• ११ फागुन २०८१, आइतबार

कालीगण्डकीको फलामे पुल मर्मत हुँदै

blog

कालीगण्डकी नदीको जीर्ण फलामे पुल ।

स्याङ्जा समाचारदाता 

स्याङ्जा, फागुन ११ गते । लामो समय मर्मत नहुँदा जीर्ण बनेको स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७, मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ जोड्ने फलामे पुल प्रदेश सरकारले मर्मत गर्ने भएको छ । 

२८ वर्षपहिला निर्माण भएको फलामे पुल निर्माणपश्चात् एक पटक पनि मर्मतसम्भार नहुँदा दुई जिल्ला जोडिने पुल जीर्ण बनेको थियो । २०५३ सालमा कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणको क्रममा बनेको उक्त पुल मर्मतसम्भार नहुँदा कमजोर बन्दै गएकाले पैदलयात्री तथा सवारीसाधनलाई जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो । 

कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको उक्त पक्की पुल लामो समयसम्म कुनै निकायको नजरमा नपर्दा कमजोर बन्दै गएको स्थानीय नारायण भट्टराईले बताउनुभयो । पछिल्लो समय गण्डकी प्रदेश सरकारले पुल मर्मतका लागि ७० लाख विनियोजन गरेसँगै पुल मर्मत हुने भएको हो । पुलको बेस पिल्लर, छेउका बार, पुल स्पानको आधारमा कमजोर हुँदै जाँदा मर्मतभन्दा नयाँ पुल बनाउनुपर्ने प्राविधिकको सल्लाह रहेको छ । 

दुई जिल्लाको प्रमुख सडकका रूपमा रहेको उक्त पुल ढिलो भए पनि गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेपछि मर्मत हुने कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । पुल मर्मतका लागि दुई जिल्लाका दुई पालिका र स्थानीयले सङ्घ/प्रदेश र सडक डिभिजन कार्यालयका पटक पटक प्रयास गरेपश्चात् प्रदेश सरकारले चासो देखाएको हो । अहिले सो पुलबाट बुटवल हुँदै स्याङ्जाको मिर्मी, गुल्मीको हर्मीचौर, पुर्तीघाट, रुद्रवेणीलगायतका ठाउँमा सवारीसाधन चल्दै आएका छन् । बर्सातको समयमा कालीगण्डकीको तीव्र छाल तथा बहाबका कारण पुलमा क्षति पुगेर जीर्ण भएको स्थानीय बताउँछन् । उक्त पुल मर्मतका लागि बजेट विनियोजन भएपछि पुल मर्मत हुनेमा स्थानीयवासी आशावादी भएका हुन् । कालीगण्डकी कोरिडोर अन्तर्गत गुल्मी र बागलुङ सडकखण्डलाई जोडिने उक्त पुल मर्मतपश्चात् स्याङ्जा जिल्लालाई पनि कोरला नाकासँग जोड्न सहज हुने छ । पुलको मर्मतले मुक्तिनाथ दर्शनका लागि आउने भारतीय पर्यटकलाई समेत नयाँ बाटो बन्ने छ ।