• १२ फागुन २०८१, सोमबार

खारा घटनाको पच्चिस वर्ष

न्याय र राहतको पर्खाइमा पीडित

blog

खारामा भएको आगजनीबाट क्षति भएको घर । फाइल तस्बिर : राजु लामिछाने

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, फागुन १२ गते । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४, खारामा सशस्त्र द्वन्द्वका क्रममा १५ जनाको सामूहिक हत्या र सिङ्गो गाउँ आगजनी भएको २५ वर्ष पूरा भएको छ । २०५६ फागुन १० गते भएको घटनाका पीडितले न्याय र राहतको आशामै २५ वर्ष बितेको दुःखेसो पोखेका छन् । 

यही घटनामा श्रीमान्, जेठो छोरा र देवरको छोरा गुमाउनुभएकी ७१ वर्षीय राती ओलीले अझैसम्म न्याय पाउन नसकेको बताउनुभयो । उहाँका श्रीमान् त्रिभान, जेठो छोरा धनबहादुर र देवरको छोरा लालबहादुरसहित कुरल गाउँका सात जनालाई एउटै लाइन बनाएर तत्कालीन राज्यपक्षका प्रहरीले गोली हानेका थिए । त्यो क्षण स्मरण गर्दै रातीले भन्नुभयो, “आँगनमा लहरै बनाएर गोली हाने, हामी केराको बोटमुनि लुकेर बाँच्यौँ, माइला छोरालाई कुट्नसम्म कुटे, म¥यो भनेर खोल्सामा फाले ।” त्यो दिनपछि रातीको शरीरमा घाम परेको छैन । राज्यले मृतकका परिवारलाई १० लाख राहत दिए पनि निर्दोष व्यक्ति मारिँदा परिवारले न्याय नपाएको गुनासो उहाँको छ । 

सोही दिन खाराको पोखरीगाउँमा थप सात जनाको हत्या भएको थियो । बुवाको हत्या हुँदा आमाको गर्भमा रहनुभएकी तारा खड्काले बुवाबिनाका २५ वर्ष अँध्यारोमै बितेको बताउनुभयो । “बुवा मारिँदा म आमाको पेटमा चार महिनाको थिएँ रे,” ताराले भन्नुभयो, “आमाका आँसु रोकिने र न्याय पाउने कहिले होला ?”

उक्त दिन पोखरीगाउँमा सात जना, कुरलमा सात जना र हाइबाङमा एक जना गरेर १५ जनाको हत्या भएको थियो । तत्कालीन खारा गाविस अध्यक्षसमेत रहनुभएकी नेपाली कांग्रेसको कर्णाली प्रदेश कमिटी सदस्य सीता ओलीले १५ जना सर्वसाधारणको हत्या भएको बताउनुभयो । 

कांग्रेसको वडा समिति अध्यक्ष त्रिभान ओलीलगायतले “हामी माओवादी  होइनौँ, कांग्रेस हौँ,” भन्दाभन्दै राज्यले उहाँसहित अन्य सर्वसाधारणलाई हत्या गरेको उहाँले बताउनुभयो । हत्यासँगै खारागाउँ आगजनी गरिएको थियो । राज्यतर्फबाट भएको त्यो बर्बरता बिर्सनै नसकिने ओलीले जनाउनुभयो । माओवादी लुकेको भन्दै प्रहरीले सर्वसाधारणका घर, गोठ र घट्टसमेतमा आगो लगाएको थियो । करिब ८६ घरगोठ आगजनीबाट क्षति भएको ओलीले जानकारी दिनुभयो । 

त्यो बेला घरगोठ जलेर ध्वस्त भएको तर अझैसम्म राहत पाउन नसकेको पीडित बिरजित दमाईंले बताउनुभयो । अब त राहतको आशा पनि मरिसकेको बताउँदै उहाँले घरगोठ आगजनीबाट भएको क्षति अनुसारको राहत तथा क्षतिपूर्ति कसैले पनि नपाएका दाबी गर्नुभयो । तत्कालीन अवस्थामा केहीले सामान्य राहत मात्र पाएको उहाँले बताउनुभयो । 

त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले निमुखा सर्वसाधारणले हारगुहार गर्दा पनि लाइन लगाएर हत्या गरिएको, गाउँघर नै जलाइएको घटनाका पीडितले न्याय र उचित क्षतिपूर्ति पाउन नसकेको बताउनुभयो ।  पीडितलाई राहत, क्षतिपूर्ति र न्याय दिलाउन जिम्मेवार निकायबाट ढिलाइ भइरहेको अध्यक्ष केसीले उल्लेख गर्नुभयो । द्वन्द्वका कारण साबिक रुकुमका ६६५ जनाको मृत्यु भएकाले राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा रहेको छ ।