शिबकुमार रिजाल काशी
हेटौँडा, फागुन १२ गते । पूर्व उपप्रधान तथा रक्षामन्त्री समेत रहनु भएको नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रमुख दुई ठूला पार्टीहरु खास परिस्थितिमा मिलेर अघि बढेको बताउनुभएको छ ।
एमाले जिल्ला कार्यालय मकवानपुरमा आयोजित पार्टीको ‘जरा अभियान’ को समिक्षात्मक बैठकलाई सम्बोधन गर्दै उहाँले बिगतमा पनि काँग्रेस र एमाले मिलेर देशको संकट टारेको स्मरण गर्नुभयो । ‘काँग्रेस र एमाले मिलेर देशमा बहुदलीय व्यवस्था ल्याउँदा पनि हाम्रा जननेता मदन भण्डारीले अबको १० बर्ष काँग्रेस र एमाले मिलेर उपलब्धिको रक्षा गर्नुपर्छ भन्नुभएको कुरा मलाई सम्झना छ’, बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो ।
पोखरेलले गठबन्धन बनाएर २०७९ सालमा सम्पन्न भएको निर्वाचनपछि प्राप्त भएको जनादेशले राजनीतिक स्थिरता नदिएपछि देशलाई निकास दिन काँग्रेस र एमाले मिलेर सरकार सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म्याजिक नम्बर छ भनेर संसदमा खेल खेल्नेहरु अस्थिरता निम्त्याए’, पोखरेलले भन्नुभयो, ‘त्यही अस्थिरता रोक्न र देशलाई सुखी नेपाली समृद्ध नेपालको आकांक्षा पूरा गर्न दुई ठूला पार्टी मिलेका हौं ।’
उहाँले आगामी निर्वाचनमा एमालेको प्रतिस्पर्धा काँग्रेससँगै हुने स्पष्ट पार्नुभयो । ‘हामी आगामी निर्वाचनमा काँग्रेससँग प्रतिस्पर्धा गर्ने कुरामा दुईमत छैन, यो कुरा काँग्रेसलाई पनि थाहा छ’, पोखरेलले भन्नुभयो, ‘बिशिष्ट परिस्थितिमा मिलेर सरकार चलाएका हौं, यसको अर्थ सँधैभरि मिलिरहने र प्रतिस्पर्धीको रुपमा सँधैभरि जुधिरहने कुरा राजनीतिमा सम्भव हुँदैन ।’
बैठकमा एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले विश्व कम्युनिष्ट आन्दोलनमा नेकपा (एमाले) ले नमुना प्रस्तुत गरेकाले एमालेले संसदीय अभ्यासबाट आर्जन गरेको विश्वासलाई विश्व कम्युनिष्ट आन्दोलनसामु झुक्न दिन नहुने बताउनुभयो ।
एमाले जिल्ला अध्यक्ष श्रीधर पोखरेलको सभाध्यक्षतामा भएका कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य केदार न्यौपाने, बागमती प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुको सहभागिता थियो ।