• ८ फागुन २०८१, बिहिबार

कार्य सम्पादनमा भानु नगरपालिका उत्कृष्ट

blog

भानु नगरपालिकाको कार्यालय भवन । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, फागुन ४ गते । स्थानीय तह कार्यसम्पदानमा तनहुँका दश पालिकामध्ये भानु नगरपालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको मूल्याङ्कनको अन्तिम नतिजा अनुसार भानुले ७१.४ अङ्क प्राप्त गरी जिल्लामा पहिलो भएको हो ।

भीमाद नगरपालिकाले ६८.४ अङ्क प्राप्त गरी दोस्रो भएको छ । व्यास नगरपालिकाले ५६.४ अङ्क पाएको छ । शुक्लागण्डकीले ५२.४ अङ्क पाएको छ । गाउँपालिकातर्फ बन्दीपुरले ५९.८ अङ्क, म्याग्देले ५९.५ अङ्क, ऋषिङले ५६.३ अङ्क, आँबुखैरेनीले ५६ र घिरिङले ४३.२ अङ्क पाएको छ ।  

आर्थिक वर्षको राजस्व र आय–व्ययको अनुमान समयमा नगर तथा गाउँसभामा पेस गरे नगरेको देखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा सङ्घमा पठाउनुपर्ने राजस्व समयमा पठाए नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचाङ्कमा मूल्याङ्कन हुने गर्दछ ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कनमा कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्याङ्कन गरेको छ । जसमा असार १० भित्र बजेट पेस गरे नगरेको, असार मसान्तभित्र बजेट पारित गरे नगरेको, आय व्यायको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे नगरेको, बजेटको वार्षिक समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे नगरेको जस्ता सूचक राखेको छ । 

त्यस्तै विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सुत्र प्रयोग भए नभएको जस्ता सूचकका आधारमा मूल्याङ्कन गरिएको हो ।

यसैगरी स्वास्थ्य र शिक्षालाई पनि मुख्य सूचकको रूपमा लिदै गर्भवती महिलाको ४ पटक गर्भ जाँच गरेको महिलाको अनुपात, पूर्ण खोप लगायतका बालबालिका र शिक्षामा सामुदायिक विद्यालयमा कक्षा १० मा १.६ भन्दा बढी जिपिए प्राप्त गरेका विद्यार्थी कक्षा ८ भन्दा बढी कक्षा ९ मा विद्यार्थी टिकाउ दर लगायतका सूचकहरू छन् ।

वित्त आयोगले वित्तीय अनुदान दिँदा स्थानीय तहको कार्य सम्पादनलाई पनि हेरेर सिफारिस गर्नका लागि कार्यसम्पादन मूल्याङ्कन हेर्ने गरिएको छ ।