धर्बेन्द्र झा
जनकपुरधाम, फागुन ७ गते। जलवायु परिर्वतनका कारण कृषिका साथसाथै पशुपालनको क्षेत्रमा समेत विभिन्न खालका प्रभाव पर्न थालेकाले पशुपालकले अगामी दिनमा जलवायु सहनशील पशुपालन अभ्यासलाई अपनाउनु पर्नेमा विज्ञले जोड दिएका छन्।
एफ.ए.ओ.को सहयोगमा केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघ लिमिटेड नेपालले धनुषाको नक्टाझिझमा आयोजना गरेको जलवायु स्मार्ट डेरी उत्पादन अभ्यासको प्रयोग सम्बन्धी सरोकारवालाको अन्तरक्रिया कार्यक्रममा विज्ञले यस्तो बताउनुभएको हो।
कार्यक्रममा विषय विज्ञ श्याम यादवले जलवायु परिवर्तनका कारण तापक्रम अधार रेखा भन्दा एक डिगरी सेल्सियसले बढ्दा पशुको फिड इन्टेक करिब तीन प्रतिशतदेखि पाँच प्रतिशतसम्मले घटाउने गरेको कारण खर्चमा वृद्धि र दूध उत्पादन घटने गरेको बताउनुभयो।
कार्यक्रममा पशु विज्ञ एवम् दुग्ध विकास बोर्ड मधेश प्रदेशका उपाध्यक्ष डा. शम्भू साहले जलवायु परिवर्तनका कारण पशुमा आन्तरिक परजीवीको संक्रमण बढ्ने र तापक्रमले भेक्टरबोर्न रोगको सम्भावना रहने गरेको भन्दै पशुपालकले दिगो पशुपालन विधि अपनाउँदा हरितगृह ग्यास उत्सर्जन घटाउन र जलवायु परिवर्तनका असरलाई कम गर्न मद्दत गर्ने बताउनुभयो ।
केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघ लिमिटेड नेपालका अध्यक्ष बलराम अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघ लिमिटेड नेपालका वरिष्ठ उपाध्यक्ष नथुनी यादव, हेफर इन्टरनेशनलका प्रविण सिंह सहितकाले जलवायु परिवर्तनबाट पशुपालन र डेरी उत्पादनमा देखिएको असरबाट जोगिने योजनाबद्ध रुपमा काम गर्नुपर्नेमा जोड दिएका थिए।कार्यक्रममा धनुषाको विभिन्न पालिकाका पशुपालक किसान र डेरी संचालकको सहभागिता रहेको थियो ।