सलिम मियाँ
बिजुवार, फागुन ५ गते । आजदेखि प्युठान जिल्लाको ऐतिहासिक भित्रीकोट दरबार हुलाक टिकटमा अंकित भएको छ । हुलाक सेवा विभागले १० रुपियाँ मूल्य रहेको भित्रीकोट दरबार अंकित हुलाक टिकट प्रकाशनमा ल्याएको हो ।
सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले भित्रीकोट दरबार अंकित टिकटमा टाँचा लगाई प्रचलनमा ल्याउनुभएको छ । प्युठान नगरपालिकाका नगर प्रमुख विष्णु योगीले हुलाक टिकटको प्रकाशनले भित्रीकोट दरबारको ऐतिहासिक र सांस्कृतिक महत्वलाई उजागर गर्न मद्दत पुर्याउने बताउनुभयो । साथै, यसले प्युठान जिल्लाको ऐतिहासिक धरोहरलाई देशभर चिनाउने अवसर पनि सिर्जना गर्ने अपेक्षा गरिएको नगर प्रमुख योगीको भनाइ छ ।
चौबीसे राज्य मध्येको शक्तिशाली मानिने जिल्लाकै ऐतिहासिक स्थल भित्रीकोट दरबार आन्तरिक पर्यटकको गन्तव्यका रुपमा परिचित छ ।