर्न सके राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षामा हाम्रो प्रभावकारिता वृद्धि हुन्छ ।
राष्ट्रमा चरम बेरोजगारी छ र हजारौँको सङ्ख्यामा सक्षम युवा विदेश पलायन हुने क्रम जारी छ । यसले गर्दा भोलि गएर राष्ट्रलाई आवश्यक पर्ने युवा श्रमिक पाउन पनि मुस्किल हुने अवस्था सिर्जना हुन सक्छ । छिमेकी मुलुकबाट आएका युवाले मुलुकभर विविध साना मसिना आयआर्जनका काम गरेका जहाँतहीँ भेटिन्छन् तर नेपाली युवा ती कार्यमा त्यति संलग्न भएको भेटिँदैनन् ।
एक त विदेश पलायनको समस्या, अर्को आफ्ना युवा सिप नजानेर बेरोजगार बस्नु परेकाले राष्ट्रलाई दीर्घकालीन रूपले नोक्सान पुग्ने निश्चित छ । नेपाली सेनामा कार्यरत सैनिक युवाशक्तिलाई विभिन्न क्षेत्रका दक्षता तालिम दिन सकेमा भोलिका दिनमा उनीहरूले त्यो आवश्यकता पूर्ति गर्न सक्छन् । सेनाले सैनिक युवालाई स्वास्थ्य, शिक्षा र खेलकुदका साथै अन्य विविध क्षेत्रमा प्रदान गरेका उच्चस्तरीय तालिमले राष्ट्रलाई आत्मनिर्भर बनाउन मद्दत मिल्नुका साथै यसले समग्रमा राष्ट्र निर्माणलाई टेवा पुग्छ ।
अबको प्राथमिकता
उच्च राष्ट्रिय मनोबल एक महत्वपूर्ण अदृश्य तत्व हो, जसलाई कायम राख्न सैनिक नेतृत्वले चिन्तन गरिरहन्छ । विज्ञान र प्रविधि, इलेक्ट्रोम्याग्नेटिक आविष्कार, अन्तरिक्ष, साइबर, हाइपरसोनिक क्षेप्यास्त्र, ड्रोन प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्सका कारणले सैनिक सामथ्र्यको अपूर्व विकास हामी देख्न सक्छौँ । यसको दुरुपयोगबाट तनाव, द्वन्द्वात्मक परिस्थिति पनि सिर्जना हुन सक्छ र यसबाट राष्ट्रिय अर्थ शक्ति खेर गएको आभास हुन्छ । देश देशबिच शान्ति कायम गरिएन भने मानवजातिकै सङ्कट निश्चित छ ।
विश्व सुरक्षा परिस्थिति अनित्य छन्, त्यसै गरी राष्ट्रिय सुरक्षा पनि । भविष्यमा हाम्रा राष्ट्रिय सुरक्षाका जिम्मेवारी व्यापक हुँदै जाँदा यसमा हामी सबै गम्भीर हुनु जरुरी छ । सेनाले संविधानले दिएको विशुद्ध जिम्मेवारीबाहेक अन्य कुनै राजनीतिक महत्वाकाङ्क्षा राख्दैन । राष्ट्रिय सुरक्षालाई मजबुत बनाउने कार्यमा नेपाली सेनाको अहम् भूमिका र प्राथमिकता हुने यथार्थ मनन गरी एक सामथ्र्यवान् सैनिक सङ्गठनको भिजन (लक्ष्य) सरकारको प्राथमिकता हुनु पर्छ । रक्षा रणनीति, विदेश नीति र रक्षा कूटनीतिका मार्गदर्शक सिद्धान्तलाई आत्मसात् गरी राष्ट्रिय शक्तिमा सेना र आमनागरिक एकाकार हुन सक्नु पर्छ । यसको उपलब्धि भनेको जसरी उदाइरहेको सूर्यले आफ्नो ताप र प्रकाशद्वारा सबैलाई स्वास्थ्य एवं ऊर्जासम्बन्धी अनेक सिद्धि दिइरहन्छ, त्यसै गरी जनताले नेपाली सेनामाथि अटल विश्वास राखिरहने अवस्था हुने कुरा निर्विवाद छ ।