खान युनिस (प्यालेस्टिनी क्षेत्र), फागुन ३ गते । गाजास्थित इस्लामिक लडाकू समूह (हमास)ले शनिबार थप तीन जना इजरायली बन्धकहरूलाई रिहा गर्दै रेडक्रसको जिम्मा लगाएका छन् ।
बदलामा शनिबार नै इजरायली हिरासतबाट ३६९ जना प्यालेस्टिनीहरूलाई रिहा गरिनेछ ।
हमासका नकाबधारी लडाकूहरूले गाजाको दक्षिणी सहर खान युनिसको एक मञ्चमा बन्धकहरूलाई परेड गराएपछि उनीहरूलाई रेडक्रसलाई हस्तान्तरण गर्नुअघि भीडलाई सम्बोधन गर्न भनिएको थियो ।
आफ्ना अपहरणकारीहरूले दिएको उपहारको झोला र आफ्नो कैदको अन्त्यको प्रमाणपत्र समातेर लडाकुहरूको साथमा रहेका तीनै जनाले युद्धविराम सम्झौताअन्तर्गत थप बन्धक आदानप्रदान पूरा गर्न आह्वान गरेका थिए ।
गत जनवरी १९ मा इजरायल र हमासबिच भएको युद्धविराम सम्झौता भङ्ग हुन लागेको आशङ्कापछि शुक्रबार दुवै पक्षले शनिबारको अदलाबदली अघि बढ्ने सङ्केत दिएका छन् । यो बन्धक तथा कैदी आदानप्रदानको छैटौँ समूह हो ।
हमास र इस्लामिक जिहादका स्रोतका अनुसार उक्त समूहले करिब २०० लडाकूलाई सुपुर्दगी समारोहका लागि तैनाथ गरेको थियो ।
तेल अभिवको ‘होस्टेज स्क्वायर’मा पनि भीड जम्मा भएको थियो र धेरैले इजरायली झण्डा र पोस्टर बोकेका थिए ।
यसअघि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजाका लडाकुले कब्जामा लिएका अमेरिकी मूलका इजरायली सागुइ डेकेल–चेन, रूसी मूलका इजरायली साशा ट्रुपानोभ र अर्जेन्टिनी मूलका इजरायली याइर होर्नलाई रिहा गर्न लागिएको बताएको थियो ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजाका लडाकुले उनीहरूलाई कब्जामा लिएका थिए ।
इजरायलले बदलामा ३६९ कैदीलाई रिहा गर्ने प्यालेस्टाइनी प्रिजनर्स क्लबको वकालत गर्ने एक समूहले जानकारी गराएको छ ।
सम्झौता असफल हुने सङ्घारमा पुगेपछि हमासका एक अधिकारीले युद्धविरामको दोस्रो चरणको वार्ता अर्को हप्ताको सुरुमा हुने अपेक्षा गरिएको छ । रासस/एएफपी