अविनाश चौधरी
धनगढी, फागुन ३ गते । सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतका चार वटा संसदीय समितिको सभापतिका लागि उम्मेदवारी दर्ता भएको छ । प्रदेश सभा सचिवालयले तय गरेको निर्वाचन कार्यतालिका अनुसार चार समितिको सभापतिका लागि चार जनाको उम्मेदवारी परेको हो । सामाजिक विकास समितिको सभापतिमा नेकपा (एमाले) का धर्मराज पाठकले उम्मेदवारी दिनुभएको छ ।
यस्तै, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी, सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र) का अक्कलबहादुर रावल र विशेषाधिकार समितिको सभापतिमा नेपाली कांग्रेसका तुल्सी देवकोटाले उम्मेदवारी दिनुभएको छ ।
भोलि उम्मेदवारीउपर दाबी विरोध, अन्तिम नामावली प्रकाशन र निर्वाचन हुने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेश सभामा विशेषाधिकार समिति थप गरिएपछि पाँच विषयगत समिति भएको छ । विधायन तथा प्रदेश मामिला समितिबाहेक बाँकी चार वटा संसदीय समितिहरू सभापतिविहीन छ ।