• ११ फागुन २०८१, आइतबार

पर्यटकीय गन्तव्य बन्दै कालिका नगरपालिका

blog

कालिका नगरपालिकाको सिन्ती झरना ।

चितवन समाचारदाता

चितवन, फागुन ९ गते  । चितवनको कालिका नगरपालिकामा रहेका प्राकृतिक स्थान पर्यटकीय गन्तव्यमा विकसित भएका छन् । नगरपालिकाको सिन्ती झरना, कालिका भगवतीमाई, शक्तिखोरदेखि सिद्धिको पहाडी पदमार्ग पर्यटकको रोजाइ बनेको छ । यस क्षेत्रमा आन्तरिक  पर्यटकको आकर्षण बढेपछि पालिकाले गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माणदेखि प्रचारका कार्य गर्न थालेको छ । 

कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मीले पर्यटकको चहलपहल बढ्न थालेपछि ठुलो लगानी गरेको जानकारी दिनुभयो । सहरी क्षेत्रबाट शान्त वातावरणमा रमाउन चाहनेले कालिका नगरपालिका रोज्न थालेको बताउनुभयो । यस क्षेत्रको शक्तिखोर बजार र यसै क्षेत्रबाट जाने चितवनको पुरानो सदरमुकाम उपरदाङगढी मार्ग, शक्तिखोला पर्यटकको रोजाइमा परेको छ ।  

यहाँ पालिकाले पूर्वाधार निर्माणको काम गर्दै आएको उहाँले जानकारी दिनुभयो । पालिकाको वडा नंं. १० र ११ पहाडी क्षेत्र पर्दछ । यसै क्षेत्रमा पर्यटकीय पूर्वाधारको क्षेत्रमा करिब १० करोड बजेट विनियोजन गरेर काम भइराखेको प्रमुख रेग्मीले जानकारी दिनुभयो । सडक, पर्यटकीय क्षेत्रमा पुग्ने मार्ग, स्थानीय जातजातिको संस्कृति संरक्षणमा लगानीलगायतमा बजेट विनियोजन भएको उहाँले बताउनुभयो ।  

“कालिकाको शक्तिखोर बजार पर्यटकीय गन्तव्य हो, यो बजार सौराहापछिको अर्को प्रमुख पर्यटकीय क्षेत्र बन्न सक्छ,” नगरप्रमुख रेग्मीले भन्नुभयो, “चेपाङ समुदायको आर्थिक अवस्थालाई बढाउन चिउरी, चमेरो र चेपाङ कार्यव्रmम अगाडि बढाएका छौँ, यहाँका चिउरीले समेत पर्यटक लोभ्याइरहेका छन् ।” कालिका भगवतीमाई नवनिर्मित मन्दिरमा धार्मिक पर्यटकको भिड लाग्ने गरेको छ । पर्वमा यहाँ हजारौँ मानिसको भिड लाग्ने पर्दछ । यही मन्दिरको नामबाट कालिका नगरपालिकाको नामकरण भएको हो । नगरप्रमुख रेग्मीले भन्नुभयो, “आकर्षक मन्दिरले समेत कालिकामा पर्यटक लोभ्याउने छ ।”

शक्तिखोरलाई केन्द्र मानेर यस वरपर झन्डै १० करोडको बजेट भौतिक पूर्वाधारमा लगाइएको छ । शक्तिखोरलाई आसपासका पर्यटकीय क्षेत्रसँग जोडेर विदेशी पर्यटकसमेत भिœयाउने र सौराहापछिको प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना कालिका नगरपालिकाले बनाएको छ । कालिका नगरपालिकाभित्र पर्ने पहाडी क्षेत्र सिद्धि, शक्तिखोरलाई इच्छाकामनाको उपरदाङगढी र सिराइचुली, रत्ननगरको सौराहा र कृष्ण प्रणामी मन्दिरलाई समेत जोडेर पर्यटन विकास गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । यस पालिकामा तारे होटेल, लजहरू खुलेको नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो । नगरका पर्यटकीय क्षेत्र देउजर, पाइमाराङ, मझवाङ, दौत्य, गामिङदुङ, छेरवाङ तथा लोतौतीमा पर्यटन सडक निर्माण भएका छन् । 

नगरका भीमवली बाबा, नागदह, चमेरे गुफा, उदयपुर फनपार्क, चित्राम झरना, सिन्ती झरना, सम्फ-याङका प्राकृतिक छटाले पनि पयर्टक लोभ्याइरहेका छन् । यहाँको चेपाङ संस्कृतिलाई पनि पर्यटकसँग जोड्न सकिन्छ । पहाडी क्षेत्रमा रहेका चेपाङको रहनसहनले पनि पर्यटकलाई लोभ्याउँछ । पहाडमा फुलेका चिउरीबाट मह निकाल्न कालिकाको सिद्धिस्थित प्रत्येक घरमा देशभरका किसान आउँछन् ।यहाँको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । कालिका–९ मा रहेको यस झरना जिल्ला सदरमुकाम भरतपुरबाट झन्डै २४ किलोमिटर पूर्वमा पर्छ । गर्मी मौसम लागेसँगै झरनामा रमाउन आउने आन्तरिक पर्यटकको घुइँचो नै लाग्छ । कालिका नगरपालिकाको ११ नं. वडामा रहेको वाङ्थलामा पछिल्लो समय पदमार्ग बनेको छ ।