राममणि दाहाल
हेटौँडा, फागुन १० गते । मकवानपुर र काठमाडौं जोड्ने छोटो दूरीको सडक हेटौँडा–फाखेल–फर्पिङ सडकस्तरोन्नतिका क्रममा शनिबारबाट एकतर्फी गरिएको छ ।
हेटौँडा–फाखेल–हुमानेभञ्ज्याङ आयोजनाको मकवानपुर जिल्लाअन्तर्गत इन्द्रसरोवर गाउँपालिकाको कलङ्कीदेखि महालक्ष्मीखोलासम्म सडक ढलानका क्रममा उक्त सडक खण्डमा सवारी साधनको आवागमन एकतर्फी गरिएको प्रदेश पूर्वाधार विकास कार्यालय, मकवानपुरले जनाएको छ ।
उक्त कार्यालयका कार्यालय प्रमुख सुजन भण्डारीले सडक ढलानका क्रममा सवारी साधनको अत्यधिक चापका कारण निर्माण कार्य सहजरुपमा हुन नसकेका कारण एकतर्फी सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सवारी साधन जाम भई यात्रुले समेत सास्ती भोग्नु परेको छ ।
हेटौँडा–फाखेल–हुमाने सडकबाट हेटौँडा–काठमाडौं जाने गरी एकतर्फी चलाउनुपर्ने भएकाले आवश्यक समन्वय गरिदिन काठमाडौं र मकवानपुरको जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।
साथै सो क्षेत्र हुँदै हेटौँडा–काठमाडौं यात्रा गर्न हेभी–सिस्नेरी–दक्षिणकाली वैकल्पिक सडक उपलब्ध रहेको समेत उहाँले बताउनुभयो ।
यस्तै, महालक्ष्मी–चखेल–मातातीर्थ मार्ग स्तरोन्नतिका क्रममा गत आइतबारबाट डेढ महिनाका लागि बन्द गरिएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ को कार्यालयले आगामी चैतको २१ गतेसम्म उक्त सडक हुँदै आउँने जाने सवारी साधनको आवागमन बन्द रहने जनाएको छ ।
इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ को महालक्ष्मी दोभान–घट्टेखोला–चखेल हुँदै मातातीर्थ जोड्ने सडकअन्तर्गतको देउराली मातातीर्थ खण्डको सडकको मोडहरुमा सडक ढलानको काम गर्नुपर्ने भएकाले उक्त सडक बन्द गरिएको इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष दुतराज तितुङले जानकारी दिनुभयो ।
उहाँले उक्त सडक भएर चल्ने सवारीका साधनहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्दै महालक्ष्मी दोभान–घट्टेखोला–चखेल हुँदै मातातीर्थ जोड्ने सडकको मकवानपुरतर्फ पनि सडक स्तरोन्नतिको कार्य भइरहेको बताउनुभयो ।
यस्तै हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको मार्ग कुलेखानी–फाखेल–फर्पिङ सडकको मकवानपुर र काठमाडौंतर्फको भागहरुमा पनि बागमती प्रदेश सरकारको लगानीमा सडक कालोपत्रेलगायत स्तरोन्नतिको कार्यहरु भइरहेको छ ।