फडिन्द्र अधिकारी
लेखनाथ, फागुन १२ गते । पोखरा महानगरपालिकाले पर्यटकीय केन्द्र लेकसाइडमा गर्न लागिएको कोटिहोम रोक्न उच्च अदालत पोखरामा निवेदन दर्ता गराएको छ । गएको फागुन १ गते उच्चले दिएको अन्तरिम आदेश बेरीतको भएको दाबीसहित सोमबार महानगरले भ्याकेट निवेदन दर्ता गराएको छ ।
महायज्ञको आयोजक नेपाल सेवा फाउण्डेशन नेपालले गर्न लागेको कोटिहोम महायज्ञलाई नरोक्न उच्चले दिएको आदेश रद्द गर्न महानगर प्रमुख धनराज आचार्यको वारेसको रुपमा सोमनाथ लम्सालले उत्प्रेषण परमादेशसमेत माग गरी निवेदन दर्ता गराउनुभएको हो ।
निवेदनमा महायज्ञ गर्ने भनिएको स्थल फेवातालको ६५ मिटरको मापदण्डमा समेत पर्ने र केही दिनभित्रै तालको सीमाङ्कन गर्न सुरु गरिने भएकाले पनि तालको मापदण्डभित्र पर्ने जमिनमा महायज्ञ सम्भव नहुने निवेदनमा उल्लेख छ । महानगरले कोटिहोम गर्न अनुमति दिएको छैन ।
उच्च अदालत नियमावलीको ४२ (ग) बमोजिम निवेदन दर्ता भएको उच्चका सूचना अधिकारी नीलप्रसाद पनेरुले जानकारी दिनुभयो । नियमावलीको ४२ (ग)मा कुनै विषयमा एकपक्षीय सुनुवाइ गरी अन्तरिम आदेश जारी भएकामा वा कुनै कारणले अर्काे पक्षले आफ्नो कुरा प्रस्तुत गर्न मौका नपाएकोमा सो पक्षले सो पक्षले निवेदन दिन सक्ने व्यवस्था छ ।
सोमबार दर्ता भएको निवेदन मङ्गलबार इजलासमा पेश हुने पनेरुले बताउनुभयो । नियमावालीमा अदालतले आवश्यक ठानेमा त्यसरी भएको अन्तरिम आदेश रद्द गर्न वा आवश्यक संशोधन गर्न सक्ने उल्लेख छ ।
मानव सेवा फाउन्डेसनले लेकसाइडमा वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म ‘श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ’ गर्दै छ । यसअघि फाउन्डेसनले पोखराका चौतारीहरु जथाभावी काटेपछि महानगरले ती काठ जफत गरेको थियो । महानगरले ३० ट्रकभन्दा बढी दाउरा जफत गरेको थियो ।
नेपाल ट्रष्टसँग फाउन्डेसनले वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्मका लागि विराट ज्ञान महायज्ञ तथा कोटिहोमका लागि बाराहीघाट छेउको जग्गा भाडामा लिएको छ । फाउन्डेसनले सो स्थानका लागि ११ लाख ५९ हजार रुपियाँ भाडा बुझाएको छ ।
महायज्ञ सञ्चालनका लागि नेपाल ट्रष्टको कार्यालय, काठमाडौंले तोकिएको भाडा लिएर अनुमति दिएको छ भने पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, पोखराले समेत सहमति दिएको छ ।