• १२ फागुन २०८१, सोमबार

आगामी दिनमा चीनबाट अझ धेरै पर्यटकको आगमन हुने पर्यटनमन्त्रीको विश्वास

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डे र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ जातीय मामिलामन्त्री पेन यूबिच भेटवार्ता हुँदै । तस्बिर : मन्त्री पाण्डेको सचिवालय

काठमाडौँ, फागुन १२ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले आगामी दिनमा चीनबाट अझ धेरै पर्यटकको आगमन हुने र त्यसले नेपाल–चीन पर्यटन सहकार्य थप घनिष्ट र प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल भ्रमणमा रहनुभएका चिनियाँ जातीय मामिलामन्त्री पेन यू नेतृत्वको प्रतिनिधि मण्डलसँग सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटमा सो कुरा बताउनुभएको हो ।

चिनियाँ टोलीलाई स्वागत गर्नुहुँदै मन्त्री पाण्डेले सन् १९५५ मा स्थापित कूटनीतिक सम्बन्धले यस वर्ष ७० औँ वर्ष पूरा गर्न लागेकोमा प्रति खुसी व्यक्त गर्नुभयो ।

मन्त्री पाण्डेले भन्नुभयो, ‘‘यहाँहरूको नेपाल भ्रमणबाट दुई देशको आपसी हितका साथै दुई देशका मन्त्रालयबिचको सहयोगको आदानप्रदान हुने विश्वास मैले लिएको छु ।’’

उहाँले नेपालको पर्यटनको विकासका लागि चिनियाँ राजदूतसँग पटक पटक छलफल गरेको उल्लेख गर्नुहुँदै अगाडि भन्नुभयो, ‘‘दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षको उपलक्ष्यमा चीन सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको छ म त्यसका सराहना गर्दछु ।’’

मन्त्री पाण्डेले नेपाल एक चीन नीति प्रति प्रतिबद्ध रहेको र आगामी दिनहरूमा चीनबाट अझ धेरै पर्यटकको आगमनले नेपाल चीन पर्यटन सहकार्य थप घनिष्ट र प्रगाढ हुनेमा पनि आफू आशावादी भएको बताउनुभयो ।

त्यस्तै पर्यटनमन्त्री पाण्डेले नेपाल एयरलाइन्सले गोन्जाव र नेपाल सिधा उडानका लागि प्रयास गरिरहेको र हिमालय एयरलाइन्सले पोखरादेखि ल्हासासम्मको उडान गर्ने तयारी गरिरहेको बताउनुभयो । उहाँले नेपालको भाषा, संस्कृति, कलाका बारेमा अध्ययन गर्नका लागि समेत चिनियाँहरूलाई आह्वान समेत गर्नुभयो ।

यसैगरी, भेटको अवसरमा चिनियाँ मन्त्री पेन यूले यस अघिका दुई देशका राष्ट्राध्यक्षबिच भएको सम्झौतालाई कार्यान्वयन गर्दै जानु पर्नेमा जोड दिनुभयो ।

‘‘चिनियाँ कम्युनिष्ट पार्टीले नयाँ पार्टीले ल्याएका विचारधारा र परम्परागत विचारधारालाई एक अर्कामा आदानप्रदान र शान्तिपूर्ण विकासतर्फ लागिरहेको छ ।’’ उहाँले भन्नुभयो, ‘‘अल्पसङ्ख्यक जातिहरूलाई सम्मान गर्दै कला संस्कृति झल्किने खालका म्युजिम निर्माण गरिरहेका छौं ।’’

नेपाल गौतम बुद्धको जन्मस्थल भएको उल्लेख गर्नुहुँदै उहाँले चीनमा १० करोडभन्दा बढी बुद्ध धर्म मान्नेरहेको उल्लेख गर्नुभयो ।

उहाँले बुद्ध धर्मलाई आदर्श मानेर अघि बढ्न समेत अनुरोध गर्नुभयो । उहाँले आफ्नो मन्त्रालय मातहतमा ३० वटा विश्वविद्यालय रहेको उल्लेख गर्नुहुँदै एउटा विश्व विद्यालयलाई नेपालको सांस्कृतिक महोत्सवका बारेमा बुझ्न पठाउने समेत प्रतिबद्ध व्यक्त गर्नुभयो ।