फागुन ७ गते ! आजको दिनले शासकका पटाङ्गिनीमा बज्ने बिगुलको इसारामा मात्र घरबाहिर निस्कन र भित्र छिर्न पाइने निरङ्कुश परम्परा सम्झाउँछ । आफ्नै नागरिकले राजधानी काठमाडौँ छिर्नसमेत ‘भिसा’ लिनुपर्ने र तानाशाही शासकका वैध/अवैध सन्तानका लागि भव्य महल ठड्याउन सयौँ नागरिकलाई रैतान भन्दै झाराको उर्दी लगाएर जबरजस्ती श्रम शोषण गर्नेको इतिहास सम्झाउँछ ।
फागुन ७ गते ! आजको दिन हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण सङ्घर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्याएको दिन हो ।
गौरवपूर्ण एवं ऐतिहासिक यस दिनमा सर्वप्रथम म सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीमा ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । जहानियाँ राणातन्त्रको बर्बरताविरुद्ध आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठसहित सम्पूर्ण अमर सहिदप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।
नेपाली लोकतान्त्रिक आन्दोलनको इतिहासमा केही दिनहरू विशेष छन्– चैत २६, वैशाख ११, जेठ १५ र असोज ३ । निर्दलीयताको समाप्ति, लोकतन्त्र, गणतन्त्र र सङ्घीयतासहितको संविधान प्राप्तिमा यी दिनको विशेष महत्व छ । प्रत्येक दिनले एकपछि अर्को गर्दै जनतालाई सार्वभौम बनाएका छन्, थप अधिकार दिलाएका छन् तर ती सबै दिनभन्दा युगान्तकारी महत्व फागुन ७ गतेले राख्छ ।
२००७ साल फागुन ७ गते ! नेपालको इतिहासमा यस्तो सन्धिकाल हो; जसले हाम्रा पुर्खालाई हुकुमी शासनको क्रूर जन्जिरले बाँधिएको घना रातबाट स्वयम्को विवेकले चल्ने स्वतन्त्रताको न्यानो बिहानीमा पुर्याएको यातनादायी, कहालीलाग्दो तर साहसिक लामो यात्राको स्मरण गराउँछ ।
फागुन ७ गतेले हाम्रो, खेर गएको सिङ्गो शताब्दीको स्मरण गराउँछ । विज्ञान–प्रविधिमा संसारले फड्को मारिरहँदा नेपालमा भने जहानियाँ शासकको एउटा सन्की आदेशले अन्वेषणमा लाग्ने प्रतिभाको हात काटिएको घटनाको स्मरण गराउँछ । सत्यतथ्य बोल्नेको जिब्रो थुतेर पातमा राखिएको, आँखा फोरिएको र नवप्रवर्तनमा लाग्नेहरूको जात काडिएको जस्ता पीडादायी घटनाहरूको याद गराउँछ ।
फागुन ७ गते ! आजको दिनले शासकका पटाङ्गिनीमा बज्ने बिगुलको इसारामा मात्र घरबाहिर निस्कन र भित्र छिर्न पाइने निरङ्कुश परम्परा सम्झाउँछ । आफ्नै नागरिकले राजधानी काठमाडौँ छिर्नसमेत ‘भिसा’ लिनुपर्ने र तानाशाही शासकका वैध/अवैध सन्तानका लागि भव्य महल ठड्याउन सयौँ नागरिकलाई रैतान भन्दै झाराको उर्दी लगाएर जबरजस्ती श्रम शोषण गर्नेको इतिहास सम्झाउँछ ।
हाम्रो इतिहासको पुरानो कालखण्डमा दौड प्रतिस्पर्धाबाट राजा छान्ने युग थियो तर दौडमा समेत झेल गरी शासन हत्याउने र शासनाधिकार आफ्नै वंशमा राख्ने षड्यन्त्रकारीको कुरूप अनुहारलाई पनि यस दिनले सम्झना गराउँछ । यसरी फागुन ७ गतेले शासनको स्वरूप मात्रै फेरेको होइन, हुकुमी निगाहबाट हुने पजनी फेरेर निजामती प्रशासनको जग हाल्यो । योजनाबद्ध विकासको थालनी गर्यो । सार्वभौम समानताका आधारमा मित्रराष्ट्रहरूसँग कूटनीतिक सम्बन्धको सुरुवात गर्यो ।
समग्रमा फागुन ७ ले मुलुकलाई सबै हिसाबले स्वतन्त्र र सार्वभौम बनाउने दृढ सङ्घर्ष अघि बढायो । यसरी हामी फागुन ७ लाई प्रजातन्त्र दिवसका रूपमा मनाउँछौँ । सहिदहरूको महान् त्यागलाई सम्झन्छौँ । नयाँ पुस्तालाई, उनीहरूको उज्ज्वल भविष्यका लागि, पुर्खाले भोगेको हन्डर, ठक्कर तथा बलिदान र समर्पणको महान्–गाथा स्मरण गराउँछौँ ।
प्रजातन्त्रको उज्यालोमा हुर्किएको, अत्याधुनिक सूचना प्रविधिमार्फत अनलाइन सेवा लिने बानी परिसकेको आजको पुस्ताका लागि हिजोको शासनको त्यो क्रूरता– अनुभव होइन, कथा मात्र हो !
तसर्थ, हाम्रो भविष्यका रूपमा उदाउँदै गरेको भोलिको पुस्ताले यो दिन, बिर्सनै नमिल्ने दिन हो !
पुस्तान्तरको समयचापले कहिलेकाहीँ न्यानो दिनमा रहेका बेला समाजले त्यस कालरात्रिको क्रूरतम् स्मृतिलाई गुमाउन पुग्छ र भन्छ– ‘प्रजातन्त्रले के गरेको छ ? ! त्यसले त अझै राणाकालका दरबारहरूबाट निर्वाह गरिरहेको छ !’
जहानियाँ शासकले आफ्ना सन्तानका लागि दरबार बनायो, प्रजातन्त्रले जनताका लागि सडक, पुल, कुलो, बिजुली, व्यावसायिक व्यापार केन्द्र, अस्पताल र विद्यालय बनायो । निरङ्कुश शासनले आफ्नो अभिजातीय विलासका लागि बनाएका संरचना र लोकतन्त्रले नागरिकको जीवनमा परिवर्तन ल्याउन बनाएका संरचनाको तुलना वस्तुगत र तथ्यगत हुन सक्छ र ? ! यसलाई आजको पुस्ताले असान्दर्भिक तुलनाबाट होइन, विवेकको तराजुमा राखेर तौलनु पर्छ ।
निरङ्कुश शासनको कहालीलाग्दो रात पार गरी लोकतान्त्रिक अधिकार उपभोग गरिरहेको हाम्रो समाजले पूर्वाधार विकासमा तुलनात्मक फड्को मारेको छ । सामाजिक सुरक्षाका प्रबन्ध विस्तार भएका छन् । सामाजिक न्यायमा प्रगति गरेको छ । समाज, हुकुमी जन्जिरले बाँधिएको अवस्थाबाट सूचना प्रविधिको सञ्जालमा जोडिएको छ । यसको प्रयोगमार्फत आफूलाई निर्बाध अभिव्यक्त गर्ने स्वतन्त्रताको राजमार्गमा पुगेको छ । स्वतन्त्रताको यही राजमार्गमा यात्रारत यी यात्रीहरूको विवेकले हुकुमी जन्जिरको औचित्य साबित गर्न सक्दैन भन्नेमा म विश्वस्त छु ।
१०४ वर्ष लामो निरङ्कुश जहानियाँ तन्त्रको अन्त्यपछिको ७५ वर्षमा अनेक आरोह/अवरोहबिच छरिएको लोकतन्त्रको उज्यालोमा नै हामीले मुलुकलाई विपन्नबाट सम्पन्नतातिर, विकासोन्मुखबाट विकसित राष्ट्रतिर र असमानताबाट समानतातिर लैजान थालेका हौँ ।
– राष्ट्रको समृद्धि प्रत्यक्षतः जनताको सुख, सन्तुष्टि र खुसीसँग जोडिएको हुन्छ ।
– सम्पन्नताको यात्रा अनवरत चलिरहन्छ ।
‘राष्ट्रको समृद्धि र जनताको सुख’ लाई मैले ‘परिपूर्ण लोकतन्त्र’ भन्ने गरेको छु । चलनचल्तीमा भनिने प्रजातन्त्रले ‘सङ्गठन र अभिव्यक्तिको स्वतन्त्रता’ को मात्र वकालत गर्यो । परिपूर्ण लोकतन्त्रले सबैलाई ‘अधिकार र अवसर, समानता र सामाजिक न्याय, सुरक्षा र सम्मान’ मा समान पहुँचको पैरवी गर्छ । समृद्धि भनेको समग्र विकास हो, सुख भनेको व्यक्तिको मानवीय र जैविक न्यायोचित आवश्यकताको सहज परिपूर्ति हो ।
हामी त्यसतर्फ इमानदारीपूर्वक हिँडिरहेका छौँ ।
– बढ्दो जनआकाङ्क्षा र चुनौतीहरूबिच, राज्यको संस्थागत र सामथ्र्यबिच लय मिलाएर सङ्गतिपूर्ण ढङ्गले अगाडि बढिरहेका छौँ ।
हाम्रो युवा पुस्ता देशको भविष्य हो । उनीहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमको अवसर उपलब्ध गराउन र ‘स्टार्टअप’ मार्फत उद्यमशीलताको थालनी गरिएको छ । युवालाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने यस सरकारको नीति छ ।
– लोकतन्त्रको खुला मैदानमा नै जनताको जीवनमा प्रगति भएको छ तर हाम्रा चुनौती अझै बाँकी छन् ।
– लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै, समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचार हटाउँदै हामी ती चुनौतीलाई चिर्ने छौँ ।
लोकतन्त्रको उज्यालोकै कारण आज हामीले डिजिटल माध्यमबाट नागरिकलाई शीघ्र सार्वजनिक सेवाको थालनी गर्न सकेका हौँ; जसले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाउन सुरु गरेको छ । सन् २०२६ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति गर्ने र त्यसको दिगो व्यवस्थापनका लागि आर्थिक सूचकहरूको बढोत्तरी गर्ने आधार पनि लोकतन्त्र नै हो । सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिल गर्ने अभियानमा हामी हाम्रा हरेक क्षण, सम्भावना र सामथ्र्यको सदुपयोग गरिरहेका छौँ । यसबाटै हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सफल हुने छौँ ।
फागुन ७ गतेले
– सम्पूर्ण नेपालीलाई इतिहासप्रति गौरव गर्न,
– वर्तमानमा क्रियाशीलले जिम्मेवारी निर्वाह गर्न र
– भविष्यप्रतिको उत्तरदायित्वलाई सामाजिक सम्पत्तिका रूपमा पुँजीकृत गर्न अभिप्रेरित गरिरहने छ ।
अन्त्यमा
फागुन ७ गते, नेपाली जनताको प्रजातान्त्रिक हक अधिकार स्थापनाका लागि विगतमा भएका अथक र अनवरत सङ्घर्षमा आफूलाई समाहित गर्ने वीर/वीराङ्गनाहरूको स्मरण गर्ने दिन पनि हो । प्रजातन्त्र स्थापनाको हाम्रो सङ्घर्षपूर्ण इतिहासलाई स्मरण गर्दै त्यस सङ्घर्षमार्फत जनताले चाहेको राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिको आकाङ्क्षा साकार पार्न सङ्कल्प गर्ने दिन पनि हो ।
जहानियाँ निरङ्कुश शासनप्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित गरेको यस ऐतिहासिक दिनको स्मरणमा आयोजित यस विशेष समारोहमा म पुनः एक पटक नेपालको लोकतान्त्रिक आन्दोलनमा अमूल्य जीवन बलिदान गर्ने सम्पूर्ण अमर सहिदप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । मुलुकको सुशासन, विकास, समृद्धि र जनताको सुखको सुनिश्चितताका लागि प्रभावकारी शासनप्रणाली र सुव्यवस्थाको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा म हार्दिक आह्वान गर्दछु ।
धन्यवाद !
(प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसका अवसरमा आयोजित विशेष समारोहलाई गर्नुभएको सम्बोधनको पूर्ण पाठ)