• १० फागुन २०८१, शनिबार

सबै धर्मको लक्ष्य मानव सेवा हो : राष्ट्रपति पौडेल

blog

धरान–८ स्थित राधाकृष्ण प्रणामी मन्दिर परिसरमा धर्मशाला तथा गोपी स्मारक ध्यान साधनालयको उद्घाटन समाराेहमा राष्ट्रपति रामचन्द्र पौडेल लगायत ।

निशा राई

धरान, फागुन ९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सबै धर्म सम्प्रदायको लक्ष्य भनेको मानव सेवा नै रहेको बताउनुभएको छ । शुक्रबार धरान–८ स्थित राधाकृष्ण प्रणामी मन्दिर परिसरमा धर्मशाला तथा गोपी स्मारक ध्यान साधनालयको उद्घाटनपछि आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । 

सबै धर्म, सम्प्रदायको लक्ष्य भनेको मानव सेवा नै हो, यसलाई बुझ्न सके समाजमा सहिष्णुता बढाउन मद्दत पुग्ने उहाँले बताउनुभयो । हाम्रो धर्मशास्त्रहरूले पनि सेवालाई अत्यधिक महत्त्व र प्रधानता दिएको छ । वेदव्यासले पनि अठार पुराण रचना गरिसकेपछि यही निष्कर्ष दिएको उहाँले उल्लेख गर्नुभयो । 

हाम्रो वैदिक सनातन हिन्दु धर्म प्राचीनकालदेखि चलिरहेको धर्म भएको र यो धर्मको विराटस्वरूपका कारण यसअन्तर्गत विभिन्न सम्प्रदायहरूको सृजना हुनु स्वभाविक नै मान्न सकिने पनि उहाँले बताउनुभयो । यस धर्मशाला भवनलाई मानवीय सेवा र भावनाले अभिप्रेरित एउटा अर्कै मन्दिरको स्वरूपमा खडा भएको समेत उल्लेख गर्नुभयो । 

उहाँले हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएकोले ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यवद्धता देख्न सकिने बताउनुभयो । "यस ऐक्यवद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्दत गर्नेछ", उहाँले भन्नुभयाे । 

विश्वमा चरम भौतिक विकासको चाहना र होडवाजी बढेको र यसका कारण  समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, सहयोगको भावना खस्कदो रुपमा रहेको छ । "मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ । आज भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महसुस वर्तमान विश्वले गरिरहेको छ", उहाँले भन्नुभयो ।

नेपालमा निजानन्द सम्प्रदायले चलाएको आध्यात्मिक जागरण र मानव सेवा अभियानले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको राष्ट्रपति पौडेलले बताउनुभयो । 

धरान शिक्षा स्वास्थ्य, धार्मिक क्षेत्रको हब रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले बताउनुभयो । धरान तराई पहाड जोड्ने स्रगम पनि भएकोले यो महत्त्वपूर्ण केन्द्र रहेको उहाँले भनाइ छ । धरानको मुख्य समस्या पानि हो यसको लागीको कोशी प्रदेशले पहल गरिरहेको उहाँले बताउनुभयो । 

कार्यक्रममा जगद् गुरु श्रीकृष्णमणि महाराज, कोशी प्रदेशका सांसद रमेश बस्नेत, यसोदा कायस्थ, विजय राई, धरान उपमहानगरपालिकाको उपप्रमुख आईन्द्र विक्रम बेघा लयागतको उपस्थिति थियो ।

यस्तै, ५० वर्ष पूरा गरेको अवसरमा मन्दिर व्यवस्थापन समितिले स्वर्ण महोत्सव समेत मनाउँदैछ । फागुन ९ देखि ११ गतेसम्म श्रीमद्भागवत महापुराण, त्रिदिवसीय अखण्ड पाठ, तथा विविध धार्मिक र सांस्कृतिक कार्यक्रम आयोजना गरिने मन्दिरका संस्थापक अध्यक्ष तथा स्वर्ण महोत्सव संयोजक नेत्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने विपन्न तथा असहाय बिरामीहरूलाई निःशुल्क आवास तथा सेवा प्रदान गर्न धर्मशाला निर्माण गरिएको उहाँले बताउनुभयो  । १ सय ८ जगत नन्दन शास्त्रीका अनुसार ‘सेवा नै धर्म’ भन्ने उद्देश्यका साथ गरिब तथा असहायका लागि निःशुल्क भोजन, आवास, र सहयोगको व्यवस्था धर्मशालामा हुनेछ । समितिको यो पहलले धार्मिक आस्थासँगै सामाजिक सेवामा नयाँ उदाहरण प्रस्तुत गर्ने विश्वास लिएको छ ।