• १० फागुन २०८१, शनिबार

प्रजातन्त्र सेनानी बस्नेतको सम्झनामा श्रद्धाञ्जली सभा

blog

प्रजातन्त्र सेनानी तथा नेपाली कांग्रेसका नेता देवीध्वज बस्नेतको ४५ दिनको पुण्य तिथिको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्य समिति सोलुखुम्बुले आयोजना गरेको श्रद्धाञ्जली सभा । तस्बिर : सन्तोष राउत

सन्तोष राउत
सोलुखुम्बु, फागुन ९ गते ।
प्रजातन्त्र सेनानी तथा नेपाली कांग्रेसका नेता देवीध्वज बस्नेतको ४५ दिनको पुण्य तिथिको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्य समिति सोलुखुम्बुले श्रद्धाञ्जली सभाको गरेको छ । उहाँको ९८ वर्षको उमेरमा निधन भएको थियो ।

श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले जनमुक्ति सेनाका रूपमा २००७ सालको क्रान्तिदेखि कांग्रेसको हरेक गतिविधिमा बस्नेतको सक्रिय भूमिका रहेको बताउनुभयो । १०४ वर्षको राणा शासनको अन्त्यदेखि पार्टीको हितमा सधैँ निश्वार्थ लागि रहने बस्नेतको योगदानलाई कांग्रेसले कहिल्यै नभुल्ने भन्दै सबल कांग्रेस बनाउने उहाँको सपना सबै मिलेर साकार पार्नुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङ्गेलु शेर्पाले अनुशासित र अन्तिम समयमा पनि पार्टीप्रतिको मोह र चिन्ता व्यक्त गर्ने स्वर्गीय बस्नेतले सधैँ निष्ठाको राजनीति गर्नुभएको बताउनुभयो । त्यससमयदेखि नै समानतामा विश्वास राख्ने उहाँ आधुनिक सोचको व्यक्तित्व भएको उहाँको भनाइ छ ।

त्यसअवसरमा कांग्रेसका केन्द्रीय सदस्य अम्बिका बस्नेतले उहाँले देखाएको बाटोमा सबै कांग्रेसजन हिँड्नुपर्ने धारणा राख्नुभयो । सभामा बोल्नुहुँदै कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेलजाङबु शेर्पाले नेता बस्नेतले लिएको निष्ठाकोे राजनीतिलाई अहिलेको पुस्ताले अनुशरण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा कांग्रेस सोलुका पूर्व सभापति प्रभुराम बस्नेत, रामेछापका पूर्व सभापति रामचन्द्र खड्का तथा कांग्रेस नेताहरू गोकर्ण राई, रीना केसी, कर्मा शेर्पा, रोशन थुलुङ, नेविसङ्घ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालगायतको उपस्थिति रहेको थियो ।

राणा शासन हटाउने २००७ सालको क्रान्तिमा सक्रिय सहभागिता जनाउनुभएका बस्नेतले राणा शासन विरुद्धको आन्दोलनमा मुक्ति सेनामा कमान्डर भएर पूर्व कब्जा गर्दै चरीकोटसम्मको लडाईंमा प्रत्यक्ष नेतृत्व गर्नुभएको थियो । बस्नेत पञ्चायतकालमा सोलुखुम्बुको साविक चौलाखर्कमा जनपक्षीय प्रधानपञ्च निर्वाचित हुनुभएको तथा २०४९ को स्थानीय निर्वाचनमा चौलाखर्क गाविसको अध्यक्ष बन्नु भएको थियो ।