गुणबहादुर रोका
सुलीकोट, फागुन ३ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका– ४ लाप्राकमा शनिबार हरेक वर्ष जस्तै यस वर्ष पनि मकै बिहे सम्पन्न भएको छ । बिहे नगरीकन मकै रोप्न हुन्न भन्ने धार्मिक र सांस्कृतिक मान्यतका साथ मकै विवाह गरिएको हो ।
‘‘लाप्राक ४ का वडाध्यक्ष किसान गुरुङले ज्यातिषेले झिकेको लगन अनुसार माघ शुक्ल पूर्णिमाको दिन पारेर मकै बिहे गरिएको छ ।,’’ उहाँले भन्नु भयो, “मकैको बिहे गरेपछि मात्र बारी खन्ने, जोत्ने र मकै रोप्ने काम सुरु हुन्छ उहाँले भन्नु भयो ।”
मकैको उब्जनी राम्रो होस्, कुनै पनि रोग नफैलियोस् र असिना पानीले नष्ट नगरोस् भनेर मकै विवाह गर्ने चलन रहिआएको लाप्राक ४ का वडाध्यक्ष गुरुङको भनाइ छ ।
बिहेको अघिल्लो दिन केहि थान घोगा मकै जमिनमा गाडेर राख्ने चलन रहेको छ । विवाहका दिन बिहानैदेखि गाउँभरिका मानिसहरू लाप्राकको ठुलौ आँगनमा जम्मा भएर एक जना बालकलाई डोलीमा राखेर ढयाङग्रो, मादल र झ्याली लगायतका बाजागाजासहित जन्ती जाने गर्छन् ।
ठुलो आँगनबाट मनिडाँडा हुँदै केहि पर जङ्गलमा बेहुलीका लागि बनाएको सानो झुप्रो घरमा कन्या राखेको ठाउँमा जन्ती पुग्छ र जन्तीले ती कन्यालाई लिएर पुन बाजागाजा सहित लाप्राक गाउँभरी नै परिक्रम गर्छन् ।
जन्ती जाँदा लगेको एक एक घोगा मकै एकै ठाउँमा थुप्रो लगाइन्छ । त्यस मकैलाई गोबर, तितेपाती र सुनपानीले चोख्याउने चलन छ । यहि मकैलाई अरू बिउमा मिसाएर गाउँका सबै किसानले बारीमा मकै रोप्ने चलन स्थानीय डिलबहादुर गुरुङको भनाइ छ ।
लाप्राकको प्रख्यात ठुलो आँगनमा पुगेपछि नाचगान गरी भुटेको मकैको भोज खाएपछि साँझ अबेर सम्म घाटु नाचसँगै मकै विवाह समापन हुने छ । यो लाप्राकको सबैभन्दा पुरानो परम्परा हो, यसपछि मात्र मकैको बाली लगाउन सुरु हुन्छ । बिहे नगरी मकै लाउँदा अशुभ हुन्छ भन्ने मान्यता रहेकोमा बर्सेनी माघ १५ देखि फागुन १५ गतेसम्म लगन जुराएर मकै बिहे गर्ने चलन छ ।
वर्षको एक पटक माघ शुल्क पूर्णिमाको दिनमा मनिका देवीको मन्दिरमा सिङ्गो लाप्राकवासीहरूले पूजा पाठ गरेर १ बटा बोकाको बलि दिइने पनि पुरानो प्रथा रहिआएको स्थानीय गुरुङले बताउनुभयो । उत्तरी गोरखावासीको यो एउटा प्राकृतिक पूजा भएकाले हरेक वर्ष उत्तरी गोरखाको धार्चे गाउँपालिका भित्रका लाप्राक, गुम्दा, सिङला उहिया, खोर्ला लप्सीबोट, खानीगाउँ, यमगाउँ, लापु गाउँमा मकै बिहे गर्ने पुरानो चलन रहिआएको बताइएको छ ।