अमरराज नहर्की
तनहुँ, फागुन २ गते। स्थानीय सरकारले रैथाने बालीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएपछि तनहुँको आँबुखैरेनी गाउँपालिकाका किसान १५ वर्षपछि गहुँ खेतीमा फर्किएका छन्।
वडा नम्बर–६ घलडाँडामा किसानले सामूहिक गहुँ खेतीमा फर्किएर उब्जनी गरेका हुन्। गाउँपालिकाले प्रोत्साहन गरेपछि त्यहाँ स्थित घलडाँडा कृषक समूहले २० रोपनीमा सामूहिक रूपमा गहुँ खेती गरी भित्राउन लागेका छन्। योग्य बिउ र आधुनिक कृषि प्रविधिको अभावले बन्द गरिएको खेती गाउँपालिकाले प्रोत्साहन गरेपछि किसानले सामूहिक रूपमा खेती गरेका हुन् ।
सामूहिक खेती गर्दा लागत मूल्य कम पर्ने, जनशक्तिको अभाव नहुने भएकोले प्रोत्साहन गरिएको गाउँपालिकाले जनाएको छ। उन्नत बिउँ र प्राविधिक सहयोगको व्यवस्था गरेपछि किसानको मनोबल उच्च बनाउने काम गरेपछि सामूहिक खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो।
बिउ र प्रविधिमा सहयोग गरेपछि लामो समयपछि गहुँ खेतीमा फर्किएको सो ठाउँकी किसान मिना गुरुङले बताउनुभयो। गाउँको बाँझो जमिनको उपयोगका लागि सामूहिक खेती प्रणालीको विकास र विस्तरमा आफूहरूले योजना बनाइरहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो। गहुँ खेतीका लागि हावापानी उपयुक्त भए पनि जमिन बाँझै हुँदा सामूहिक खेतीको सुरुवात गरिएको गाउँपालिकाले जनाएको छ।
गहुँमा पहेलो सिन्दुरे रोग लागेर उब्जनी कम हुन थालेपछि किसानले खेती छाडेकोले उन्नत बिउ उपलब्ध गराई रोग लागेका प्राविधिक सहयोग गर्ने वचन दिएपछि किसानले सामूहिक रूपमा खेती गरेको कृषि शाखाका प्रमुख सन्तोष केसीले बताउनुभयो। मध्य तथा उच्च पहाडी भेगमा हुने डब्लु के १२२४ जातको गहुँ बिउ एक सय किलो किसानलाई निःशुल्क उपलब्ध गराएपछि खेती सुरु गरेको केसीले जानकारी दिनुभयो। १८९ दिनमा पाक्ने गहुँ भदौको पहिलो साता लगाइएकोमा हाल राम्रो फलेको केसी बताउनुहुन्छ।
किसानलाई हौंसला दिनका लागि गहुँ तथा कोदोका लागि प्रयोग हुने मिनि मल्टिपल क्रस थ्रेसर मेसिन सहयोग गर्ने निर्णय भएको केसीले जानकारी दिनुभयो। गहुँबालीमा राम्रोसँग फल लागेकोले आगामी वर्ष क्षेत्रफल बढाउँदै लैजाने सोच आएको समूहले जनाएको छ।