पार्वती खड्का
फोहर व्यवस्थापन गर्ने तौरतरिकाले वातावरण र मानव स्वास्थ्यमा अप्रत्यक्ष–प्रत्यक्ष असर पारिरहेको हुन्छ । मानव सृजित फोहरले वातावरण र पर्यावरणमा पार्ने असर र त्यसले फैलिने रोगव्याधीतर्फ बेलामै ध्यान दिनु बुद्घिमानी हुन्छ । फोहर व्यवस्थापनमा सुरूदेखि विसर्जनसम्म व्यवस्थित प्रक्रिया अपनाइए मात्र यसको असरलाई कम गर्न सकिन्छ । फोहर व्यवस्थापन गर्दा सङ्कलन, ढुवानी, प्रशोधन, पुनः प्रयोग र बिक्री वितरणसम्मका विभिन्न चरण अपनाइएको हुन्छ ।
वातावरण र मानव स्वास्थ्यमा पर्ने नकारात्मक असरलाई कम गर्न र स्रोतहरूको दिगो उपयोग गर्नका लागि फोहरको वर्गीकरण गर्नु अत्यावश्यक हुन्छ । कुहिने, सड्ने फोहर, नसड्ने प्लास्टिकजन्य फोहर, शिशा, रासयनिक र अस्पतालजन्य फोहर तथा जैविक फोहरलाई बेग्लाबेग्लै छुट्याएर त्यसको व्यवस्थापन गर्न सक्नुपर्छ । यही नै दिगो व्यवस्थापनको असल अभ्यास हो । फोेहर व्यवस्थापनले वातावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्छ । फलतः हावा, पानी, र माटोमा हुने प्रदूषणलाई कम गर्दै पारिस्थितिकीय प्रणालीलाई जोगाउँछ भने रोग फैलाउने सम्भावना कम गर्दै जीवनशैली र मानव स्वास्थ्यको पनि रक्षा गर्छ ।
फोहोर व्यवस्थापनले जलवायु परिवर्तन न्यूनीकरणमा उत्तिकै सहयोग गर्छ । फोहोरको दिगो व्यवस्थापनले ल्यान्डफिलको प्रयोग घटाउन र मिथेन उत्सर्जन नियन्त्रण गर्न र हरितगृह ग्यास उत्सर्जन कम गर्न सक्छ । जलवायु परिवर्तनमा नराम्रो भूमिका खेल्छ । विशेषगरी फोहोरको व्यवस्थापन र उत्पादन प्रक्रियामा हरितगृह ग्यास (जिएचजिस) उत्सर्जनको कारणले गर्दा ल्यान्डफिलमा फालिएको जैविक फोहोर अक्सिजनबिना कुहिँदा मिथेन ग्यास (सिएचफोर) उत्पादन हुन्छ ।
जुन कार्बनडाइअक्साइड (सिओटु) भन्दा २५ गुणा बढी तातो समात्न सक्ने खालको हुन्छ । यतिमात्रै नभई फोहोर जलाउँदा (सिओटु) र अन्य प्रदूषक ग्यास हाम्रो वायुमण्डलमा जान्छ र वातावरणीय स्वच्छता हराउँदै जान्छ । विशेषगरी प्लास्टिक र कृत्रिम सामग्री जलाउँदा निस्कने धुवाँले मानव शरीरमा क्यान्सरजस्तो हानिकारक रोगले समात्छ । फोहोर सङ्कलन, यातायात, र प्रशोधन प्रक्रियामा प्रयोग हुने ऊर्जा पनि जिवाष्म इन्धनमा निर्भर भएकाले सिओटु उत्सर्जनमा योगदान गर्छ । खुला फोहोर जलाउँदा ब्ल्याक कार्बन अर्थात् कालो धुलो उत्पादन हुन्छ । यसरी फोहोरको उत्पादन र व्यवस्थापन सही किसिमले नहुँदा यसले जलवायु परिवर्तनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा असर पार्दछ ।
फोहोरको असरलाई कम गर्न फोहोरको उत्पादन घटाउने र पुनः प्रयोग प्रवर्धन गर्ने, फोहोरबाट ऊर्जा निकाल्ने, प्रविधि सुधार गर्ने र खुला फोहोर जलाउन रोक लगाउनेजस्ता धेरै उपायहरू अपनाउन सकिन्छ । सन् २०५० सम्ममा, विश्वमा वार्षिक रूपमा ३.४ अर्ब टन फोहोर उत्पादन हुने अनुमान गरिएको छ । जुन आजको २.०१ अर्ब टनभन्दा धेरै वृद्धि हो । अव्यवस्थित फोहोर व्यवस्थापनले जलवायु परिवर्तनको सङ्कटलाई झन गम्भीर बनाउँछ । जब फोहोर उचित रूपमा व्यवस्थापन गरिँदैन त्यँहाको वातावरणमा कार्बन डाइअक्साइड र मिथेनजस्ता ग्रिनहाउस ग्यासहरूको उत्सर्जन बढाउँछ । यसले पृथ्वीको तापमान बढाउँछ र ग्रिनहाउस प्रभावलाई सघाउँछ । ल्यान्डफिल साइट अर्थात् जहाँ फोहोर बिसाएर राखिन्छ, त्यहाँ थुपारिएको फोहरले मिथेन ग्यास उत्पन्न गर्दछ । मिथेन ग्यासले जलवायु परिवर्तनको प्रक्रियालाई झन मलजल हालेमा बलियो बनाउँदै लैजान्छ । यसरी, अव्यवस्थित फोहोर व्यवस्थापनले वातावरणीय प्रदूषण र जलवायु परिवर्तनको असरलाई अझ गहिरो बनाउँछ (बारबोरा, २०१९)
बन्चरेमा फोहोर
बन्चरेमा संरचना तयार नँहुदासम्म दुई वर्षका लागि अस्थायी डम्पिङ भनेर सिसडोललाई राखिएको थियो । सिसडोलमा करिब १७ वर्ष जति त काठमाडौँ उपत्यकाको फोहोर थुपारियो । २०६२ सालदेखि बन्चरेमा काठमाडौ महानगरपालिका र नुवाकोट जिल्लाका स्थानीय राजनीतिकर्मी र तत्कालीन ओखर्पौवा गाविसविच सम्झौता भएको थियो । सम्झौतामा स्थानीयले नुवाकोटमा विकासका पूर्वाधार जस्तै– सडक, बिजुली उपलब्ध गराउने सर्तमा उपत्यकाको फोहाेर ल्याउन र थुपार्न दिने सम्झौता गरेका थिए । तीनपिप्ले, चाउथे लगायतका सडक खण्डको नाम तोकेर बाटो पक्की गरिदिनुपर्ने उधारो सर्तमा लिखितरूपमै सहमत भएका थिए ।
तर, बिडम्बना स्थानीयको सर्तबमोजिम महानगरले केही पनि काम अगाडि बढाउन आलटाल गरिरह्यो । ओखरपौवावासीले यतिखेर न त विकास पूर्वाधार पूरा बनेको हेर्न पाएका छन् न फोहोरको निकास नै । उपत्यकाको फोहाेरले गर्दा नुवाकोटको बन्चरे र आसपासका गाउँहरू यतिखेर उठ्न नसक्नेगरी थला परेको छ । यस बारेमा सम्बन्धित सरोकारवालासँग केही माग दाबी गर्नुभएको छैन भन्ने प्रश्नमा अध्यक्ष सुमन तामाङले भन्नुभयो, ‘हामी ज्ञापनपत्र लिएर प्रधानमन्त्रीकहाँ कैँयौ पटक पुग्यौँ । भेटमा राम्रैसँग समस्या सुनिदिने गर्नुहुन्छ । तर कार्यान्वयन हुने दिन कहिल्यै आएन ।’ प्रधानमन्त्रीले मन्त्रीलाई काम अह्राउने, मन्त्रीले विभागलाई अह्राउने, विभागले स्थानीय तहलाई अह्राउने गर्दागर्दै हामीलाई अल्मल्याउने काम मात्र भएको छ । ‘अहिलेसम्म ओखर्पौवावासीसँग भएको १८ बुँदे सम्झौता न कार्यान्वयन भएको छ, न ऐन कानुन नै बनेको छ । हाम्रो सवालमा मौलिक हक र मानवअधिकार नै मरेको छ ।’ तामाङले भन्नुभयो ।
बासिन्दाको स्वास्थ्य समस्या
बन्चरेमा ढुगांना, तामाङ, लामिछाने र घिमिरेहरूको बस्ती बढी छ । फोहाेरकै कारण धेरै जनाको स्वास्थ्यमा अनेक समस्या देखिएको छ । घरैपिच्छे क्यान्सरपीडित छन् । एक घर एक क्यान्सरपीडित रहेको स्थानीयको गुनासो छ । गत वर्ष कृष्णप्रसाद लामिछाने, कृष्णप्रसाद घिमिरे र साधुराम लामिछानेलाई क्यान्सर लाग्यो । बन्चरेको सिउडिनीमा यतिखेर क्यान्सरको आतङ्क मच्चिएको छ । स्थानीय राजु घिमिरे भन्नुहुन्छ ‘क्यान्सर नभई त यहाँ मान्छे नै मर्दैनन् ।’ आज मात्र क्यान्सरसँग जुधिरहेका कान्छा घिमिरेको दुखद निधन भयो । त्यही कान्छाको मलामी जाँदै गरेका राजुले भन्नुभयो, ‘यँहा बन्चरेको डम्पिङसाइट मेरो आफनै घर करेसा जत्तिकै नजिक छ । बन्चरे फोहोरकै कारण क्यान्सरले थलिएका राजुका बुवा चन्द्रकान्त घिमिरे अघिल्लो वर्ष बित्नुभयो ।’
कति बेला कसको के नराम्रो सुन्नुपर्ने हो भनेर बसिरहेका राजुको परिवारजस्ता धेरै घरपरिवार छ बन्चरेमा गाउँमा । हाम्रा कुरा राज्यले सुनिदिएन । फोहोर ल्याउन नदिन बाटोमा धर्नामा बस्दा एकै छिनमा पुलिसले समातेर लैजान्छ’ उहाँले भन्नुभयो ।
राजुका अनुसार बन्चरेमै क्यान्सरका कारण २० जनाको अकालमा ज्यान गयो । यहाँका सबैजसोमा क्यान्सर, दम, श्वासप्रश्वासको समस्या छ । अर्का स्थानीय नवराज ढुगांना पनि फोहरले जीवनयापनमै समस्या पारेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘दूर्गन्ध जतिबैलै पनि आउँछ । खेतबारीमा जाँदा पनि गन्ध र घामले गर्दा मानिसहरू झर्किनेजस्ता मानसिक समस्या छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह निर्वाचित भइसकेपछि बन्चरेका स्थानीयसँग १८ बुंदे सम्झौता गर्नुभएको थियो ।
बन्चरेका स्थानीयले काठमाडौँ महानगरसँग गरेको सम्झौता राजुलाई झल्झल्ती आउँछ । तर कार्यान्वयन नभएकोमा दुःख लाग्छ । फोहोर रातिको समयमा ल्याउने, कोल्पु खोलामा बगेको कालो झोल लिचेड सेतो बनाउने, अशक्त र अति प्रभावितलाई राहत दिने, यहाँका बान्सिदाको बेलाबखत स्वास्थ्य परीक्षण गराउने र बन्चरेलाई व्यवस्थित बनाउने सहमति भएको थियो ।
उपत्यकाको फोहोर बन्चरेमा
काठमाडौँ उपत्यकामा दैनिक करिब १२ सय मेट्रिक टनभन्दा बढी फोहोर उत्पादन हुँदै आएको छ । बन्चरे डाँडामा मात्र दैनिक दुई सयकोे हाराहारीमा फोहोर बोकेको ट्रक जाने गरेको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले बताउनुभयो । अध्यक्ष तामाङले भन्नुभयो, ‘हाम्रो गाउँपालिकामा उत्तर फर्किएका ५ वटा वडा छ ।’ बाँकि ३ वटा वडाहरू अति प्रभावितमा पर्छन् । ती आठ वटा वडामा बिरामीको आँकडा उस्तै छ । ककनीमा मात्र झण्डै ९ हजार मानिसहरू फोहोरबाट प्रत्यक्ष रूपमा प्रभावित छन् ।
धादिङ जिल्लाको धुनिबेसी नगरपालिका समेत प्रभावित छ । करिब २० देखि २५ हजार मानिसहरु बन्चरेको फोहोर प्रभावित छन् । नेपालमा सबैभन्दा ठुलो सहर नेपालको सङ्घीय राजधानी काठमाडौँ लगायत अन्य ललितपुर र भक्तपुरको फोहोर नुवाकोटको बन्चरेमा लगेर जम्मा गरिँदै आएको करिब दुई वर्ष पूरा भयो । फोहोर फाल्न बनाइएको आधुनिक प्रबिधिको ल्यान्डफिल साइड भनिएको छ तर व्यावहारिक हिसाबमा हेर्ने हो भने फोहोर विर्सजन गर्ने डम्पिङसाइट मात्र देखिन्छ । हामी गाउँपालिकामा थियौँ । ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार फोहोरको गाडीमा मरेको मान्छेको लाश पुग्ने गरेको छ । अध्यक्ष तामाङले भन्नुभयो, ‘अवैध गर्भपतनबाट फोहोरको डब्बामा हालेर गाडीमा त्यस्ता लाशहरू आउने गरेका छन् ।’ बर्सातको समयमा आकाशबाट परेको पानी र फोहोबाट निस्केको लिचेडले बन्चरेनजिकै एउटा तलाउ बनेको छ । त्यो तलाउको लिचेड सिधै नजिकको कोल्पु खोलामा गएर मिसिन्छ ।
कोल्पुखोलाको पानी कम्तीमा ३ गाबिसले प्रयोग गर्ने गरेका छन् । सिँचाइका लागि प्रयोग गरिँदै आएको कोल्पु खोलाको पानी यति प्रदुषित छकि सेतो फिँज आउने, हात गोडा चिलाउने घाउ खटिरा आउने र खेतीबालीमा सिँचाइ गर्दा बालीनाली हौसिएर मात्र जाने, फल नलाग्ने लगायतका समस्याले कृषकहरू हैरानमा परेका छन् ।
त्यसैगरी अर्काे समस्या भनेको झिँगा हो । सुन्दा झिँगा पनि समस्या हो र जस्तो लाग्ला, तर त्यँहाका मानिसहरू झिँगाकै कारण रोगव्याध र महामारी खेपिरहेका छन् । झिँगाको यति आतङ्क छकि जताततै छपक्कै बस्छ । धपाउँदा पनि जाँदैन । खानेपानीको भाडामा झिँगा छ । बस्ने ठाउँमा उत्तिकै झिँगा छ । स्वास फेर्दा मुखमा झिँगा पस्लाकिजस्तो निसास्सिदो दुर्गन्ध उत्तिकै छ । खेतीपातीका लागि समस्या छ । कागले मरेका सिनाहरू बोकेर खानेकुरामा र घर आँगनमा ल्याएर खसालिदिन्छ । यति सम्म कि झिँगाको बिग–बिगीले खेतबारीमा अथवा घरवरिपरि बसेर खाजा खानसम्म सकिँदैन् । क्यान्सर, दम, झाडापखाला, हैजाजस्ता रोगव्याध फैलिरहेको छ ।
व्यवस्थापन किन भएन
काठमाडौँ ललितपुर र भक्तपुरका अधिकांश स्थानीय तहले आफैँ फोहोर उठाएको देखिँदैन । वर्षौदेखि फोहोर सङ्कलन र व्यवस्थापनको काम निजी कम्पनीले गर्दैआएका छन् । तर त्यो निजी कम्पनीलाई नियमन गर्नका लागि राज्यसँग पनि त्यस्तो कुनै मापदण्ड छैन् । त्यसैलेगर्दा निजी कम्पनीहरू पनि यसको मारमा परिरहेका छन् । २० वर्ष अगाडिदेखि फोहोरमैला व्यवस्थापन गरेर गुजारा चलाउँदै आएका फोहोर व्यवसायी बबरमान तामाङले फोहोरमै काम गरेर नाफा कमाउन नसकिने बताउनुभयो । बरु समाजसेवा चाँहि हुन्छ । बबरमानले कागेश्वरी मनहरा नगरपालिका, गोकर्णेश्वर र बुढानिलकण्ठका केही वडाहरूको फोहोर व्यवस्थापनको काम गर्दैआएका छन् ।
बबरमानले भन्नुभयो, ‘फोहोर राख्ने स्टेसनका लागि जग्गा पहिलो समस्या छ । न त राज्यले हामी फाहोर व्यावसायीका कुरा बुझिदिएको छ नत आम नागरिकले नै सहज व्यवहार गर्नुहुन्छ ।’ बबरमानले फोहोर व्यवस्थापनको काम गरेर एक सय जनालाई रोजगारी दिएका छन् भने सङ्कलित कुहिने फोहोरबाट प्राङ्गारिक मल बनाइरहेका छन् । रिसाइकल गर्ने र छानेर बिक्री वितरण योग्य बनाइरहेका छन् । व्यवसायलाई फोहोर व्यावसायीले आफनो अनुकु्लतामा फोहोर सङ्कलन–व्यवस्थापन गरिहेका छन् ।
काठमाडौँ महानगरपालिका ११ नम्बरका वडाध्यक्ष हिरालाल तण्डुकारले फोहोर व्यवस्थापन नहुनुमा अव्यवस्थित सहरीकरण र आमनागरिकको हेलचक्र्याइँ भएको बताउनुभयो ।
वातावरणविज्ञ भूषण तुलाधरका अनुसार दिगो फोहोरमैलाको व्यवस्थापन हुन नसक्नुमा फोहोर राज्यको प्राथमिकतामै नपरेको बताउनुहुन्छ । बागमती सफाइ अभियान केही वर्ष अगाडि चर्चाको विषय बन्यो । खोला नाला, बाटोघाटो सफा राख्नुपर्छ भन्ने एकाथरि मानिसको जत्था छ भने जँहा पायो त्यहिँ फोहोर फाल्ने अर्काथरि मानिसको समूह छ । गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालका अनुसार पसल र फुटपाथ व्यापारीले खोलानालामा फोहोर फालेर प्रदुषण बढाएको गुनासो पोख्नुभयो ।
राज्यले फोहोरको दिगो व्यवस्थापन गर्नका लागि फोहोरमैला व्यवस्थापन ऐन २०६८ र नियमावली २०७० जारी गरेको छ । यसको कार्यान्वयनमा एकाध उदाहरण बाहेक सरकार निदाएको छ भन्दा फरक नपर्ला । यस ऐनले आफूले उत्पादन गरेको फोहोर आफैँ व्यवस्थपन गर्नुपर्छ भनेर प्रष्टसँग उल्लेख गरेको छ । आज हामीकहाँ यसको विपरित अभ्यास भइरहेको छ । हामी फोहोर उत्पादकले आफनो फोहोर आफैँ सोहोर्न सकेका छैनौं ।
अन्तर्राष्ट्रिय अभ्यास
एमएसडब्लु भनेको दैनिक जीवनमा प्रयोग गरिने सबै प्रकारका वस्तुहरूको कच्चा पदार्थ हो । जसमा खाना प्याकेजिङ, लुगा, बोतल, कागज, इलेक्ट्रोनिक्स समान, विद्युतीय फोहोरलगायत अन्य घरायसी र अस्पतालजन्य र विद्यालय भान्छाका फोहोर भनेर बुझ्न सकिन्छ । अहिलेको विश्वमा फोहोरको कच्चा पदार्थ पुनः प्रयोग गर्ने प्रविधिहरू प्रशस्त मात्रामा आएका छन् । तर पनि विश्वभर उत्पादित फोहोरको २० प्रतिशत मात्र पुनः प्रयोगमा ल्याउने गरिएको छ । बाँकी ८० प्रतिशत फोहोर सिधै ल्यान्डफिल साइटमा जाने गरेको विश्व बैँकले उल्लेख गरेको छ । दिगो फोहोर व्यवस्थापनको अभ्यासले फोहोरलाई व्यवस्थित रूपमा सङ्कलन, वर्गीकरण र प्रशोधन गर्नु भन्ने बुझाउँछ । यही फर्मुलालाई अपनाएर कतिपय देशले फोहोरबाट देशको अर्थतन्त्र बलियो बनाएका छन् । ल्यान्डफिलमा थुपारिने फोहोर स्रोतमै घटाउनु पर्छ भनेर जर्मनीले आफनो देशमा उत्पादित ५६ प्रतिशत फोहोर पुन प्रयोग गर्ने गरेको छ (स्ताटिस्ता, २०२२) ।
फोहोर स्रोतमै वर्गीकरण गर्न नसके यसको दीर्घकालीन असर झन चर्कदै जान्छ । त्यसैले फोहोरलाई ऊर्जा प्रविधिहरूमा रूपान्तरण गर्नु अर्काे भरपर्दाे उपाय हो । यसरी फोहोरको स्रोतमै समाधान निकाल्नाले पुनः प्रयोग गर्न नसकिने फोहोर सामग्रीलाई जलन, ग्यासिफिकेसन र एनारोबिक डाइजेसनजस्ता विभिन्न विधिहरू मार्फत प्रयोग गर्न योग्य ताप, बिजुली वा इन्धनमा रूपान्तरण गर्छ । स्वीडेनले यसलाई सफलतापूर्वक प्रयोग गरेर प्रमाणित गरिदिएको छ । स्वीडेनले घरायसी फोहोरको ५० प्रतिशतभन्दा बढी फोहोर ऊर्जा बनाउन प्रयोग गर्दैआएको छ । यसले ल्यान्डफिलको प्रयोग घटाएको छ भने फोहोरबाट उत्पन्न हुने सबैखालका खतरालाई बन्द गरिदिएको छ (स्वीडिस वास्ट म्यानेजमेन्ट एकोसियसन, २०२०) ।
समुदायमा आधारित फोहोर व्यवस्थापन जसले महत्त्वपूर्ण भूमिका खेल्छ । स्थानीय समुदायलाई फोहोर वर्गीकरण, कम्पोस्टिङ र पुनः प्रयोगमा संलग्न गराउनु पनि फोहोर व्यवस्थापन गर्ने गतिलो सुत्र हो । भारतको केरलामा विकेन्द्रीकृत फोहोर व्यवस्थापन अभ्यासले ल्यान्डफिलमा जाने फोहोरमा ठुलो राहत पुगेको छ । त्यँहाको जीवनशैली पनि स्वस्थ छ (यूएनइपी, २०२४) ।
कम आय भएका देशहरूमा पर्याप्त पूर्वाधारको अभाव छ । जसलेगर्दा गलत तरिकामा फोहोर फ्याक्ने समस्या छ । खुलेआम रूपमा खुला स्थानमा फोहोर थुपारिदिनु, अनि जथाभावी प्लास्टिक जलाउनु, नदीनाला प्रदूषणजस्ता अव्यवस्थित मानवीय क्रियाकलापले वातावरण दुषित बन्छ नै, यसले जलवायु परिवर्तनमा समेत असर पारेको हुन्छ (वल्ड बैँक, २०१८) ।
इलेक्ट्रोनिक फोहोर, हानिकारक अस्पतालजन्य फोहोरको व्यवस्थापन नगर्दा अथवा सुरक्षित नराख्दा वातावरणीय प्रदूषण र स्वास्थ्य जोखिमहरू निम्त्याउँछ (यूएनइपी, २०२४) । नियम विधि र कानुनको कार्यान्वयन पक्ष कमजोर हुँदा सहर क्षेत्रमा अझ समस्या बढाउँछ । कडा नियम र प्रभावकारी कार्यान्वयनबिना, फोहोरलाई दिगो तरिकामा व्यवस्थापन गर्ने प्रयासमा महत्त्वपूर्ण अवरोधहरू आइरहन्छ (आइएफसी, २०२४) ।
सुझाव र समाधान
एक पक्षले फोहोर गरिरहने, अर्काथरिले फोहर उठाइरहने र झन अर्काथरि चाँहि यसैमाथि राजनीति गरिरहने गलत अभ्यास भत्काउन आवश्यक छ । नागरिकले जबसम्म सडकमा ल्याएर आफ्नो घरको फोहर थुपारिरहन्छन्, तबसम्म राज्यले पनि स्यानिटरी ल्यान्डफिल साइट नखोज्नुको उपाय छैन । विकासका प्रयासलाई वातावरणमैत्री बनाइ दिगो विकास हासिल गर्न वातावरण संरक्षण ऐन २०७६, वातावरण संरक्षण नियमावली २०७७, स्थानीय सरकार सञ्चालन ऐन २०७४, वन ऐन २०७६, फोहोरमैला व्यवस्थापन ऐन २०६८ तथा फोहोरमैला व्यवस्थापन नियमावली २०७० तर्जुमा भई कार्यान्वयनमा रहेका छन् । कार्यान्वयनमा देखिएका कमजोरी सुधार्न जरुरी देखिन्छ ।
नेपाल सरकारको ‘फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को परिच्छेद–२ फोहोरमैला उत्पादन, सङ्कलन, न्यूनीकरण तथा निष्काशनसम्बन्धी व्यवस्थाको दफा ३ पेज ५ अनुसार फोहोरमैलाको व्यवस्थापन गर्न विभिन्न व्यवस्था गरिएको छ ।
नेपालको संबिधानको मौलिक हकको धारा ३० ले प्रत्येक नागरिकले स्वच्छ वातावरणमा बाच्न पाउने भनेर मौलिक हकको व्यवस्था गरेको छ । ल्याण्डफिल प्रभावित क्षेत्रमा यही मौलिक अधिकारसमेत खोसिएको छ । विकसित राष्ट्रहरूले फोहोरलाई राम्रै आम्दानीको स्रोत बनाइरहेका छन् । नेपालको धनकुटा, इलाम, हेटौँडा र स्याङ्जाको वालिङले उदाहरणीय काम गरिरहेका छन् । यसबाट सङ्घीय राजधानी काठमाडौँले धेरै सिक्न सक्नुपर्छ ।
फोहोरमैला व्यवस्थापन ऐन २०६८ मा फोहोर जसले फाल्छ उसैले व्यवस्थापन गर्नुपर्ने उल्लेख छ । यो कार्यान्वयनमा सरकार र आमनागरिक दुवैले पहल गर्नुपर्छ । कुहिने फोहोर स्रोतमै व्यवस्थापन गर्ने मल बनाउन लगाउने र सरकारले त्यो मल किनिदिने नीति राज्यले ल्याउन सक्नुपर्छ । जसले फोहोरबाट मल बनाउँछ उसलाई तालिम दिनुपर्छ । फोहोर स्रोत हो भन्ने कुरा प्रत्येक नागरिकलाई बुझाउन सक्नुपर्छ । आम नागरिकले पनि बुझिदिने हो भने फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन घरबाटै सुरु हुन्छ ।
(लेखिका एमफिल–पिएचडी अध्ययनरत हुनुहुन्छ ।)