• ४ फागुन २०८१, आइतबार

कङ्गोको युद्ध रोक्न राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसद्वारा आग्रह

blog

अदिस अबाबा (इथियोपिया), फागुन ३ गते । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले रुवान्डासमर्थित लडाकूहरूले डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) को दोस्रो प्रान्तीय राजधानी कब्जा गरेको भोलिपल्ट अफ्रिकी शिखर सम्मेलनमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोको ‘क्षेत्रीय अखण्डता’को सम्मान गर्न र क्षेत्रीय युद्धबाट जोगिन आग्रह गर्नुभएको छ ।

पूर्वी कङ्गोमा जारी द्वन्द्व रोक्न रुवान्डामाथि अन्तर्राष्ट्रिय दबाब बढेसँगै अदिस अबाबामा सुरु भएको अफ्रिकी युनियनको शिखर सम्मेलनमा द्वन्द्वले चर्चा पाउने निश्चित थियो ।

रुवान्डाका राष्ट्रपति पल कगामे उक्त भेलामा सहभागी भए पनि डिआर कङ्गोका राष्ट्रपति फेलिक्स शिसेकेदी आफ्नो देशमा एम–२३ भनिने मार्च २०२३ अभियान अघि बढेपछि उक्त भेलामा अनुपस्थित हुनुभएको छ ।

गत महिना उत्तरी किवुको प्रमुख प्रान्तीय राजधानी गोमा कब्जा गर्न कङ्गोली सेनालाई परास्त गरेपछि रुवान्डा समर्थित सशस्त्र समूहले छिमेकी दक्षिण किवुमा आक्रमण गरेको थियो ।

सुरक्षा तथा मानवीय स्रोतका अनुसार शुक्रबार अर्को महत्त्वपूर्ण सहर बुकावुमा अनियन्त्रित रूपमा प्रवेश गर्नुअघि त्यहाँको एक महत्त्वपूर्ण विमानस्थललाई विद्रोहीले कब्जामा लिएका थिए ।

‘‘एम–२३ आन्दोलनको निरन्तरताका कारण दक्षिण किवुमा जारी द्वन्द्वले पूरै क्षेत्रलाई नै धरापमा पार्ने खतरा छ,” गुटेरेसले रुवान्डाको नाम उल्लेख नगरिकन शिखर सम्मेलनलाई सम्बोधन गर्दै नेताहरूसँग भन्नुभयो । 

उहाँले भन्नुभयो, “क्षेत्रीय तनावलाई कुनै पनि हालतमा रोक्नुपर्छ ।” उहाँले अगाडि भन्नुभयो, “वार्ता सुरु हुनैपर्छ । डीआरसीको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्नैपर्छ ।”

पूर्वी डीआरसीमा क्षेत्रीय द्वन्द्व बढ्दै जाँदा अफ्रिकी सङ्घ (एयू)को डरपोकपूर्ण दृष्टिकोणको आलोचना भएको छ र पर्यवेक्षकहरूले थप निर्णायक कदम चाल्न उससँग माग गरेका छन् ।

युरोपेली सङ्घ (इयू) ले शनिबार बुकावुको समाचारपछि सबै विकल्पमा तत्काल विचार गरिरहेको बताएको छ । “डीआरसीको क्षेत्रीय अखण्डताको निरन्तर उल्लङ्घन अनुत्तरित हुनेछैन,” विज्ञप्तिमा भनिएको छ ।

पूर्वी र दक्षिणी अफ्रिकी नेताहरूले फेब्रुअरी ८ मा पाँच दिनभित्र ‘तत्काल र बिनाशर्त’ युद्धविराम गर्न आह्वान गरेका थिए ।

एयू आयोगका निवर्तमान अध्यक्ष मौसा फाकी महमतले शुक्रबार एएफपीसँग कुरा गर्दै ‘युद्धविरामको पालना गर्नैपर्छ’ भन्दै अफ्रिकी राष्ट्रहरूबीच झडप रोक्न ‘सामान्य जनशक्ति परिचालन’ भइरहेको बताउनुभयो ।

सम्मेलनका आयोजक इथियोपियाका प्रधानमन्त्री अबी अहमदले द्वन्द्व समाधान, कूटनीति र शान्ति स्थापना आफूहरूको प्रयासको केन्द्रविन्दुमा रहनुपर्नेमा जोड दिनुभएको छ । 

शुक्रबार साँझसम्म चलेको द्वन्द्वप्रति समर्पित एयूको शान्ति तथा सुरक्षा परिषद्को बैठकमा कागामे र सिसेकेडी सहभागी हुनुभएको छैन । रासस/एएफपी