चाँदनी आचार्य
घोडाघोडी (कैलाली), फागुन ११ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चाँडै आमसञ्चार नीति कार्यान्वयनमा आउने बताउनुभएको छ । उहाँले आमसञ्चार नीतिले लैङ्गिक समानता तथा सामाजिक समावेशीरणका पक्ष पनि सम्बोधन हुने बताउनुभयो ।
सञ्चारिका समुह नेपालले मिडियामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका लागि मागपत्र बुझाउने क्रममा मुख्यमन्त्री शाहले सो कुरा बताउनुभएको हो ।
मुख्यमन्त्री शाहले विभिन्न मन्त्रालयबाट राय, सुझाव लिई मन्त्रिपरिषद्बाट पास गराउनेगरी हाल कानुन मन्त्रालयमा आमसञ्चार नीति रहेको जनाउँदै पास हुनुपूर्व अझै एक पटक सरोकारवाला पक्षसँग छलफल गरिने उल्लेख गर्नुभयो ।
सञ्चारिका समुहले सात वटा प्रदेशमा सञ्चारगृह र सञ्चार सम्बद्ध सङ्घ संस्थामा लैङ्गिक नीति कार्यान्वयनको अवस्था, सुधार गर्नुपर्ने विषय, चुनौतीका विषय बुझ्ने काम गरेको छ । सोही क्रममा सुदूरपश्चिम प्रदेशको धनगढी पुगेको केन्द्रका कार्यसमिति सदस्य राधा खनाल, कल्पना आचार्य र कार्यक्रम संयोजक अन्जु बराल र प्रदेश अध्यक्ष चाँदनी आचार्यले संयुक्त रूपमा मागपत्र मुख्यमन्त्री शाहलाई बुझाउनुभयो ।
मागपत्रमा सञ्चार माध्यममा लैङ्गिकमैत्रीे वातावरण स्थापना, समान कामको समान ज्याला निर्धारण, पत्रकार महिलाको क्षमता अभिबृद्धिका लागि आवश्यक तालिमको व्यवस्था, पत्रकार महिलाको सञ्चार माध्यमबाट पलायन हुनेक्रम रोक्न, पेसागत रूपमा स्थायित्व हुने गरी रोजगारीको शुनिश्चित्ता, सरकारी नियुक्तिमा पत्रकार महिलालाई प्राथमिकता दिनुपर्ने रहेको छ ।
दस बुदें मागपत्रमा पत्रकारितामा आउन चाहने नयाँ पुस्ताका महिलालाई प्रोत्साहन गर्न उत्साहजनक वातावरणको सिर्जना, कार्यस्थलमा हुने हिंसा तथा समाचार लेखेवापत आउने धम्की तथा हुनसक्ने जोखिम व्यवस्थापनका लागि उजुरी गर्ने संयन्त्र र कारबाही गर्ने निकाय खडा गर्ने उल्लेख छ ।
यस्तै, पत्रकार महिलाका विशेष अवस्था (जस्तैः गर्भवती, सुत्केरी) लाई सम्बोधन गर्दै तलबी विदाको व्यवस्था समाचार सङ्कलन तथा सम्प्रेषणका क्रममा हुनसक्ने दुर्घटनामा पत्रकार महिलालाई सहज उपचारका लागि स्वास्थ्य विमाको व्यवस्था, मिडिया हाउसहरूमा पत्रकार महिलाको करार नियुक्तिको समयावधि छोट्याइ यसको अनुगमन गर्नुपर्ने रहेको छ ।
सञ्चारिका समुहले सञ्चारगृहमा सञ्चार नीति लागु गर्न तथा पत्रकारले उठाउने विषय वस्तुसमेत लैङ्गिक समानता कार्यान्वयनमा ल्याउन विभिन्न कार्यक्रममार्फत पैरवी गर्दै आइरहेको केन्द्रीय समिति सदस्य राधा खनालले बताउनुभयो । उहाँले सुदूरपश्चिम प्रदेशको टिकापुरमा रहेको टिकापुर सामुदायिक एफएम र धनगढीमा रहेको दिनेश एफ.एम, पश्चिमटुडे लगायतका सञ्चार गृहमा लैङ्गिक नीति कार्यान्वयनको अवस्था सञ्चारगृहमा पुगेर अबलोकन गरेको बताउनुभयो ।