• ९ फागुन २०८१, शुक्रबार

‘एमसिसी परियाेजना स्थगितले परेका प्रभावलाई सरकारले व्यवस्थापन गर्छ’

blog

पत्रकार सम्मेलनमा बोल्नुहुँदै मन्त्री दामोदर भण्डारी । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, फागुन ८ गते । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मुलुकमा सरकारले औद्योगिक पूर्वाधार निर्माणमा जोड दिएको बताउनुभएको छ । 

प्रेस चौतारी कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री भण्डारीले भन्नुभयो, “कोभिडबाट प्रभावित उद्योगलाई उठाउनु पर्छ भनेर नै सरकारले अध्यादेशसमेत ल्याएको छ ।”

उहाँले नेपाल सरकारको लगानीले मात्रै औद्योगिक पूर्वाधार निर्माण सम्भव नहुने भएका कारण त्यसका लागि सरकारले लगानीकर्ताको खोजी गर्ने बताउनुभयो। “सरकारले जारी गरेको अध्यादेशले यस्ता धेरै कुरालाई समेटेको छ”, उहाँले भन्नुभयो, “लगानीको वातावरण र सेज अध्यादेशमा समावेश छन् ।”

मन्त्रीले रुग्न उद्योगलाई पनि अगाडि बढाउने सरकारले जमर्को गरिरहेको बताउनुभयो । यसैगरी युवा रोजगारी वृद्धिका लागि सरकारले नीतिगत कुरामा सुधार गरिरहेको बताउनुभयो । उहाँले कञ्चनपुरमा दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माणको प्रक्रियालाई नेपाल सरकारले अगाडि बढाइसकेको उल्लेख गर्नुभयो । “भारत सरकारले ठेक्काको सूचना निकाल्ने बित्तिकै ड्राइपोर्ट निर्माण क्षेत्रमा कटान गर्नु पर्ने रुख कटानको काम सुरु हुन्छ”, उहाँले भन्नुभयो । सुख्खा बन्दरगाह बनेमा बाह्य देशसँगको आयात निर्यात सहज बन्ने मन्त्रीको भनाइ थियो । 

उहाँले कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र (सेज) र कञ्चनपुरमा दैजी छेला उद्योग निर्माण कार्यलाई सरकारले क्रमिक रूपमा अगाडि बढाउने बताउनुभयो । 

यसैगरी पत्रकारको एक जिज्ञासाको जवाफमा मन्त्री भण्डारीले एमसिसी परियोजना स्थगित भएमा कतिपय योजनामा प्रभाव पर्ने भए पनि सरकारले त्यसलाई व्यवस्थापन गर्ने बताउनुभयो । “कतिपय आयोजना चलिरहेका र बजेटरी सिस्टममा समावेश भएकाले एमसीसी स्थगितले त्यस्ता योजनामा प्रभाव त पर्ने नै भयो”, उहाँले भन्नुभयो, “तर, सरकारले यसलाई व्यवस्थित गर्छ ।”

मन्त्री भण्डारीले सरकारको कार्य सम्पादनमा हिजोको भन्दा अहिले अलि सुधार भएको जिकिर गर्नुभयो । उहाँले कार्य सम्पादनकै विषयलाई लिएर सरकारका कुनै पनि मन्त्री डेन्जर जोनमा नरहेको उल्लेख गर्नुभयो ।