बाबुराम कार्की
वराहक्षेत्र, फागुन ६ गते । डेढ दशकअघि परबलको उत्पादन बढी हुने सुनसरीको श्रीलङ्का टापु क्षेत्रमा अहिले गोलभेँडा धेरै उत्पादन हुन थालेको छ । अहिले श्रीलङ्का टापु क्षेत्रबाट दैनिक १० टन गोलभेँडा धरान कृषि उपज बजार स्थलमा पुर्याइने गरेको छ ।
टापु क्षेत्रमा गोलभेँडा उत्पादन बढेसँगै पूर्वी नेपालमा दैनिक आयात हुँदै आएको भारतीय गोलभेँडालाई समेत प्रतिस्थापन गरेको धरान कृषि उपज बजार स्थलका प्रबन्धक लक्ष्मण भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्षसम्म धरान कृषि उपज बजार स्थलमा दैनिक पाँचदेखि १० टन भारतीय टमाटर आयात हुँदै आएको थियो । यस पटक श्रीलङ्का टापुका किसानले उत्पादन गरेको गोलभेँडाले भारतीयलाई विस्थापित गरेको छ ।” पहिला भारत र झापाबाट धरान बजारमा गोलभेँडा आउने गरेकोमा यस पटक भने टापुकै गोलभेँडाले बजार लिइरहेको छ ।
कम विषादीको प्रयोग र अर्गानिक रूपमा टमाटर उत्पादन भएकाले पनि बजारमा त्यसको माग बढेको उहाँले बताउनुभयो । धरान कृषि उपज स्थलमा दैनिक गोलभेँडा, फूलकोपी, बन्दाकोपी, भेडेखुर्सानी, अकबरे खुर्सानी, बेसार, साग, काँक्रा, इस्कुस, बोडीलगायतका एक सय टन तरकारीको दैनिक कारोबार हुने गरेको छ । उपज स्थलमा व्यापारीले सङ्कलन गरेको तरकारी पहाड र मधेशका जिल्लामा जाने गरेको धरान उपज केन्द्रले जनाएको छ ।
गहुँ, मकै, कोदो, बदाम, तरकारी, उखु, बेसार लगाएर जीविका चलाउँदै आएका टापुवासी गोलभेँडा खेतीबाट राम्रो आम्दानी हुने भएपछि व्यावसायिक रूपमै उन्नत जातको गोलभेँडा खेतीमा लागेको टापुका कृषक अनिल चन्द्रवंशीले बताउनुभयो । एक बिघा क्षेत्रफलमा गोलभेँडा खेती लगाउनुभएका उहाँले १० लाख रुपियाँको बेचेको बताउनुभयो ।
धरान कृषि उपज बजार स्थलबाट आउने व्यापारीले बारीबाटै गोलभेँडा खरिद गरिदिँदा किसानले उत्पादन गरेको गोलभेँडा सहज रूपमा बिक्री हुँदै आएको छ । टापुमा उत्पादन भएको गोलभेँडा अरूभन्दा राम्रो भएकाले उपभोक्ताको रोजाइमा समेत टापुको गोलभेँडापर्ने गरेको धरान कृषि उपज केन्द्रले जनाएको छ । श्रीलङ्का टापु क्षेत्रमा २० बिघाभन्दा बढी क्षेत्रफलमा किसानले व्यावसायिक रूपमा गोलभेँडा खेती गर्दै आएका छन् ।
गोलभेँडा खेतीमा मल्चिङ प्रविधिसहित बाँस, धागो, मल, विषादी, भिटामिन, जोताइसहित प्रतिबिघा चार लाख रुपियाँ लगानी गरेका कृषकले १५ देखि २० लाखभन्दा बढीको गोलभेँडा बिक्री गर्दै आएको कृषक रोशिक चन्द्रवंशीले बताउनुभयो ।
दैनिक बजार भाउ अनुसार व्यापारीहरू कृषकको खेतमै पुगी मूल्य निर्धारण गरेर खरिद गरिदिँदा किसानले राम्रो भाउ पाएको अर्का कृषक अर्जुन चन्द्रवंशीले बताउनुभयो । कृषक अर्जुनले तीन बिघा, सत्यनारायण चन्द्रवंशीले एक बिघा, रोशिक चन्द्रवंशीले एक बिघा १० कट्ठा, प्रताप चन्द्रवंशी, लक्ष्मी चन्द्रवंशीले एक बिघामा गोलभेँडा खेती लाउने प्रतिनिधि किसान मात्र हुन् ।
किसानले बारीबाटै व्यापारीलाई पहिलो टिपाइमा प्रतिकेजी ८० रुपियाँका दरले गोलभेँडा बिक्री गरेको कृषक रोशिक चन्द्रवंशीले बताउनुभयो । पछिल्लो समय पनि कृषकले प्रतिकेजी २० रुपियाँका दरले व्यापारीलाई बिक्री गर्दै आएका छन् ।
वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६, ९ र बेलका नगरपालिकाको २ र ३ वडामा पर्ने श्रीलङ्का टापु उर्वर भूमि भएकाले उब्जनीका लागि राम्रो मानिन्छ । नदीको बिच भागमा रहेको टापु क्षेत्रमा मुख्यतः कृषि र पशुपालन व्यवसाय गर्दै आएका छन् । टापु क्षेत्रको अनुकूल वातावरणका कारण कृषि उपज र पशुपालनका लागि उपयुक्त भएकाले गोलभेँडा खेती फस्टाएको कृषक सत्यनारायण चन्द्रवंशी बताउनुहुन्छ ।